सुस्ताउँदै सिरुबारीको होमस्टे व्यवसाय «

सुस्ताउँदै सिरुबारीको होमस्टे व्यवसाय

सिरुबरी (स्याङ्जा)-नेपालकै पहिलो नमुना होमस्टे (घरबास) सञ्चालित पर्यटकीय गाउँ सिरुबारी पछिल्लो समय सुस्ताउन थालेको छ । सिरुबारी छाडेर अधिकांश स्थानीय बेलायत, हङकङ, भारत र छिमेकी सुविधासम्पन्न सहर पोखरा जान थालेपछि सिरुबारीको पर्यटकीय गतिविधि सुस्ताउन थालेको हो ।
श्रम गर्न सक्ने युवाहरु रोजगारीका लागि विदेश जाने र गाउँ छोड्ने देशका अन्य गाउँघर जस्तै सिरुबारीमा युवा जनशक्तिको अभाव बढ्दो छ । गाउँमा श्रम गर्न नसक्ने उमेर पुगेका पाका मानिस मात्रै छन् । ४३ घर परिवारमध्ये ३५ घरबाट सुरु भएको होमस्टे व्यवसाय १९ घरमा सीमित हुन पुगेको छ । झण्डै एक दर्जन घर त रित्तो भइसकेका छन् ।
“शिक्षा, स्वास्थ्य, रोजगारजस्ता आधारभूत आवश्यकता र समयानुकुल सुविधाको खोजीमा गाउँ छाड्नेलाई रोक्न सकिएको छैन” स्थानीय पर्यटन विकास समितिका संयोजक जुम गुरुङ्ले भने, “शिक्षा, स्वास्थ्य, सडकको स्तरोन्नति गर्दै गाउँको प्रवद्र्धन गरी गाउँका मान्छेलाई गाउँमै रोक्ने र बाहिर गएकालाई गाउँमै फर्काए र केही गर्न सक्ने वातावरण बनाउन खोजिएको छ ।”
स्थानीय अगुवा तथा पूर्वसांसद क्याप्टेन रुद्रमान गुरुङको अगुवाइमा २०५४ सालमा घोषणा भएको पहिलो होमस्टे गाउँ सिरुबारीमा ४३ घर ध्ये पछिल्लो समय झन्डै ३० घरमा मात्रै मान्छे बस्ने गरेका छन् । युवा जनशक्तिको अभाबमा पछिल्लो समय १९ घरमा सीमित होमस्टे व्यवसाय सञ्चालनमा रहेको छ ।
सन् २००१ मा प्रशान्त एशिया ट्राभल एसोसिएशन (पाटा) अवार्ड समेत जित्न सफल सिरुबारीमा ३५ घरमा होमस्टे सञ्चालन थियो । २०५९ देखि २०६३ को सयममा आवासिय सुविधासहित गोर्खा पूर्वसैनिकलाई बेलायतले लगेपछि गाउँ खाली हुने मात्रै नभइ होमस्टे व्यवसाय सुस्ताएको हो । श्रमको अभावमा अर्गानिक उत्पादन हुन छाडेपछि गाउँमै सीमित उमेर पुगेका बुढाबुढीलाई होमस्टे नै बन्द हुने हो की भन्ने चिन्ता थपिँदै गएको छ ।
होमस्टे गाउँ सिरुबारीकै चिन्ताले अभियान्ता क्याप्टेन रुद्रमानकी बुहारी ३ वर्षदेखि गाउँमै बसेर नेतृत्व गरेर होमस्टे चलाउँदै आएकी छन् । “केही वर्षदेखि पोखरामै बस्दै आएकी थिएँ, गाउँमै सम्भावना देखेकाले र नेतृत्व लिनुपर्छ भनेर गाउँ आएकी छु” गुरुङले भनिन्, “गाउँ आएसँगै जाँगर बढेको छ, आफ्ना र गाउँका लागि केही नमुना काम गर्न सकिन्छ भन्ने आँट पलाएर आएकी छु ।”
गाउँ पुग्ने पाहुनालाई स्वागत सत्कार तथा सांस्कृतिक कार्यक्रमको नेतृत्व अहिले उनै उर्मिलाले गर्दै आएकी छन् । गाउँबाट युवाशक्ति पलायन हुँदै जानु रगाउँमै सुविधा नहुनेले घटेको गाउँको महत्व बढाउने गरी काम गर्ने बेला आएको उनले सुनाइन् ।
सुविधालाई गाउँ घरसम्मै पु-याएर पलायन रोक्ने, बाहिरबाट गाउँ भित्र्याउने आफूहरुको योजना रहेपनि स्थानीय गाउँपालिकाले सहयोग नगरेको स्थानीयको बुझाइ छ । जबसम्म गाउँमै आवश्यकता पूरा गर्न सकिँदैन तबसम्म गाउँलेहरु सुविधा खोज्दै सहर जान खोज्नेलाई रोक्न नसकिने उनीहरुको निष्कर्ष छ ।
आवश्यक जनशक्तिको अभावमा थलिन थालेको होमस्टे व्यवसाय करिब २ वर्ष त कोरोनाका कारण पूर्णरुपमा ठप्प रहेको अध्यक्ष गुरुङले बताए । पछिल्लो ६ महिनदेखि पुनः सञ्चालनमा आएको होमस्टेमा महिनाको झण्डै ३ हजारको हाराहारीमा पाहुना आएपछि उर्जा थपिएको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्