बन्दरगाह र औद्योगिक क्षेत्र सुदूरपश्चिको सम्भावनाको आधार : उद्योगमन्त्री बडू «

बन्दरगाह र औद्योगिक क्षेत्र सुदूरपश्चिको सम्भावनाको आधार : उद्योगमन्त्री बडू

महेन्द्रनगर-उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुक्खाबन्दरगाह र औद्योगिक क्षेत्र सुदूरपश्चिको सम्भावनाको आधार भएको बताएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बडूले कञ्चनपुरमा प्रस्तावित दोधारा चाँदनी सुक्खाबन्दरगाह र दैजी औद्योगिक क्षेत्र भविष्यमा सुदूरपश्चिमको सम्भावनाको आधार हुने बताएका हुन् ।
“सुदूरपश्चिममा बन्दरगाहसँगै दैजीछेला औद्योगिक क्षेत्रले महत्वपूर्ण सम्भावना ओगटेको छ, यस अर्थमा यी क्षेत्रले गति पायो भने निश्चित रुपमा सुदूरपश्चिमका आयामसँगै सम्भावना यथार्थमा फेरिनेछन्,” मन्त्री बडूले भने, “त्रिदेशीय नाका जोडिएको कञ्चनपुर क्षेत्रको महाकाली करिडोरले पनि अन्तिम रूप पाउनु पर्छ, योसँगै एयरपोर्ट महाकाली चार लेनको पक्की पुल यी योजना सम्पन्न पश्चात सुदूरपश्चिमको सम्भावनाको ढोका खुल्नेछ ।”
लामो समयदेखि प्रस्तावित रहेको बन्दरगाह तथा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले शिलान्यास गरेर शिलान्यासमै सीमित रहेको दैजी छेला औद्योगिक क्षेत्र वर्तमान सरकारको प्राथमिकतामा रहेको समेत मन्त्री बडूले बताएका छन् ।
“लामो समयदेखि प्रस्तावित र शिलान्यास गरिए पनि बजेटको व्यवस्थापन हुनसकेको अवस्था छैन, वर्तमान सरकारले आगामी वर्षको वार्षिक बजेटमार्फत कञ्चनपुरका यी दुई ठूला आयोजनालाई बजेटमार्फत समेट्ने तयारी गरेको छ,” मन्त्री बडूले भने ।
मन्त्री बडूका अनुसार तत्कालीन सरकारले अगाडि सारे पनि गति नपाएको बन्दरगाह र दैजीछेला औद्योगिक क्षेत्रको गति बढाउन सरकार प्रतिबद्ध रहेको उनले जानकारी दिए ।
यस्तै दोधारा चाँदनीको सुक्खाबन्दरगाह र दैजी औद्योगिक क्षेत्रको मन्त्री बडूसँगै पूर्वमन्त्री रमेश लेखक, नारायाणप्रकाश साउद, उद्योग सचिव गणेशप्रसाद पाण्डेयले स्थलगत अनुगमन गरेका थिए ।
उक्त क्षेत्र अनुगमनपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बडूले नेपाल–भारत र चीनको त्रिदेशीय व्यापारिक महत्वसँग जोडिएको नाका कञ्चनपुर भएको भन्दै बन्दरगाहको योजना सम्पन्न भए औद्योगिक क्षेत्रमा मुलुकले फड्को मार्ने बताए ।
सुक्खाबन्दरगाह निर्माणका लागि पहिलो चरणमा सात अर्ब लागत अनुमान गरिएको छ । बन्दरगाहको वातावरणीय प्रभाव मूल्यांकन र जग्गा भोगाधिकारको विषय टुंगो लाग्ने चरणमा रहेको अवस्था छ । समयमै सबै काम टुंगो लाग्यो भने बन्दरगाहसँगै औद्योगिक क्षेत्रको कामले समेत गति लिनेछ ।

प्रतिक्रिया दिनुहोस्