गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा «

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालनको सात दशकपछि नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको हो ।
बुद्ध जन्मस्थल लुम्बिनीमा हवाई मार्ग हुँदै आउने पर्यटकलाई केन्द्रित गरी लुम्बिनीबाट करिब २२ किलोमिटको दूरीमा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजैदेखि औपचारिक रुपमा सञ्चालनमा आएका कारण बुद्ध जन्मस्थल लुम्बिनीले अन्तर्राष्ट्रिय जगतसँग सिधा हवाई सम्पर्क स्थापित गरेको छ ।
सोमबार बिहान कुवेतको जजिरा एयरलाइनसले पहिलो व्यावसायिक उडान पनि अवतरण भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि विमानस्थल औपचारिक रूपमा व्यावसायिक रुपले सञ्चालनमा आएको हो । बुद्ध जयन्तीका अवसर पारेर कुवेतको जजिरा एयरलाइन्सले पहिलोपटक सोमबार बिहान १७५ जना यात्रु बोकेर विमानस्थलमा जहाज अवतरण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिए । उक्त विमान सोमबार नै ९० जना यात्रु बोकेर कुवेत प्रस्थान गर्नेछ ।
करिब एक महिनादेखि नयाँ रनवेबाट आन्तरिक उडान सुरु गरिए पनि अन्तर्राष्ट्रिय उडान भने सोमबारदेखि भएका छन् ।
अन्तर्राष्ट्रिय रूपमा व्यावसायिक उडान सुरु भएपछि जजिरा एयरलाइन्सले यहाँबाट नियमित रुपमा हप्तामा तीनवटा उडान भर्ने गरी अनुमति लिएको र अन्य एयरलाइन्स थाई स्माइल एयरलाइन्स, श्रीलंकाको श्रीलंकन एयरलाइन्स, कतारको कतार एयरलाइन्सले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सञ्चालनका अनुमति लिने तयारीमा रहेको महाप्रबन्धक दाहालले जानकारी दिए ।
एसियाली विकास बैंक तथा साउदी फन्डद्धारा लगानी गरिएको तथा २०७१ माघमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको विमानस्थल ३ वर्षभित्रै निर्माण गर्ने लक्ष्य राखिएको थियो । विभिन्न खालका आन्दोलन र कोभिड महामारीका कारण ८ वर्षपछि मात्र यो राष्ट्रिय गौरवको आयोजनाले पूर्णता पाएको छ । विमानस्थलमा आठतले कन्ट्रोल टावर, अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशानिक भवन, फायर बिल्डिङ, विद्युत् सबस्टेशन, सुरक्षाकर्मी आवास गृह, चेकिङ काउन्टर, प्रशासनिक भवन, अध्यागमन, कार्गो भवनलगायत संरचना निर्माण भएका छन् ।
तीन हजार मिटर लामो धावनमार्गसहित पाँच विमान पार्किङ क्षमता छ । एक हजार ९०० मिटरको ट्याक्सी वे, धावनमार्ग वरपर १० किलोमिटरको पेरिमिटर सडक, खानेपानी ट्यांकी, बगैंचाहरूलगायत आवश्यक संरचना तयार भएका छन् ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको ‘फोर ई’ स्तरको यो विमानस्थलबाट एयर बस ३३०, बोइङ ७७७–२०० सिरिजलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने जुनसुकै जहाजहरू सुरक्षित उडान अवतरण गर्न सक्ने अधिकारीहरूले जनाएका छन् । विमानस्थलको क्षमता प्रतिघण्टा ४०० यात्रुलाई सेवा दिन सक्ने रहेको आयोजनाले जनाएको छ । अधिग्रहण गरिएको जग्गाको मुआब्जासहित यो विमानस्थलको लगानी अहिलेसम्म करिब ३२ अर्ब पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्