Logo

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन


गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज (सोमबार) हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गर्ने कार्यक्रम छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा हवाई मार्ग हुँदै आउने पर्यटकलाई केन्द्रित गरी लुम्बिनीबाट करिब २२ किलोमिटको दूरीमा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजैदेखि औपचारिक रुपमा सञ्चालनमा आउनेछ । यो विमानस्थलले बुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय जगतसँग सिधा हवाई सम्पर्क स्थापित गर्नेछ ।
सोमबार बिहान कुवेतको जजिरा एयरलाइनसले पहिलो व्यावसायिक उडान भरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि विमानस्थल औपचारिक रूपमा व्यावसायिक रुपले सञ्चालनमा आउनेछ । करिब एक महिनादेखि नयाँ रनवेबाट आन्तरिक उडान सुरु गरिए पनि अन्तर्राष्ट्रिय उडान भने सोमबारदेखि मात्र हुनेछन् । बुद्ध जयन्तीका अवसर पारेर कुवेतको जजिरा एयरलाइन्सले पहिलोपटक सोमबार बिहान १७५ जना यात्रु बोकेर विमानस्थलमा जहाज अवतरण गर्ने कार्यतालिका रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिए । उक्त विमान सोमबार नै ९० जना यात्रु बोकेर कुवेत प्रस्थान गर्नेछ ।
अन्तर्राष्ट्रिय रूपमा व्यावसायिक उडान सुरु भएपछि जजिरा एयरलाइन्सले यहाँबाट नियमित रुपमा हप्तामा तीनवटा उडान भर्ने गरी अनुमति लिएको र अन्य एयरलाइन्स थाई स्माइल एयरलाइन्स, श्रीलंकाको श्रीलंकन एयरलाइन्स, कतारको कतार एयरलाइन्सले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान सञ्चालनका अनुमति लिने तयारीमा रहेको महाप्रबन्धक दाहालले जानकारी दिए ।
२०७१ माघमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको विमानस्थल ३ वर्षभित्रै निर्माण गर्ने लक्ष्य राखिएको थियो । विभिन्न खालका आन्दोलन र कोभिड महामारीका कारण ८ वर्षपछि मात्र यो राष्ट्रिय गौरवको आयोजनाले पूर्णता पाएको छ । विमानस्थलमा आठतले कन्ट्रोल टावर, अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशानिक भवन, फायर बिल्डिङ, विद्युत् सबस्टेशन, सुरक्षाकर्मी आवास गृह, चेकिङ काउन्टर, प्रशासनिक भवन, अध्यागमन, कार्गो भवनलगायत संरचना निर्माण भएका छन् ।
तीन हजार मिटर लामो धावनमार्गसहित पाँच विमान पार्किङ क्षमता छ । एक हजार ९०० मिटरको ट्याक्सी वे, धावनमार्ग वरपर १० किलोमिटरको पेरिमिटर सडक, खानेपानी ट्यांकी, बगैंचाहरूलगायत आवश्यक संरचना तयार भएका छन् ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको ‘फोर ई’ स्तरको यो विमानस्थलबाट एयर बस ३३०, बोइङ ७७७–२०० सिरिजलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने जुनसुकै जहाजहरू सुरक्षित उडान अवतरण गर्न सक्ने अधिकारीहरूले जनाएका छन् । विमानस्थलको क्षमता प्रतिघण्टा ४०० यात्रुलाई सेवा दिन सक्ने रहेको आयोजनाले जनाएको छ । अधिग्रहण गरिएको जग्गाको मुआब्जासहित यो विमानस्थलको लगानी अहिलेसम्म करिब ३२ अर्ब पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्