गे्रडर मेसिन हाक्ने अनिता «

गे्रडर मेसिन हाक्ने अनिता

दाङ-साना सवारी साधन चलाउने महिला बढे पनि हेभी सवारी साधन चलाउने महिलाको संख्या कम नै रहेको छ । विगत चार वर्षदेखि विभिन्न ठाउँमा अनिता थारुले सडक तथा पुल निर्माणका क्षेत्रमा हेभी इक्विपमेन्टका रूपमा गे्रडर मेसिन चलाउँदै आएकी छन् ।
विगत एक वर्षदेखि घोराही उपमहानगरपालिकामा ग्रेडर अपरेटरका रूपमा कार्यरत अनिता पछिल्लो समय भने उपमहानगरपालिकाभित्रका विकास निर्माणका काममा हेभी इक्विपमेन्टका रूपमा ग्रेडर मेसिन चलाउँदै आएकी हुन् । १२ कक्षासम्म अध्ययन सकेर घरमै बसेको समयमा आफन्तीको सहयोगमा बर्दियाबाट दाङ आएर ग्रेडर मेसिन चलाउन सिकेको ग्रेडर चालक अनिता बताउँछिन् । “घरको कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई अघि बढाउन नसकेर घरमै बसेकी थिएँ,” उनले भनिन्, “घरमा त्यसै बस्नुभन्दा ग्रेडर चलाउन सिक्ने सोच बनाएँ र दाङ आएकी हुँ ।” उनका अनुसार त्यो समय घोराही–मुर्कुटी सडक बनाउने काममा भिनाजुले ग्रेडर चलाउने काम गर्दथे । उनीसँगै उक्त सडक निर्माण गर्ने कम्पनीमा सहायक ग्रेडर अपरेटरका रूपमा एक वर्ष काम गरेपछि ग्रेडर चलाउन सिकेको बताउँछिन् । निर्माणको क्षेत्रमा काम गर्न कठिन भए पनि आत्मविश्वास र मिहिनेतले सफलता हासिल गर्दै गएको उनी बताउँछिन् ।
करिब एक वर्षसम्म काम गरेपछि चलाउन सक्ने भइन् तर उनीसँग लाइसेन्स थिएन । लाइसेन्सका लागि २०७६ भदौमा तुलसीपुरमा परीक्षामा सहभागी भइन् । हेभी इक्विपमेन्टका लागि सहभागी १३ जनामध्ये परीक्षा दिनेमा अनिता एक्ली महिला थिइन् । लाइसेन्सका लागि ट्रायलमा हेभी इक्विपमेन्ट अन्तर्गत कठिन मानिने ग्रेडर मेसिन स्टार्ट गरिन र निर्धक्कसँग चलाइन् । पहिलो प्रयास मै लाइसेन्स प्राप्त गर्दाको क्षणलाई जीवनको खुसीको क्षण सम्झिने अनिताले त्यसपछि जागिरेका क्रममा दाङ, प्यूठान र बर्दियाका विभिन्न ठाउँमा निर्माणसम्बन्धी काम पनि गरिन् । ‘हेभी इक्विपमेन्टका रूपमा रहेको ग्रेडर मेसिन चलाउन सक्ने त भएँ तर लाइसेन्स नहुँदा समस्या थियो,” उनले भनिन्, “२०७६ साल भदौमा लाइसेन्स खुलेपछि ट्रायल दिएँ र ट्रायल पास भएपछि मलाई काम गर्न सहज भयो ।” अन्य सवारी साधनभन्दा चलाउन कठिन भए पनि अनुभवले गर्दा सहज लाग्ने गरेको अनिता बताउँछिन् । “अन्य उपकरणभन्दा यो मेसिन चलाउन निकै कठिन हुन्छ,” चालक अनिता भन्छिन्, “तर आपूmभित्रको आत्सविश्वास र निरन्तरको मिहिनेतले मलाई अहिले सहज बनेको छ ।” उनी चार वर्षदेखि ग्रेडर मेसिन चालकका रूपमा काम गर्दै आएकी उनले आपूmजस्ता महिलालाई बेरोजगार बस्नुभन्दा कुनै न कुनै सीप सिकेर काममा लाग्नसमेत आग्रह गर्छिन् । निर्माणका क्षेत्रमा महिलालाई काम गर्न कठिनाइ भए पनि कामबाट सन्तुष्ट रहेको उनको भनाइ छ । “निर्माणको क्षेत्रमा गर्ने काम गाह्रो भए पनि म यही पेसामा सन्तुष्ट छु,” उनले भनिन्, “धेरै पढेको भए ठूलो अपेक्षा हुन्थ्यो र अरु काम खोज्ने हुन्थ्यो होला, पढ्न सकिएन त्यसैले ग्रेडर अप्रेटर नै मेरा लागि ठीक छ ।”
अनिता परिवारका चार सन्तानमध्ये एक्ली छोरी हुन् । स्थानीय चुरे माध्यमिक विद्यालयबाट १० कक्षा पास गरेकी उनले बाँके जिल्ला कोहलपुरस्थित बागेश्वरी माध्यमिक विद्यालयबाट १२ कक्षा पास गरेकी थिइन् । तर कमजोर आर्थिक अवस्थाका कारण उनले पढाइ छोडेर मेसिन अपरेटर बन्न लागेको बताउँछिन् । “पढ्न रहन थियो तर घरको कमजोर अवस्था कारण १२ भन्दामाथि पढ्न सकिनँ,” उनले भनिन्, “पढ्न छोडेपछि घरमा बस्नुभन्दा केही गर्नुपर्छ भनेर चालकको काम गर्न थालेको हुँ ।’ सुरुमा दाङको घोराही–मुर्कुटी सडक खण्डमा काम गर्दा ग्रेडर चलाउँदा महिलाले पनि चलाउँछन् भनेर धेरै मानिस आफ्नो काम छोडेर हेर्न आउने गरे पनि अहिले अवस्था सामन्य हुँदै गएको उनी बताउँछिन् । “सुरुमा दाङलाई प्युठानसँग जोड्ने घोराही–मुर्कुटी सडक निर्माणका क्रममा मैले काम सिकेकी थिएँ,” उनले भनिन्, “त्यहाँ मैले ग्रेडर चलाएको हेर्न महिला र पुरुष काम गर्ने ठाउँसम्म आउनु हुन्थ्यो, केटी मान्छेले पनि यस्तो काम गर्न सक्ने रहेछन् भन्ने गर्नुहुन्छ ।” ग्रेडर मेसिन चलाएर पैसासँगै सम्मानित हुन थालेपछि घरपरिवारसँगै समाजले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन भएको उनको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्