कृषिसँग सम्बन्धित उद्योग सञ्चालन गरी कृषिबाट प्राप्त हुने कच्चा पदार्थ खपत गरेर विदेशमा निकासी गर्न सकेमा विदेशी मुद्रा आर्जन गर्न सकिन्छ
रोजगारीका लागि कृषिको महत्व
हाम्रो आर्थिक विकासको आधार कृषि भएकाले यसको विकासबिना देशको समग्र विकासको कल्पना गर्न सकिँदैन । कृषिप्रधान देशमा यस क्षेत्रको विकासबिना अन्य क्षेत्रको विकास असम्भव छ । तर, बर्सेनि कृषिलाई आफ्नो पेसा बनाउनेको संख्या भने घट्दो छ ।
वि.सं. २०६८ को जनगणनाअनुसार नेपालमा कृषिमा संलग्न जनसंख्याको प्रतिशत ६६ मात्रै रहेको छ । यो प्रतिशत विगतको भन्दा निकै कम देखिन्छ । कृषिको विकासका लागि कृषिजन्य उद्योगहरूको विकास जरुरी हुन्छ । कृषिबाट उत्पादित वस्तुहरू कृषिजन्य उद्योगहरूमा खपत भई उचित मूल्य प्राप्त भएको खण्डमा देशमा उपलब्ध स्रोत र साधनको उचित परिचालन हुने गर्छ र कृषिक्षेत्रमा लुकेर बसेको बेरोजगारी क्रमशः घटाउन सकिन्छ । हामीले कृषिसँग सम्बन्धित उद्योग सञ्चालन गरी कृषिबाट प्राप्त हुने कच्चा पदार्थ खपत गरेर विदेशमा निकासी गर्न सकेमा विदेशी मुद्रा आर्जन गर्न सकिन्छ भने हाम्रै कृषिक्षेत्रलाई टेवा पुग्न जान्छ ।
कृषिमा आधारित उद्योग तथा कारखानाहरू स्थापना गरी रोजगारी सिर्जना पनि गर्न सकिने, साथै राष्ट्रिय आम्दानीको समेत विकास अनिवार्य हुन्छ । कृषिको विकासले नै चिनी, जुट, चिया, कफी, तेल, चामल, मैदालगायतका उद्योगहरू सञ्चालन गर्न सकिन्छ । यससँग सम्बन्धित उद्योगहरूको विकास किसानबाट मात्र सम्भव छ, तर उसको आफ्नै जमिन छैन र जसले खेती नै गर्दैन ऊसँग प्रशस्तै जमिन छ । जमिनको असमान वितरणले गर्दा कृषिमा समस्या पनि सिर्जिएको पाइन्छ । वास्तविक किसानको हातमा जमिन हुने हो भने उत्पादनमा बढाउन निकै सहज हुन जान्छ । हाम्रो पछिल्लो तथ्याङ्कअनुसार राष्ट्रिय आयमा झन्डै ५ प्रतिशत योगदान पु-याउने कृषिक्षेत्र अझै आकर्षणको क्षेत्र बन्न सकेको छैन । पर्याप्त मात्रामा उब्जनी गर्नका लागि उन्नत जातका बीउ, सिँचाइ, मलखाद, प्राविधिक ज्ञानजस्ता अत्यावश्यकीय वस्तुको सहज रूपमा उपलब्धता हुनुपर्छ । मागअनुरूपका बीउबिजन, मलखाद, उपकरण, बजार सुविधा, भण्डारण सुविधा, यातायातको सुविधा, ग्रामीण ऋणग्रस्तता, दक्ष प्राविधिज्ञको कमीजस्ता पुरानै समस्याले गर्दा कृषिमा उत्पादन बढाउन नसकिएको स्पष्टै देखिन्छ । कृषि पेसालाई मर्यादित र व्यवस्थित बनाउनका लागि माथि उल्लेख गरिएका समस्याहरू निराकरण गर्नु जरुरी हुन्छ ।
सर्वप्रथम कृषकलाई नवीन प्रविधि अपनाउन उन्नत जातको बीउबिजनको उपयोग, सिँचाइको सहजताजस्ता कार्यमा राज्यले अधिकतम सहयोग गर्नुपर्छ । साथै उनीहरूलाई पशुपालनसम्बन्धी जानकारी दिँदै तालिमको व्यवस्था गर्नुपर्छ । उत्पादित कृषिका सबै वस्तुले उचित मूल्य प्राप्त गर्नका लागि व्यवस्थित रूपले बजार सुविधा उपलब्ध गराउनुपर्छ । कृषिकार्यमा पूर्ण रूपले रोजगारी प्राप्त नभएकालाई साना उद्योगमार्फत आफ्नै क्षेत्रमा रोजगारी सिर्जना गराउनेतर्फ ध्यान पु-याउनुपर्छ । यस्तो कार्यबाट गाउँघरमा नै थप आयआर्जनको अवसर पाउँछन् भने त्यसबाट श्रमशक्तिको पलायन हुनबाट पनि बचाउँछ । आज कोभिडको महामारीमा त यस क्षेत्रको विकासमा थप जोड दिनुपर्छ ।
स्थानीय स्तरमा नै उद्योग स्थापना गर्न सक्दा बेरोजगारी युवा जनशक्तिलाई रोजगार बनाउन सकिन्छ भने अनावश्यक रूपले कृषिक्षेत्रमा रहेको भार कम भई थप आर्थिक विकासमा सहयोग पुग्छ । यसले कृषिक्षेत्रमा बचत र अन्य क्षेत्रमा लगानी वृद्धि गर्न ठूलो मद्दत पु-याउँछ । पहिलो सवाल त बेरोजगारी समस्या जटिल बन्दै गएको छ, जसलाई कम गर्न कृषिक्षेत्रलाई आकर्षणको रूपमा विकसित गर्नुपर्ने खाँचो छ । कृषिक्षेत्रअन्तर्गतकै फलफुल, तरकारी, माछामासुजस्ता उपभोग्य वस्तुमा त झनै उत्पादकचाहिँ नगन्य मूल्यमा उपज बिक्री गर्न बाध्य हुन्छ बिचौलियाको बिगबिगीका कारण । जसले गर्दा उपभोक्तासमेत बढी मूल्य तिर्न विवश बनाइन्छन् ।
अन्नबाली तथा फलफूल, तरकारी, दूध र माछाजस्ता महत्वपूर्ण उपभोग्य वस्तुमा मिसावट, रासायनिक पदार्थको प्रयोग वा विषादीको जथाभावी प्रयोगले मानवको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ । सकेसम्म बोटमा नै छिप्पिएर मात्रै टिपेर पाक्ने केरा, भुइँकटर, आँप, लिची, सुन्तला, स्याउलगायतका फलफुललाई आफुअनुकूल समयमा पाक्ने औषधि राख्ने गरिन्छ, जसले मानवको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेकोमा सम्बन्धित निकाय बेखबर हुँदा हरदम समस्या जटिल बन्न पुगेको छ । २०७६ असारदेखि राजधानीको प्रमुख तरकारी तथा फलफुल बिक्री केन्द्रमा विषादी मापन जाँच कार्य थालनी भएका थियो । त्यसलाई सकारात्मक रूपमा लिइए पनि जसलाई नियमित र प्रभावकारी बनाउन आज कोभिडको कारण देखाई पर सार्दै गएको अवस्था छ ।
समग्रमा हाम्रो सन्दर्भलाई मनन गर्दा ठूलो जनशक्ति कृषिमा संलग्न भए पनि कामका लागि बिदेसिने युवाजनलाई पनि यस क्षेत्रमा आकर्षित गर्दै र अझै व्यवस्थित बनाएर दैनिक बिदेसिने युवालाई रोक्ने कार्य गरी देशको अर्थतन्त्रलाई मजबुत बनाउनुपर्छ । जसका लागि सहजै सरकारले कृषिऋण उपलब्ध गराउने, उत्पादित वस्तु खरिद गर्ने, विश्वसनीय वातावरण निर्माण गर्ने, बिनाधितो कृषिमा लगानी गरी व्यावसायिक बनाउने वातावरण सिर्जना गराउनुपर्छ ।
आज विश्व नै कोरोनाबाट त्रसित भएको अवस्थामा यसले थप बेरोजगारी बढेर गएको छ । कृषिले नै धेरै मानिसलाई रोजगारी दिन सक्ने भएकाले यस क्षेत्रमा व्यवस्थित र थप नवीन कार्यकम ल्याएर युवालाई आकर्षित गर्नुपर्ने देखिन्छ । हामीले यसलाई व्यावसायिक र आधुनिक बनाउन सकेका पनि छैनौ । सरकारले यस वर्षको बजेटमा भूमि बैंकको कुरा उठाइएको छ, जुन सवाल उत्तम भए पनि व्यवहारमा उतार्न भने कठिन देखिन्छ । जमिन हुने तर खेती नगर्नेबाट भाडामा लिएर व्यावसायिक खेती गर्ने हो भने दुवैलाई लाभ हुने थियो । वर्तमान सरकार जनपक्षीय कामभन्दा पनि आपसी कलह र सत्तामोहमा लागिपरेकाले थप अपेक्षा राख्नु उपयुक्त भने नहुने देखिन्छ । रोजगारीको मूल भनेकै खेती हो । आज खेती गर्ने किसानलाई एकखाले पीडा दिइएको छ । लगानी गरी बल्लबल्ल उत्पादन भएका उपभोग्य वस्तु बजारमा लगिन्छ, त्यहाँको बिचौलियाको बिगबिगीले थप मारमा परेर चटक्कै सो पेसा छाडेर हिडौं हुने भनेको कम्ता मन कुढिने विषय होइन ।
आज पनि किसानको हितमा खोइ के भएको छ त ? न बजार न त अन्य सुविधा नै केही दिइएको देखिन्छ । बजार जहिले नि अस्थिर हुने अनि उपभोक्ताले बढी मूल्य तिरिरहने जुन गलत परिपाटीको विकास भएर गएको छ यसले थप समस्या खडा गरेको छ । चाडपर्व सुनौलो अवसर बनेको देखिन्छ, ठगीका लागि बजार अनि उपभोक्तामा सामान्य चलाखी नहुँदा अरू समस्या आउनेछ । हतारमा किनमेल गरेर घर जाने सबैले सचेतता अपनाउने गर्दैनन् । सामान्य जानकारी नराख्ने हामी त्यसै कारणले बेलाबेलामा ठगिन्छौं । तनावमा अनि थोरै नगदले धेरै सामान खरिद गर्नुपर्ने जुन बाध्यता विपन्न वर्गमा रहेको छ, आजको अवसरवादी बजारमा व्यापारिक धर्म पनि देखिँदैन ।
पर्यटन हाम्रो अर्को महत्वको क्षेत्र भएकाले यसको विकासमा सरकार गम्भीर हुनुपर्ने देखिन्छ । स्वदेशी वा विदेशी मुद्राको आम्दानीका लागि यो क्षेत्र उच्च सम्भावना बोकेको क्षेत्र हो । कोभिड–१९ को कारणले थला परेको समग्र अर्थतन्त्रलाई कसरी त्राण दिने, त्यो ठूलो चुनौतीको रूपमा देखिएको छ । हिमाल, पहाड, तराई मिलेर बनेको हाम्रो भौगोलिक बनोट नै असाध्यै मनमोहक छ । चर्चित गीतमा माधव प्रसाद घिमिरेले लेखेजस्तै नेपालै नरहे भनेका त्यसै होइन । देश रहे न सबै रहने हो । आज माधवप्रसाद घिमिरे परलोक गए, तर उनका कालजयी गीतले सधैँ उनलाई स्मरण गरिनेछ । जन्मभूमिको मायामा मानव कति लालायित हुने गर्छन् भन्ने त अनेकौं दृष्टान्तबाट थाहा पाउन सकिन्छ । जननी शब्दले कस्तो अर्थ राख्छ भने माताभन्दा मायालु पिताभन्दा ठूलो महिमा रहेका यस्तो महत्वको सवालमा मानव सामान्य मात्र ठानेर गलत मार्ग समाउन पुगेकाले थप समस्या देखिने गरेको हो । क्षणिक स्वार्थमा लिप्त हुँदा अनेकौं विकृतिले स्थान पाएको अवस्था छ । मानवमा दानवीय आचरण हावी भएर गएकाले अनेकौं समस्या आइपरेको देखिन्छ ।