मोदीको भ्रमणले पर्यटक बढ्ने अपेक्षा «

मोदीको भ्रमणले पर्यटक बढ्ने अपेक्षा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गरेसँगै भारतीय पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री मोदी बुद्ध जयन्तीको अवसर पारेर आज (सोमबार) लुम्बिनी भ्रमणमा आउँदैछन् ।
मोदीको भ्रमणपछि नेपालमा धार्मिक पर्यटकको आगमनमा उल्लेख्य वृद्धि हुने सरोकारवालाहरुले बताएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका साथै प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणले लुम्बिनीमा भारतीय तथा तेश्रो मुलुकका पर्यटकको आगमन वृद्धि हुने आशा गरेको होटल संघ नेपाल भैरहवा च्याप्टरका अध्यक्ष सीपी श्रेष्ठले बताए । उनले भने, “प्रधामन्त्री मोदीको भ्रमणले लुम्बिनीको प्रचारप्रसारमा सहयोग पुग्ने र पर्यटक आगमनमा वृद्धि हुने विश्वास लिएका छौं ।”
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बुद्ध जयन्तीकै दिन भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले ठूलो अर्थ राख्ने र यसले गर्दा पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यको भनाइ रहेको छ । मोदीले सन् २०१८ मे श्रो हप्ता जनकपुरपछि मुक्तिनाथको भ्रमण गरेका थिए । त्यसपछि मुक्तिनाथ भ्रमण गर्ने भारतीय तथा बाह्य पर्यटकको आगमन बढेर गएको थियो । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणपछि मुक्तिनाथ यात्रा गर्ने भारतीय तीर्थयात्रीको संख्यामा दोब्बरले वृद्धि भएको होटल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । मोदीको लुम्बिनी भ्रमणले त्यहाँ पनि भारतीय पर्यटक आगमनमा वृद्धि हुने उनको अपेक्षा छ ।
मोदीको भ्रमणसँगै नेपाल आउने पर्यटकको आगमनदरमा वृद्धि भएको लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाँडेकाजीले बताए । “यसअघि नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर ओर्लेर आफु प्रधानमन्त्रीको रुपमा नभएर प्रधान तीर्थ यात्रीको रुपमा नेपाल भ्रमण गरेको बताएका थिए । त्यसले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण प्रभाव पारेको थियो,” उनले भने ।
कोषका सदस्यसचिव शाक्यका अनुसार सोमबार बिहान ११ बजे हेलिकोप्टरबाट मोदी लुम्बिनी अवतरण गर्नेछन् । देउवाले भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उदघाट्न गरेर लुम्बिनीमा मोदीको स्वागत गर्नेछन् । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र विकास कोषका उपाध्यक्षले मायादेवी मन्दिरमा स्वागत गर्ने कार्यतालीका रहेको छ । मोदीले ४० मिनेट मायादेवी मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको छ  । पूजापछि मायादेवी मन्दिर परिक्रमा गरेर अशोक स्तम्भ परिसरमा दीप प्रज्वलन गर्ने कार्यतालिका रहेको छ । साथै अशोक स्तम्भनजिकै रहेको वोधीवृक्षमा जल सिञ्चन गर्ने र लुम्बिनीको पश्चिमी बिहार क्षेत्रमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) विहारको शिलान्यास गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्