फोहोरमैला व्यवस्थापन : राष्ट्रिय समस्या «

फोहोरमैला व्यवस्थापन : राष्ट्रिय समस्या

हाम्रो देशको काठमाडौंलगायत विभिन्न सहरका फोहोरमैला व्यवस्थापनमा डम्पिङ साइट बेलाबेलामा बन्द वा समस्या आउँदा पनि सम्बन्धित निकायले समस्या निराकरण गर्न नसकी फोहोरमैला व्यवस्थापन राष्ट्रिय समस्याको रूपमा खडा भई जनस्वास्थ्यमा प्रभाव परिरहेको हुन्छ । साँच्चै भन्नु नै पर्दा ६ वटै महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिकाका सहरहरूमा फोहोरमैला व्यवस्थापन भोग्नेलाई भोगिनसक्नु, बुझ्नेलाई बुझिनसक्नु छ । बेलाबखत विभिन्न प्रकारका निहुँ तथा कारणले गर्दा सहरहरूको फोहोरमैला उठ्न नसकी सहर दुर्गन्धित बन्दै आइरहेको छ । सो कारणबाट काठमाडौं उपत्यकालगायत हाम्रो देशका अन्य सहरी क्षेत्र दूषित भई सडक, गल्ली र चोकमा थुप्रिएको फोहोरमैला नउठी, उच्च तापक्रम र अविरल वर्षाको समयमा सहरी क्षेत्रमा दुर्गन्धित भई जनस्वास्थ्यमा प्रतिकूल असर परी हजारौं व्यक्ति झाडापखाला, विषमज्वरो, हैजा, उच्च रक्तचाप आदिबाट ग्रसित भई अस्पताल भर्ना हुने अवस्था बेलामौकामा सिर्जना भएको नौलो होइन । योबाट बालबालिका तथा वृद्धाहरू बढी प्रभावित हुने गर्छन् ।
फोहोरमैला पारिवारिक तथा आर्थिक क्रियाकलापको उपज हो । काठमाडौं महानगरपालिका, ललितपुर, भक्तपुर, बनेपा, विराटनगर, धनगडी, सुर्खेत, वीरगन्ज, पोखरा, भरतपुरलगायत देशका विभिन्न सहरहरूमा फोहोरमैलाको व्यवस्थापन समस्याको रूपमा रहेको छ । काठमाडौँ उपत्यकाको हाल दैनिक निष्कासन हुने करिब १२ सय मे.टन फोहोरमैला व्यवस्थापन प्रमुख समस्या भएको देखिन्छ । विभिन्न बहानामा फोहरमैला डम्पिङ गर्न नपाई काठमाडौंलगायत अन्य सहरमा जताततै फोहोरमैलाले वातावरण प्रदूषण भई जनस्वास्थ्यमा तीव्र असर पारेको हुन्छ । साथै, ट्राफिकमा समेत अस्तव्यस्त तुल्याएको पाइन्छ ।
फोहोरमैला व्यवस्थापनको विवेचना गर्दा राजधानी काठमाडौंको गर्नु उपयुक्त होला । काठमाडौं उपत्यकाको फोहोरमैला नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल्ड साइटमा फोहोरमैला निष्कासन गर्न थालेको करिब १६ वर्ष पुगिसक्यो । दुई–तीन वर्षका लागि मात्र तयार गरिएको सो डम्पिङ साइट २०६२ जेठ २२ देखि प्रयोगमा आएको हो । काठमाडौं, ललितपुर र कीर्तिपुरको फोहोर फाल्न भनी बनाएको सो डम्पिङ साइटमा हाल १८ वटा पालिकाको फोहोर फालिँदै आएको छ । वैकल्पिक ल्यान्डफिल्ड साइटका रूपमा नुवाकोटको बन्चरे डाँडामा स्यानिटरी ल्यान्डफिल्ड साइट निर्माण कार्य सम्पन्न हुँदै छ । दुई वर्षका लागि भनेर बनाएको डम्पिङ साइटमा करिब १६ वर्ष निरन्तर फोहोर थुपार्दा फैलिएको दुर्गन्धले स्थानीयवासी आक्रान्त हुनु स्वाभाविक नै हो । फोहोर कुहिई बगेको अर्धठोसका कारण प्रभावित क्षेत्रका बासिन्दाको जनस्वास्थ्य, गाईवस्तु एवम् कृषि उपज, जलथल, वातावरणमा नै नकारात्मक असर परेको गुनासो छ । सो ल्यान्डफिल्ड साइटको क्षमता सकिएकाले बन्चरे डाँडा ल्यान्डफिल्ड साइट बनाउने निर्णय भएको थियो । बन्चरे डाँडामा सिसडोलको जस्तो नभई फोहोर छुट्ट्याएर मात्र राख्ने स्यानेटरी ल्यान्डफिल्ड साइट हुने कुरा प्रकाशमा आएको छ । सो पनि ढिलाइ भइरहेको छ । सिसडोल ल्यान्डफिल्ड साइट हाल पूर्ण रूपमा भरिएपछि उपत्यकाको फोहोरमैला व्यवस्थापनमा ठूलो चुनौती आएको छ । केही किलोमिटर सडक फोहोर पुरी बनाएकाले फोहोर बोक्ने गाडी चिप्लेर सो उचाइ चढ्न नसकी फोहोरमैला व्यवस्थापनमा समस्या भई सो प्रभावले जनस्वास्थ्यमा समेत असर परेको सर्वविदितै छ । ल्यान्डफिल्ड साइटको फोहोर कुहिएर बगेको लेदोले फोहोर बोक्ने गाडी ल्यान्डफिल्ड साइटमा पुग्नसमेत मौसमी समयमा कठिन हुने गरेको छ । दैनिक १२ सय मेट्रिक टनभन्दा बढी फोहोर फालिँदै आएको सिसडोल ल्यान्डफिल्ड साइट माथि भनेजस्तै पूर्ण रूपमा भरिई समस्याग्रस्त हुने गरेको छ ।
यसै सिलसिलामा काठमाडौं महानगरपालिकाको गल्ली, चोक, सडक दुई सातादेखि पुनः फोहोरमैलामय भई उठ्न सकेको थिएन । फोहोर उठ्न रोकिएपछि सिंगै उपत्यका कुरूप देखिएको र वैशाख २५ गते परेको मुसलधारे पानीले थप दुर्गन्धित पारी सोको कारण जनस्वास्थ्यमा असर परेको छ । पछिल्लो समय फोहोरमैलासम्बन्धी प्रकाशित समाचारअनुसार पासाङ ल्हामु राजमार्गमा सुरक्षाकर्मी तैनाथ गरेर काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काम सुरु भएको समाचार प्रकाशित भएको छ । सो समाचारअनुसार दुई हप्तादेखि थुप्रिएको फोहोरको ढुवानी तथा व्यवस्थापन २०७९ वैशाख २४ गते बिहानदेखि सुरु भएको जनाएको छ । यसै सिलसिलामा निर्माण कम्पनीले ठेक्का लिएर सडक निर्माण नगर्दा स्थानीयवासीहरू आठ वर्षदेखि धूलो र हिलोको सास्ती भोगको भन्दै काठमाडौंको फोहोर सिसडोलसम्म ढुवानी अवरोध गरेको जनाएको छ ।
बेलाबखत सिसडोल क्षेत्रमा ल्यान्डफिल्ड साइट बनाउनुपूर्व स्थानीयको सडक मर्मतलगायतका मागलाई सम्बोधन गर्ने सहमति भएको थियो । सहमतिअनुरूप फोहोर विसर्जन स्थलको पहुँच मार्ग मुड्खु–तीनपिप्ले सडकखण्ड मर्मत तथा स्तरोन्नतिका लागि कार्य अगाडि बढाउनुपर्ने थियो । यसै सिलसिलामा बन्चरे डाँडा काठमाडौंबाट २७ किलोमिटर उत्तर–पश्चिममा पर्छ । स्यानिटरी ल्यान्डफिल्ड साइटले बाहिरी क्षेत्रसहित १७ सय रोपनी जग्गा ओगटेको जानकारीमा आएको छ । स्यानिटरी ल्यान्डफिल्ड साइट फोहोरमैलाको वैज्ञानिक आधारित सेमिएरोबिक विधिअनुसार निर्माण गरिएको जानकारीमा आएको छ । यस ल्यान्डफिल्ड साइटले हाल सिसडोलमा फालिँदै आएको फोहोर २० वर्षसम्म धान्ने प्राविधिकहरूले बताएका छन् । फोहोरलाई स्रोतमै छुट्ट्याएर अधिकतम पुनः प्रयोग तथा उत्पादन गरी बाँकी फोहोरमात्र ल्याएमा यो ल्यान्डफिल्ड साइट १ सय वर्ष फोहोर व्यवस्थापन गर्न सकिने सम्बन्धित पक्षको भनाइ छ । आशा गरौँ, बन्चरे डाँडा ल्यान्डफिल्ड साइटबाट महामारीजन्य संक्रमित फोहोरको पनि आवश्यक व्यवस्थापन हुनेछ । साथै, स्थानीय जनतालाई वातावरण प्रदूषण हुने कार्य नभई वातावरणमैत्री हुने कुरा प्रकाशमा आए पनि उचित प्रयोगको आधारमा कतिसम्म टिक्ने हो, अहिले किटान गर्नचाहिँ नसकिएला कि ? जे होस्, सोचचाहिँ सकारात्मक नै राखौँ ।
नयाँ वर्ष, २०७९ देखि काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोरको संकलन तथा व्यवस्थापन छुट्टाछुट्टै गर्नका लागि विज्ञप्ति निकालेको पाइन्छ । सोअनुसार फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन गर्नका लागि कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्नुपर्ने जनाएको छ । महानगरले हप्ताको तीन दिन कुहिने र हप्ताको एक दिन नकुहिने फोहोर संकलन गर्ने निर्णय गरेको जानकारी बाहिर आएको छ । यसको मुख्य उद्देश्य फोहोर उत्सर्जनको मुख्य स्रोत घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्ट्याई फोहोरमैला निष्कासनमा कमी गरी स्रोत परिचालनसहित वैज्ञानिक व्यवस्थापन गर्नु हो । सहरवासीले फोहोर संकलन गर्ने सवारी साधनसम्म कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै ल्याउनुपर्ने हुन्छ । कुहिने र नकुहिने वर्गीकरण नगरी संकलन गर्ने सवारी साधनसम्म फोहोर ल्याए सम्बन्धित व्यक्तिको घरमा नै पुनः फर्काई सो घरधनीलाई कारबाहीस्वरूप ५ सय रुपैयाँ जरिवाना गर्नेसमेत जनाएको छ । यो कदम धेरै राम्रो हो । सोसम्बन्धी नगरवासीलाई फोहोरमैला व्यवस्थापनसम्बन्धी सचेतना शिक्षा दिन भने आवश्यक छ ।
फोहोरमैलाको उचित व्यवस्थापनको बाधक तत्वहरू निम्न छन् : स्थानीय बासिन्दासँग भएको समझदारी कार्यान्वयनमा कमी हुने, फोहोरमैला व्यवस्थापनका लागि स्रोत परिचालन नहुनु, नगरका बासिन्दामा फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी पालिकाको मात्र हो, आफ्नो जिम्मेवारी नसम्झिने, कानुनको उचित कार्यान्वयन हुन नसक्नु, फोहोरमैला व्यवस्थापनमा संस्थागत अभावको समस्या, फोहोरमैला व्यवस्थापनमा दक्ष जनशक्तिको कमी, फोहोरमैला व्यवस्थापन कार्यमा नगरपालिकाको प्रमुख प्राथमिकता परे पनि सोअनुसार कार्यान्वयन गर्न नसक्नु, फाहोरमैला व्यवस्थापनको सन्दर्भमा दीर्घकालीन योजनाको अभाव, आवश्यक भौतिक पूर्वाधारहरू जस्तै पुनः प्रयोगशाला, ल्यान्डफिल्ड साइटको अभाव, फोहोरमैला व्यवस्थापनमा जनचेतना अभिवृद्धि कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्नु, फोहोरमभैला व्यवस्थापनमा समुदाय र निजी क्षेत्रसँगको साझेदारी कार्यक्रममा न्यून सहभागिता, फोहोरमैला व्यवस्थापनमा आवश्यक मेसिन तथा उपकरणको उचित प्रयोग नहुनु, फोहोरमैला व्यवस्थापनसम्बन्धी तथ्याङ्क र अध्ययनको अभाव, फोहोरमैला व्यवस्थापन कार्यको नियमित अनुगमन र मूल्याङ्कनको अभाव, निहित स्वार्थ, राजनीतिक खिचातानी, फोहोरमैला व्यवस्थापनमा देशमा चलेको अशान्ति र द्वन्द्व तथा महामारीको प्रभाव, फोहोरमैला व्यवस्थापनमा अन्तर नगरपालिका समन्वयको अभाव, फोहोरमैला प्रबन्ध तथा स्रोत परिचालन गर्न नसक्नु, संस्थागत रूपले तालिम तथा विकास हुन नसकेको, फोहोरमैला व्यवस्थापन सेवामा नगरपालिकाहरूको प्रतिबद्धता र प्राथमिकता निर्धारण नभइसकेको, कमजोर संस्थागत अभ्यास, फोहोरमैलालाई स्रोतको रूपमा परिचालन गर्ने दृष्टिकोण तयार नभई खरबौँ धनराशि नोक्सानी भएको । यी माथिका कारणबाट काठमाडौँ उपत्यकालगायत देशका अन्य सहरी क्षेत्रमा फोहोरमैलाको व्यवस्थापनमै राष्ट्रिय रूपमा चुनौतीपूर्ण बनेको छ ।
फोहोरमैलाको समाधानको सबैभन्दा उत्तम उपाय स्थानीय बासिन्दाको आवश्यक मागलाई सम्बोधन गर्नुपर्ने, नगरपालिकाले फोहोरमैला व्यवस्थापन कार्यलाई उच्च प्राथमिकता राखी फोहोरबाट मोहर आर्जन गर्ने दीर्घकालीन योजना बनाई काम गर्नुपर्ने, फोहोरमैला व्यवस्थापनमा नगरवासीलाई सचेतना गराउनुपर्ने, प्रत्येक नगरपालिकाले आफ्नो संगठन तालिकामा फोहोरमैला व्यवस्थापन शाखाको स्थापना गरी फोहोरमैला व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति तयार गर्नका लागि कर्मचारी आवश्यक तालिम उपलब्ध गराउनुपर्ने, फोहोरमैला व्यवस्थापनको तथ्याङ्कलाई वैज्ञानिक ढङ्गले अद्यावधिक गरी राख्ने, फोहोरमैला व्यवस्थापनका लागि पूर्वाधारको विकास गर्ने, फोहोरमैला व्यवस्थापनमा नगरपालिकाहरूले समन्वय गरी छाता अवधारणाको विकास गर्ने, नगरवासीलाई फोहोरमैला व्यवस्थापनको मुख्य पक्षलगायत आदि कार्यको जनचेतना अभिवृद्धि गरी सो व्यवस्थापनमा सहभागी गराउने, फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्रलाई आकर्षित गर्न नगरपालिकाहरूले विशेष कार्ययोजना बनाई अगाडि ल्याउन आवश्यक छ । यस्तो कार्ययोजना बढी पारदर्शी तथा नगरपालिकाहरूबाट निजी क्षेत्रलाई उपलब्ध गराउने सेवासुविधा स्पष्ट रूपमा उल्लेख हुनुपर्छ, नगरक्षेत्रको फोहोरमैला व्यवस्थापन बढीभन्दा बढी मात्रामा समुदायमा आधारित संस्था, गैरसरकारी संस्था, सरकारी संस्थाहरूलाई स्पष्ट कार्ययोजनाका साथ परिचालन गर्न सकिएमा फोहोरमैला व्यवस्थापनको सञ्चालन खर्चमा न्यूनीकरण गर्न सकिन्छ । फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन गरी सोबाट प्रशोधन गरी मल उत्पादन गर्नुपर्ने, सोबाट ठूलो धनराशिको बचत हुने, फोहोरमैला न्यूनीकरण गर्ने घरेलु उपायहरू अवलम्बन गर्न र नगरपालिकाले उपयुक्त प्रविधि भित्र्याई आवश्यक व्यवस्थापन गर्ने नगरपालिकाले अल्पकालीन तथा दीर्घकालीन फोहोरमैला व्यवस्थापनमा योजना तर्जुमा गर्नुपर्ने, उपयुक्त प्रविधिको पहिचान गरी सही रूपले फोहोरबाट मोहर आर्जन गरी कार्यान्वयन गर्ने, नगरपालिकाकै ल्यान्डफिल्ड साइटको व्यवस्था गर्ने, पब्लिक–प्राइभेट साझेदारी कार्यक्रमलाई अनुकूल बनाउँदै लैजाने, फोहोरमैला व्यवस्थापनसम्बन्धी विद्यमान कानुनले फोहोरमैला व्यवस्थापनका लागि विभिन्न निकाय, संस्था तथा व्यक्तिको जिम्मेवारी, कर्तव्य र दायित्वको विषयमा स्पष्ट व्यवस्था नगरेकाले कतै निकायगत जिम्मेवारीमा दोहोरोपना र कतै कर्तव्य र दायित्व स्पष्ट नभएको अवस्था हुँदा फोहोरमैला व्यवस्थापनसम्बन्धी काम गर्ने निकाय, संघ/संस्थाको जिम्मेवारी र कर्तव्यको स्पष्ट व्यवस्था हुने गरी विद्यमान कानुनहरूलाई परिमार्जन गरिनुपर्ने, माध्यमिक तहको विद्यालयको पाठ्यक्रममा नै फोहोरमैलाको स्रोत परिचालनसम्बन्धी विषयवस्तु राख्नुपर्ने, प्राङ्गारिक मलको कारखाना खोल्न आवश्यक पहल गर्नुपर्छ । आशा छ, स्थानीय समुदायको आवश्यक मागलाई सम्बोधन गरी समयमै काठमाडौंको फोहोरमेलाको व्यवस्थापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्