भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन «

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन


सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका छन् ।
विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको पर्यटन र दीगोे आर्थिक विकासको आधार तयार भएको बताए । उनले विमानस्थल सञ्चालनमा आएसँगै पर्यटकको आवागमन बढ्ने विश्वास पनि व्यक्त गरे । प्रधानमन्त्री देउवाले नेपाल पर्यटनको अधिक सम्भावना रहेको देश भएकाले यहाँका सम्भावना र गौतमबुद्धको जन्मस्थल लुम्बिनी बारेको सन्देश संसारमा पु¥याउन यो विमानस्थल सहयोगीसिद्ध हुने पनि बताए ।
उद्घाटन समारोहमा गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध विमानस्थलले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताए । उनले कोभिड महामारीका कारण विमानस्थल निर्माणमा केही ढिलाइ भए पनि सबैको प्रयत्नले सफलतापूर्वक सम्पन्न भएको भन्दै विमानस्थल निर्माणमा भूमिका निर्वाह गर्ने पूर्वप्रधानमन्त्री तथा पूर्वपर्यटनमन्त्रीलाई धन्यवाद दिए ।
कार्यक्रममा पर्यटन तथा नागरिक उड्डययनमन्त्री प्रेमबहादुर आलेले बुद्धभूमिबाट नेपालको शान्ति र समृद्धिको सन्देश विश्वभर प्रवाह हुने बताए । उनले शान्तिको सन्देश लिएर नेपाली र अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलबाट संसारभर पुग्ने विश्वार व्यक्त गरे । उनले पर्यटन मन्त्रालयमार्फत् सञ्चालनमा रहेका पाँचवटा राष्ट्रिय गौरवका आयोजनामध्ये सम्पन्न हुने आयोजनाका रुपमा गौतमबुद्ध विमानस्थल रहेको बताए । उनले यी पाँचवटै आयोजना सम्पन्न भएपछि मुलुकको पर्यटन र आर्थिक विकासले फड्को मार्ने बताए । उनले आजैदेखि त्रिभुवन विमानस्थल र गौतबुद्ध विमानस्थल २४सै घण्टा सञ्चालन हुने घोषणा गरे ।
सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरबाहीले रोकिएको थियो । पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आएको हो । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ । अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ । चिनियाँ निर्माण कम्पनीद्वारा निर्मित यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भएलगत्तै आन्तरिक एयरलाइन्सले उडान गरिरहेका छन् । यहाँबाट निजी क्षेत्रको बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीले उडान भर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्