म्याग्दीको मंगला र मालिकामा एमाले, रघुगंगामा कांग्रेस विजयी «

म्याग्दीको मंगला र मालिकामा एमाले, रघुगंगामा कांग्रेस विजयी

म्याग्दी-६ स्थानीय तह रहेको म्याग्दीमा मालिका, रघुगंगा र मंगलाको मतगणना सम्पन्न भएको छ । मालिका र मंगलाको अध्यक्ष र उपाध्यक्ष्मा नेकपा एमाले विजयी भएको छ भने रघुगंगा नेपाली कांग्रेस विजयी भएको छ ।
मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजाले तीन हजार ९१ मत र उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी घर्ती पुनले तीन हजार १ सय ६७ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षमा कांग्रेसका श्रीप्रसाद रोकाले दुई हजार ९ सय ७० र माओवादीका रेशमबहादुर जुग्जालीले दुई हजार २ सय २५ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा कांग्रेसकी पिपला बुढाथोकीले तीन हजार १ सय ३९ मत प्राप्त गरेकी थिइन् । गाउँपालिका अध्यक्षमा १ सय २१, उपाध्यक्षमा २१ र वडा अध्यक्षमा ५८ मतान्तरले जितेका हुन् ।
नेकपा एमालेको मालिका गाउँपालिका कमिटी अध्यक्ष रहेका गर्बुजा वि.सं २०७४ को चुनावमा कांग्रेसका रोकासँग ८५ मतले पराजित भएका थिए । १३ हजार २ सय १ मतदाता रहेको मालिका गाउँपालिकामा ८८ सय ४५ मत खसेको थियो । ७ वटा वडा रहेको मालिकामा एमाले र कांग्रेसले ३/३ र माओवादीले एक वटा वडा जितेका छन्।
नेकपा एमालेबाट मंगला गाउँपालिकाको अध्यक्षमा सतप्रसाद रोका र उपाध्यक्षमा पेमा अधिकारी विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा निर्वाचित रोकाले कुल तीन हजार ९ सय ६८ मत प्राप्त गरी दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा विजयी भएकी पेमा अधिकारीले ४ हजार २ सय ६१ मत ल्याएकी छन् ।
अध्यक्षमा प्रतिस्पर्धी नेपाली कांग्रेसका वीरेन्द्र बुढाथोकीले २ हजार ८ सय ५ र नेकपा माओवादीका टेकबहादुर विकले १ हजार ५ सय २१ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा प्रतिस्पर्धी नेपाली कांग्रेसका शर्मिला थापाले २ हजार ५ सय ९५ र नेकपा माओवादीका सुकमाया रोकाले १ हजार ३ सय ७३ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत मनोहर ढुंगानाले जानकारी दिए ।
मंगलामा एमालेले पालिका अध्यक्ष, उपाध्यक्ष र १, २ र ५ वडा, माओवादीले वडा नम्वर ३ र कांग्रेसले वडा नम्बर ४ बरंजामा जित हासिल गरेको छ ।
कांग्रेसबाट रघुगंगा गाउँपालिकाको अध्यक्षमा भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुन विजयी भएका छन् । अध्यक्षमा निर्वाचित भवबहादुर भण्डारीले ४ हजार ३८ मत र उपाध्यक्षमा निर्वाचित कांग्रेसकै प्रेमकुमारी पुनले तीन हजार ३ सय ६४ मत ल्याएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिए । भण्डारी दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा एमालेका प्रेमबहादुर कार्कीले ३ हजार २सय ८९, नेकपा माओवादी केन्द्रकी मिना विकले ९ सय ९५, उपाध्यक्षमा एमालेकी यामकुमारी गर्बुजाले तीन हजार २सय ४५ र माओवादी केन्द्रका रिमबहादुर कटुवालले एक हजार ७ सय ८३ मत प्राप्त गरेका थिए ।
आठ वटा वडा रहेको रघुगंगाको पाँचवटा वडा कांग्रेस र तीन वटा वडामा एमालेका उमेद्वार प्यानलसहित विजयी भएका छन् । १३ हजार ९ सय ४७ जना मतदातामध्ये नौ हजार १ सय १३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बेनी नगरपालिको मेयरमा एमाले र उपमेयरमा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । धवलागिरिमा नेकपा एमालेभन्दा गठबन्धनका उम्मेदवार अगाडि छन् । अन्नपूर्ण गाउँपालिकामा मतगणना स्थगित भएको छ ।

-धीरन खत्री

प्रतिक्रिया दिनुहोस्