शीर्ष नेता रहेको इलाममा प्रतिष्ठा जोगाउन चुनौती «

शीर्ष नेता रहेको इलाममा प्रतिष्ठा जोगाउन चुनौती

इलाम -इलाममा मतगणना जारी छ । दश वटा स्थानिय तह रहेको इलाममा हालसम्म गठबन्धन दलहरु र नेकपा एमाले बिच नै कडा प्रतिष्पर्दा देखिन्छ । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधान मन्त्री झलनाथ खनाल र नेकपा एमाले संसदिय दलका उपनेता सुवासचन्द्र नेम्वाङको गृह जिल्ला भएका कारण पनि इलामको मत परिणामलाई निकै महत्वका साथ हेरिन्छ । कुनैबेला एउटै पाटीमा रहेका दुइ नेता पाटी फुटपछि अलग अलग पार्टीमा छन् । एकिकृत समाजवादीका नेता खनाललाई पार्टी फुटेपछि राम्रो परिणाम ल्याउन र एमाले नेता नेम्वाङलाई पुरानो साख जोगाउन उत्तिकै चुनौती छ ।
अन्तिम मत परिणाम आएको भने छैन तर प्रारम्भिक मत परिणामले उनीहरुको प्रतिष्ठासँग दाँजिदै आएको छ ।
यसरी हेर्ने हो भने २०७४ सालको स्थानिय तहको चुनावमा जिल्लाका ७ पालिका एमालेले जितेको थियो । नेपाली कांग्रेसले ३ पालिकामा चित्त बुझाएको थियो । यस पटकको अन्तिम मत परिणाम आउन बाँकी नै रहे पनि नेपाली कांग्रेस सहितका गठबन्धनले हालसम्म सात स्थानमा अग्रता कायम राखेको छ । तीन स्थानिय तहमा नेकपा एमालेको अग्रता रहँदै आएको छ ।
सुवासचन्द्र नेम्वाङको चुनावी क्षेत्र रहेको इलाम नगरपालिकामा यस अघि एमालेले जितेको थियो । यस पटकको निर्वाचन पछिको मतगणनामा मेयर र उपमेयरमा नेपाली कांग्रेसको अग्रता कायम छ । यस अघिको चुनावमा देउमाई नगरपालिका एमालेले जितेको थियो यस पटक पनि मेयर र उपमेयरमा एमालेकै अग्रता कायम छ । करिव आधा क्षेत्र नेम्वाङकै रहेको माई नगरपालिकामा यस अघि नेकपा एमालेले नै जितेको थियो । गठबन्धन हुँदा एमालेको जित सुरुबाट नै कायम छ । जिल्लाको फाकफोकथुम गाउँपालिकामा यस अघि नेपाली कांग्रेसले जितेको थियो । यस पटकको चुनावपछिको मत गणनामा पनि नेपाली कांग्रेसको जित कायम छ । अघिल्लो चुनावमा मांसेबुङ गाउँपालिकामा नेपाली कांग्रेसले जितेको थियो पछिल्लो मत गणनामा एमालेको अग्रता छ । मतगणनाको सुरुवाती चरणमा नेपाली कांग्रेसले अग्रता लिएको भएपनि पछिल्लो समय आएर एमालेले अग्रता लिएको थियो । चुलाचुली गाउँपालिकामा अघिल्लो चुनावमा एमालेले जितेको थियो भने यस पटकको चुनाव पछिको मतगणनामा हालसम्म नेपाली कांग्रेसले अग्रता लिएको छ ।
झलनाथ खनालको निर्वाचन क्षेत्र रहेको जिल्लाको रोङ गाउँपालिकामा नेपाली कांग्रेसले यस अघिको निर्वाचनमा जित हासिल गरेको थियो भने यस पटक पनि हालसम्मको मतगणनामा कांग्रेसकै आग्रता कायम छ । सूर्योदय नगरपालिकामा गठबन्धनबाट एकिकृत समाजवादीले प्रमुख पद पाएको छ । यसअघि एमालेबाट विजयी भएका स्थानिय तहका प्रमुख एकिकृत समाजवादीमा प्रवेश गरेपछि यस पटकको चुनावमा नेपाली कांग्रेस, एकिकृत नेकपा माओवादी लगायतका दलसँग गठबन्धन भएको थियो । यस स्थानिय तहमा पनि गठबन्धनकै अग्रता सुरुदेखी नै कायमै छ । माईजोगमाई गाउँपालिका पनि गठबन्धनबाट एकिकृत समाजवादीकै भागमा परेको थियो । यहाँ पनि एकिकृत समाजवादीको अग्रता कायमै छ । सन्दकपुर गाउँपालिकामा यस अघि नेकपा एमालेले जितेको भए पनि यसपटक हालसम्मको मतगणनामा गठबन्धनबाट नेपाली कांग्रेसको अग्रता सुरुबाट नै छ ।
प्रतिष्ठा जोगाउन नेताहरुलाई चुनौती छ भने नयाँ जोसका साथ लागेको कांग्रेसलाई पनि पालिकामा बढी सिट जित्न चुनौती रहेको छ । गठबन्धन गरेपछि पहिलाभन्दा बढी पालिका जित्नु पर्ने नेपाली कांग्रेसलाई पनि रहेको छ । तर पछिल्लो र फाइनल मत परिणामले कसको कति सिट भनेर हेर्न अन्तिम मत परिणाम कुर्न आवश्यक छ । जिल्लामा भइरहेको मतगणनालाई निकै चासोका रुपमा लिइएको छ । कतिपय स्थानमा सत्तासँग असन्तुष्ठि रहँदा मत परिणाम उल्टो आएको पाइन्छ भने कतिपय स्थानमा गठबन्धनले पनि असर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्