जलविद्युत्मा लगानी गर्न नेपालको दायरा फराकिलो

जलविद्युत् क्षेत्रका विज्ञ र प्रवद्र्धकहरूले जलविद्युत् क्षेत्रमा लगानी गर्न नेपालको दायरा फराकिलो रहेको बताएका छन् । ऊर्जा विकास परिषद्ले आयोजना गरेको नेपाल पावर इन्भेस्टमेन्ट समिट–२०१८ को अवसरमा आइतबार आयोजित ‘नेपालको ऊर्जाको क्षेत्रमा वैदेशिक लगानी’ (एफडीआई) बारेको छलफलमा सहभागी विज्ञ तथा प्रवद्र्धकहरूले प्रतिव्यक्ति ऊर्जा खपत कम हुनु तथा उत्पादनको अवस्था कमजोर रहनुलगायतका कारण नेपालमा ऊर्जाको बढी माग रहेकाले एफडीआई बढी आवश्यक रहेको बताए ।
कँडेल समूहका निर्देशक राजेन कँडेलले नेपालमा बिजुलीको माग बढ्दो रहेको भन्दै अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपालको जलविद्युत् विकासका लागि ठूलो दायरा रहेको बताए । नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धक सतलज जलविद्युत् निगमका अध्यक्ष एनएल शर्माले राजनीतिक अस्थिरता, जग्गा प्राप्ति र वनको जग्गा स्वीकृतिमा ढिलाई, आयकरमा सुविधा अभावलगायतका कारण नेपालमा एफडीआई आउन सम्भावना रहेको भन्दै प्रसारण लाइन निर्माणलाई सरकारले विशेष महत्व दिनुपर्ने बताए ।
फाइनान्स एट इक्वीक्याप एसिया कम्पनीका उपाध्यक्ष अपार न्यौपानेले जलविद्युत्मा स्थानीय प्रभावित क्षेत्रदेखि वित्तीय व्यवस्थापन गर्ने समूहको आ–आफ्नो स्वार्थका कारण बेला–बेलामा समस्या आउने गरेको भन्दै सबैको सहकार्य आवश्यक रहेको बताए । भियतनामको ड्रागन क्यापिटलका निर्देशक जोसेफ होइसले आफ्नो देशमा छोटो समयमा पनि निजी क्षेत्रले धेरै मुनाफा दिएको भन्दै नेपालमा प्रक्रियागत रूपमै लामोसमय लाग्ने गरेकोमा त्यसको अन्त्य हुनुपर्ने बताए । स्ट्यान्डर्ड चार्टर बैंकको कमर्सियल एवं ग्लोबल बैंकिङका प्रमुख गोरख राणाले जलविद्युत् क्षेत्रको उचित जानकारी बिना नेपालका बैंकहरूले लगानी गर्न नसक्ने बताए ।
जापान सहयोग नियोग (जाइका) का प्रतिनिधि नोइकी निसीमुराले नेपालको जलविद्युत्मा विदेशी लगानी ल्याउन सक्षम र बलियो स्थानीय साझेदार आवश्यक रहेको बताए ।
एनआरएन लगानी बढाउँदैः अध्यक्ष भट्ट गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले नेपालको जलविद्युत् क्षेत्रमा गैरआवासीय नेपालीले लगानी बढाउँदै लगेको बताएका छन् । नेपाल पावर इन्भेस्टमेन्ट समिट–२०१८ मा बोल्दै अध्यक्ष भट्टले नेपालको जलविद्युत् आयोजनामा गैरआवासीय नेपालीले अर्बौं खर्च गरिसकेको भन्दै अझै लगानी बढाउने बताएका हुन् । एनआरएनको लगानीमा २ दशमलव ६ मेगावाटको सुनकोसीदेखि २२ मेगावाटको सानिमाई हाइड्रोपावर बनाइसकेको तथा हाल सानिमामाई कम्पनीमार्फत धेरै क्षमताका आयोजनाको निर्माण कार्य अघि बढेको बताए । “एनआरएनको संलग्नतामा २७ मेगावाटको दोर्दीलगायतका आयोजनाको काम अघि बढेका छन्,” उनले भने, “जलविद्युत् आयोजनामा लगानी बढाउँदैछौ, विविध आयोजना निर्माणका लागि १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणासमेत गरिसकेका छौं ।” एनआरएनए अध्यक्ष भट्टले आफ्नो निजी कम्पनी टीबीआई समूहले पनि ६ सय ५० मेगावाटको तामाकोसी तेस्रो विद्युत् आयोजना अगाडि बढाउन लागेको जानकारी दिँदै ३६० मेगावाटभन्दा बढी क्षमताका आयोजनासँग सहकार्य गरेको जानकारी दिए । उनले नेपालमा टीबीआईले वैकल्पिक ऊर्जाका साथै विद्युतीय सवारी साधन उत्पादन र प्रवद्र्धनका लागि ठूलो लगानी गर्न लागेको जानकारी दिए । |