Logo

यस वर्ष सरदरभन्दा बढी वर्षा हुने

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आकलन गरेको छ । मनसुन सिजनको हावापानी आकलन कार्यक्रममा विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आकलन गरिएको जनाएको हो ।
विभागको आकलनअनुसार आगामी जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । प्रदेश १ का तराईका भूभाग, वागमती प्रदेशका उत्तर पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर पश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईले सुदूरपश्चिम प्रदेशका पूर्वी भूभाग, कर्णाली प्रदेशका मध्य भूभाग, गण्डकी प्रदेशका मध्य पश्चिमी भूभाग र प्रदेश १ को मध्य भूभागहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म रहेको बताए । उनले गण्डकी प्रदेशको उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भूभागहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले हनुमान गरेको बताए । उनका अनुसार प्रदेश १ को उत्तरी भूभाग, वागमती प्रदेशको दक्षिणी भूभाग र मधेस प्रदेशका अधिकांश भूभागहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको पनि विभागको आकलन छ ।
मौसमविद् हुमागाईले गत वर्षमा मनसुन अवधिभर ६ वटा स्टेशनहरुमा वर्षाको रेकर्ड तोडिएको बताए । उनका अनुसार चरिकोट, खैरहनीटार, बाजुरा, दमौली, खाटमार्फा र जोमसोम स्टेशनहरुमा पहिलाको रेकर्डहरुलाई ब्रेक गरेर धेरै वर्षा मनसुन अवधिमा भएको हो । उक्त मनसुन वर्षाले ७९ जनाको निधन भएको थियो, जसमा बाढीको कारण ४३, चट्याङको कारण २७ जना र भारी वर्षाको कारणले १६ जनाको मानवीय क्षति भएको थियो ।
त्यस्तै जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक डा.अर्चना श्रेष्ठले यो वर्ष पनि सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको बेलैमा सचेत रहन आग्रह गरिन् । उनले मौसम तथा बाढी पूर्वानुमानको सूचना दिने आ–आफ्नो क्षेत्रको कार्ययोजना बनाउन पनि सम्बन्धित निकायसँग आग्रह गरिन् । उपमहानिर्देशक श्रेष्ठले पूर्वानुमान गतिको समय जति नजिक हुन्छ त्यति नै पूर्वानुमानको विश्वसनीयता धेरै हुने गरेको र एक हप्ता भन्दा लामो समयको मौसमको पूर्वानुमानमा विश्वसनीयता कम हुँदै जाने गरेको बताइन् । त्यस्तै वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले नेपालमा मौसम पूर्वानुमान गर्ने छुट्टै अनुसन्धान केन्द्र नहुँदा समस्या भइरहेको गुनासो गरिन् । उनले विभागमा अनुसन्धानका लागि स्किल ह्यूमेन रिसर्चहरुको आवश्यक रहेको बताइन् ।
आगामी मनसुन सिजनमा प्रदेश १ को उत्तरी भूभाग, मधेस प्रदेशको अधिकांश भूभाग र वागमती प्रदेका दक्षिणी भूभागहरुमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको र बाँकी भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ । त्यस्तै अधिकतम तापक्रम देशको उत्तरी भूभाग र मधेस प्रदेशका धेरै भूभागहरुमा सरदर हुने सम्भावना ३५ देखि ५५ प्रतिशत साथै अन्य स्थानहरुमा सरदर भन्दा कम रहने सम्भावना ३५ देखि ६५ प्रतिशत रहको विभागको आकलन छ । त्यस्तै विभागले न्यूनतम तापक्रम देशका उत्तरी भूभागहरुमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत र बाँकी भूभागहरुमा सरदर रहने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्