नेपाली समाजमा अन्धविश्वास कहिलेसम्म ? «

नेपाली समाजमा अन्धविश्वास कहिलेसम्म ?

अन्धविश्वास भनेको त्यस्तो विश्वास वा अभ्यास हो, जसको आधार भाग्य वा परम्परागत अवैज्ञानिक विश्वास हो । अन्धविश्वास र जातीय भ्रमले आक्रान्त नेपाली समाज अहिलेसम्म पनि वास्तविक सद्भावलाई जीवन्त प्रदान गराउन सकेको छैन । धर्म एवम् परम्पराको नाममा कथित उपल्लो जातले तल्लो अछुतोको दर्जा दिएर सामाजिक अपहेलना, घृणा गर्ने पद्धतिलाई आजको वैज्ञानिक युगले समेत हटाउन सकेको छैन । ‘नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो’ भन्ने गरिए तापनि यो साझा भनिने शब्दलाई निष्क्रिय गराई, कुसंस्कारी व्यभिचारी र दमनकारी शासन नीतिलाई अवलम्बन गरी जातित्वको दम्भ बोकेको समाज भनेर बुझ्न सक्छौं ।
प्राचीन कालदेखि नै चलिआएको सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी भेगहरूमा अझै पनि ज्वलन्त रहेको प्रायः हिन्दू धर्मका धेरै समुदायमा छाउपडी प्रथा मान्ने गरिन्छ तर तिनका सीमाहरूमा भने व्यापक विभिन्नता पाइन्छ । रजस्वला तथा सुत्केरी भएका बेला छाइछुइ गर्न नहुने, यसो गरे देवता रिसाउने र पाप लाग्ने आदि धार्मिक अन्धविश्वास रहँदै आएको छ । धार्मिक भाषामा महिनावारीलाई मासिक धर्म भनिन्छ । सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डँडेलधुरा र मध्यपश्चिमका कर्णाली अञ्चललगायत मुलुकका दुई दर्जनभन्दा बढी ग्रामीण जिल्लाहरूमा यो प्रथा कायमै छ ।
छाउपडीलाई घरदेखि टाढा अलग्गै बसोबास गराइन्छ । छाउपडी बस्ने ठाउँलाई छाउगोठ वा छाउखुल्लो भनिन्छ । प्रायः छाउगोठ वा छाउखुल्लो गोठभन्दा पनि जीर्ण, साँघुरो, अँध्यारो, ओसिलो र असुरक्षित हुन्छ, किनकि यो अस्थायी प्रकृतिको र घरबाट टाढा हुन्छ । महिलाहरूले रजस्वला र सुत्केरी भएका बेला घरका कुनै पनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायम छ । त्यसैले यस्तो बेलामा सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा केही पर बनाइएको झुपडीमा बस्न लगाइन्छ । यस्तो गोठलाई ‘छाउपडी कुडी’ भनिन्छ । छुई अथवा छाउपडी, महिला सुत्केरी भएको अथवा महिनावारीमा उनीहरूलाई कसैले छुन नहुने र घरपरिवारदेखि बेग्लिएर बस्नुपर्ने परम्परा हो ।
सुत्केरी तथा रजस्वला भएकी नारीलाई झन् सफा राख्नुपर्ने तथा प्रशस्त पोसिलो आहार खुवाई आराम गराउनुपर्ने अवस्थामा शिक्षित, सम्पन्न र सभ्य भनिने घरका छोरी, बुहारीसमेत रजस्वला हुँदा घरका गाई, भैँसीको दूध खाँदैनन् । यस्तो बेलामा घरमा पालेको गाई, भैँसीको दूध खाए तिनले दूध दिन छोड्छन् भन्ने अन्धविश्वास छ । परम्परागत जनविश्वासका कारण यस्ता महिलालाई छोएको खण्डमा वा कुनै लसपस भएमा अशुद्ध हुने भएकाले छोए पनि सुनपानीको छिटो हाल्ने, गहुँत खुवाउने, घरका कुलदेवता चोख्याउने जस्ता चलन छ । प्राचीनकालदेखि चलिआएको परम्परालाई लत्याएर महिलाहरू महिनावारी तथा सुत्केरी भएको अवस्थामा छुइछाइ गरेमा, घरका कुलदेवता रिसाउने र परिवारमा हानि–नोक्सानी पुग्ने, शरीर सुक्दै जाने, अन्नबाली नफल्ने अन्धविश्वास छ ।
छाउपडी प्रथाका कारण विभिन्न विकृतिहरू देखा पर्ने गरेका छन् । जस्तो कि छाउपडी बसेका बेला बलात्कार हुने, सर्पले टोकेर मर्नेलगायतका घटनाहरू विभिन्न सञ्चारमाध्यमबाट सुन्नमा आउँछन् । कतिपय महिला छाउपडीमा बसेका बेला चिसोले कठ्याङ्ग्रिएर र कतिपय बढी रक्तस्राव भएर पनि मर्ने गरेका छन् । गर्मीमा लामखुट्टे, सर्प, बिच्छीजस्ता विषालु कीराहरूको डर हुन्छ भने जाडो याममा न्यानो लुगाको अभावमा विभिन्न स्वास्थ्य समस्याहरू आइपर्छन् । महिनावारी तथा सुत्केरी हुँदा शारीरिक रूपले कमजोर भएका अवस्थामा उनीहरूले उचित हेरविचार र पौष्टिक खानपान पाउनुको साटो उल्टो तिरस्कार, शारीरिक पिडा र लामो समयसम्म घरबाट टाढा एक्लै बस्नुपर्दा यस प्रथाले उक्त क्षेत्रका महिलाहरूका स्वास्थ्य, विचार, मनोबल र अस्तित्व आदिमा समेत ठूलै नकारात्मक प्रभाव पारेको छ । यसै प्रथाका कारण कैयौं महिलाहरू जङ्गली जनावरका सिकार हुनुपरेको छ । अचेतना र रोगको सिकार हुनुपरेको छ, व्यभिचारीहरूको फन्दामा परी बलात्कृत हुनुपरेको छ । पक्कै पनि यस्ता घटना दिन–प्रतिदिन बढ्दै जानु भनेको शोषितहरूको आवाज कसैले नसुनिदिनु र शोषकहरू आफ्नो क्रूर मानसिकताबाट बाहिर निस्कनु नसक्नु नै हो ।
—रोजिना महर्जन

प्रतिक्रिया दिनुहोस्