१० महिनामा पाँच लाखले लिए श्रमस्वीकृति «

१० महिनामा पाँच लाखले लिए श्रमस्वीकृति


चालू आर्थिक वर्षको १० महिनामा रोजगारीका लागि विदेश जाने नेपालीले लिने श्रमस्वीकृति बढेर ५ लाख पुगेको छ । कोभिड संक्रमण सुस्त भएको र यसविरुद्धको खोपको पँहुच बढेसँगै विदेश जाने नेपालीको संख्या वृद्धि भएको हो ।
नेपाली युवाको प्रमुख आयस्रोतको रुपमा रहेको वैदेशिक रोजगारी विगत ३ वर्षमा घटेको देखिए पनि अबका दिनमा भने यसले गति लिने देखिएको छ । विगत ३ आर्थिक वर्षमा प्रमुख श्रम गन्तव्यमा रोजगारीमा जाने युवाको संख्या क्रमशः घट्दो रहेको पाइएको थियो । प्रमुख स्रोत गन्तव्य खाडी राष्ट्रमा आएको कोरोना संकटका बीच आर्थिक मन्दी भएपछि वैदेशिक रोजगारमा जाने युवाको संख्या घटेको थियो ।
विभागको काठमाडौ कार्यालय ताहाचलका प्रमुख रमेश अर्यालले गत आर्थिक वर्ष २०७७/०७८ मा वैदेशिक रोजगारीको लागि १ लाख ६७ हजार जनाले श्रम स्वीकृति भएकोमा चालू आर्थिक वर्षको १० महिनामा ५ लाख बढीको श्रम स्वीकृति लिएको बताए । पछिल्लो समय कोरोना संक्रमणको दरमा कमी आएपछि समय वैदेशिक रोजगारी जान श्रमस्वीकृति लिनेको संख्या बढेको विभागको भनाइ छ । सरकारले राजधानीसहित देशभरका ७ श्रम कार्यालयबाट श्रमस्वीकृति लिने व्यवस्था गरेका कारण श्रमस्वीकृति लिन सहज समेत भएको छ ।
सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोप व्यवस्थापन गरेपछि पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि पुनः वैदेशिक रोजगारी नै जाने प्रवृत्ति बढ्दै गइरहेका कारण पनि श्रमस्वीकृतिको संख्यामा वृद्धि भएको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङ वैदेशिक रोजगारी जाने प्रवृत्ति ३ वर्ष अघिको जस्तो नभए पनि खोप व्यवस्थापनका कारण जाने बढेका बताए ।
विगत ३ आर्थिक वर्षमा प्रमुख ७ श्रम गन्तव्य यूएई, कतार, मलेसिया, साउदी अरब, बहराइन, कुवेत र ओमानमा भने सबैभन्दा बढी घटेको पाइएको भएपनि हाल ती देश जानको संख्या बढ्दो देखिएको छ । कतार, साउदी आरब र यूएई जाने नेपालीको संख्या शतप्रतिशतले बढेको पाइएको छ । अघिल्लो आवमा ३ लाख ६८ हजार ४१३ वैदेशिक रोजगारीमा गएकोमा गत आर्थिक वर्षमा सो संख्या १ लाख ६६ हजार ३०५ मा सीमित भएको छ । ३ वर्षअघि यो संख्या ५ लाख ७ हजार ८१७ थियो । चालू आवको वैशाखसम्म यो संख्या ५ लाख भन्दा बढी रहेको विभागको भनाइ छ । विश्वव्यापी कोराना संकटका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवसम्म रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्यामा कमी आएपछि रेमिट्यान्स समेत घटेको छ । वैदेशिक रोजगारीमा जाने समग्र युवाको संख्यालाई तुलना गर्दा खाडीका प्रमुख ३ देश कतार, साउदी अरब र युएई जाने नेपाली संख्या एक वर्षमा शतप्रतिशत वृद्धि भएको छ ।
नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतको रुपमा रहेको वैदेशिक रोजगार बिगत ३ वर्षमा घटेको देखिए पनि अबका दिनमा भने यसले गति लिने विज्ञहरुको भनाइ छ । विगत ३ आर्थिक वर्षमा प्रमुख श्रम गन्तव्यमा रोजगारीमा जाने युवाको संख्या क्रमशः घट्दो दर रहेको पाइएको थियो । प्रमुख स्रोत गन्व्य खाडी राष्ट्रमा आएको कोरोना संकटका बीच आर्थिक मन्दी भएपछि वैदेशिक रोजगारमा जाने युवाको संख्या घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्