हवाई सुरक्षाबारे बुझ्न ईयुको टोली पुनः आउँदै «

हवाई सुरक्षाबारे बुझ्न ईयुको टोली पुनः आउँदै

विगत चार वर्षदेखि नेपाली हवाई आकाशलाई कालोसूचीमा राख्दै आएको युरोपेली युनियन (ईयु)को टोली पुनः नेपाल आउने भएको छ । गत साता ईयु र नेपाली टोलीबीच भएको छलफलमा ईयुको टोलीले पुनः नेपाल आएर अध्ययन गरेपछि मात्रै कालोसूचीबाट हटाउने-नहटाउनेबारे निर्णय लिने जानकारी दिएको थियो ।
ईयुले प्रत्येक ६-६ महिनामा अन्तर्राष्ट्रिय सुरक्षा मापदन्ड पूरा नगरेका युरोपभन्दा बाहिरका दर्जनौं एयरलाइन्स कम्पनीको सूची सार्वजनिक गर्दै आएको छ । सोही अनुसार नेपाललाई पनि विगत ४ वर्षदेखि निरन्तर रूपमा कालोसूचीमा राख्दै आएको छ । जनवरी १९ मा नेपाली टोली छलफलका लागि ब्रसेल्स गएको थियो । “ईयुलाई नेपालको पछिल्लो हवाई सुरक्षामा भएको सुधारका विषय राखेर आएका छौं,” नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले भने ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी)को सूचीबाट नेपाल गत साउनमा बाहिरिएको थियो । आईकाओको सूचीलाई हेरेर ईयुले कालोसूचीमा नेपाललाई ४ वर्ष अगाडि राखेको भए पनि निरन्तरता दिँदै छलफलका लागि बोलाएको थियो । “आईकाओले पठाएका सबै डकुमेन्ट तथा सुझाव ईयुलाई बुझाएका छौं,” गौतमले भने । ईयुले ६-६ महिनामा सूची सार्वजनिक गर्ने भएकाले अब नेपालसँगको छलफलपछि हटाउनेमा प्राधिकरण आशावादी रहेको उनले बताए । ईयुले डिसेम्बर र जुनमा सूची सार्वजनिक गर्दै आएको छ ।
गत असार १९ मा आईकाओले औंल्याएका कमजोरी सुधार भए नभएको बारे उडान सुरक्षा अडिट गर्न आईकाओका दुईजना विज्ञ काठमाडौं आएका थिए । उक्त टोलीले नेपालमा भइरहेको वायुयान सञ्चालन र वायुयान मर्मत सम्भार क्षेत्रको अवस्थाबारे अध्ययन तथा सम्परीक्षण गरेको थियो ।
आईकाओले कोअर्डिनेटेड भ्यालिडेसन मिसन (आईसीभीएम) भनिएको टोलीले अध्ययनपछि गएको साउनमा नेपालमाथिको ‘रातो झन्डा’ अर्थात् गम्भीर सुरक्षा चासो (एसएससी) सूचीबाट हटाएको थियो । त्यसलगत्तै प्राधिकरणले ईयुलाई पत्र लेख्दै कालोसूचीबाट हटाउन आग्रह गरेको थियो । तर गत मंसिर २० मा सार्वजनिक गरेको सूचीमा नेपाललाई हटाएको थिएन । “जुनमा सार्वजनिक सूचीबाट नेपाल हट्नेमा आशावादी छौँ ,” गौतमले भने ।
नेपाल वायुसेवा निगमले ठूला जहाज खरिदको अन्तिम तयारी गरिरहेको छ । निगमले वाईडबडी ३३०–२०० सिरिजको जहाजमार्फत युरोपका मुलुकहरूमा उडान गर्ने लक्ष्य लिएको छ ।
ईयुले कालोसूचीबाट नहटाएसम्म निगमले युरोपका कुनै पनि मुलुकमा उडान भर्न पाउने छैन । ईयूको प्रतिबन्धित सूचीबाट नेपालले मुक्ति पाएपछि मात्रै नेपाली एयरलाइन्सका विमान र हेलिकप्टरलाई उनीहरूका मुलुकमा चार्टर उडानका लागि बाटो खुला हुनेछ ।
नेपालको हवाई क्षेत्रका बारेमा आईकाओले पहिलो पटक सन् १९९९ मा प्रारम्भिक अडिट गरेको थियो भने २००१ नेपालमा पहिलो पटक आईकाओले औपचारिक रूपमा अडिट गरेको थियो । त्यतिखेर पनि आईकाओले हवाई सुरक्षाको कुरा उठाएको थियो । पुनः आईकाओले सन् २००४ र २००८ मा पनि आईकाओले अडिट गरेको थियो । ईयुले एओसी दिँदाको स्टाटस, दुर्घटनाको जाँचबुझ प्रतिवेदनसहित नेपालमा सेप्टेम्बर २०१२ देखि सेप्टेम्बर २०१३ को बीचमा धेरै दुर्घटना हुनुलगायत धेरै विषय उठाउँदै नेपाली हवाई आकाशलाई कालोसूचीमा राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्