इन्टरनेट प्रयोगकर्ताको रोजाइम मोबाइल ब्रोडब्यान्ड «

इन्टरनेट प्रयोगकर्ताको रोजाइम मोबाइल ब्रोडब्यान्ड


नेपालमा कुल इन्टरनेट प्रयोगकर्तामध्ये ९७ प्रतिशतले मोबाइल ब्रोडब्यान्ड प्रयोग गर्ने गरेका छन् । दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको ‘एमआईएस’ प्रतिवेदनअनुसार कुल जनसंख्याको १२६.७२ प्रतिशतले ब्रोडब्यान्ड इन्टरनेट लिएकोमा मोबाइल ब्रोडब्यान्ड सेवा लिने ९७ प्रतिशत रहेका छन् ।
पछिल्लो समय मोबाइलको प्रयोगमा वृद्धि, तुलनात्मक रुपमा सहज र दूरसञ्चार कम्पनीहरुले मोबाइल ब्रोडब्यान्ड सेवामा ल्याएका विविध बजारीकरण प्याकेजहरुले डेटा प्रयोगकर्तामा वृद्धि भएको हो । नेपालले इन्टरनेट सेवामा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार चालू आर्थिक वर्षका लागि तय गरिएको इन्टरनेट ग्राहकको घनत्व, फिक्सड ब्रोडब्यान्ड सेवा विस्तार तथा मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार जस्ता सूचकांकमा लक्ष्यभन्दा बढी उपलब्धि हासिल भएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार असार मसान्तसम्म हासिल गर्नुपर्ने लक्ष्य चैत मसान्तअगावै पूरा भइसकेको छ । मन्त्रालयका अनुसार चालू आवमा इन्टरनेट ग्राहकको घनत्व ९२ प्रतिशत पु-याउने लक्ष्य लिएको थियो । गत आवसम्ममा ९० प्रतिशत रहेको घनत्व अहिले भने १२६ प्रतिशत पुगिसकेको छ ।
कुल ब्रोडब्यान्ड प्रयोगकर्तामध्ये नेपाल टेलिकमका २ करोड ७ हजार छन् भने एनसेलका ८५ लाख ६ हजार छन् । त्यसैगरी इन्टरनेट सेवा प्रदायक कम्पनीहरुका ७२ लाख ६० हजार प्रयोगकर्ता रहेका छन् । प्राधिकरणको प्रतिवेदन अनुसार कुल इन्टरनेट ब्रोडब्यान्ड प्रयोगकर्तामध्ये २८ प्रतिशत फिक्स्ड ब्रोडब्यान्ड, ९७ प्रतिशत मोबाइल ब्रोडब्यान्ड र बाँकी अन्य छन् ।
इन्टरनेट सेवामा बढ्दो आकर्षण तथा इन्टरनेट विगतमा जस्तो शोखका रुपमा नभई आवश्यकताका रुपमा लिन थालिएका कारण यसको बजार विस्तार उत्साहजनक रुपमा भइरहेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) अध्यक्ष सुधीर पराजुली बताउँछन् । उनका अनुसार निजी क्षेत्रका सेवा प्रदायकको चुस्त व्यवस्थापन र सेवाग्राहीले माग गरेकै दिन जडान गर्नसक्ने जस्ता सुविधाका कारण नेपालमा छोटो समयमा यस क्षेत्रले उल्लेख्य उपलिब्ध हासिल गर्न सम्भव भएको हो । मन्त्रालयका अनुसार मुलुकका ७५३ स्थानीय तहका केन्द्रमध्ये हालसम्म ७३८ केन्द्रमा ब्रोडब्यान्ड सेवा विस्तार भइसकेको छ भने फोरजी सेवा ४७.२७ प्रतिशतमा पुगेको छ ।
सरकारले आगामी दुई वर्षभित्र मुलुकका सबै सामुदायिक विद्यालय, स्थानीय तह र स्वास्थ्य संस्थामा नि:शुल्क इन्टरनेट सेवा पु-याउन ब्रोडब्यान्ड विस्तारलाई तिब्र रुपमा अघि बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार असार मसान्तसम्म १० हजार ५ सय २७ किलोमिटर रहेको अप्टिकल फाइबर बिछ्याउने कार्य एकै वर्षमा यसको झन्डै दोब्बर विस्तार गर्दै १९ हजार १७० किलोमिटर पु-याउने लक्ष्य राखिएको छ । यस्तै, २५.४६ प्रतिशतमा सीमित रहेको फोरजी सेवा मुलुकका ५० प्रतिशत क्षेत्रमा पु-याउने सरकारको लक्ष्य छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले चालू वर्षभित्रै सबै आधारभूत विद्यालयमा इन्टरनेट पु-याउने गरी ग्रामीण दूरसञ्चार कोषको रकमबाट काम अगाडि बढेको जानकारी दिए । उनका अनुसार भूकम्पबाट अतिप्रभावित ८ जिल्लाका ४ हजार २ सय ५१ स्थानका यसअघि सम्झौता भई काम अगाडि बढेको छ । त्यसैगरी काठमाडौँ उपत्यका बाहेकका अन्य ६६ जिल्लामा पनि २० एमबीपीएसको नन डेडिकेटेड ब्रोडब्यान्ड सेवा विस्तारका लागि सम्झौता भइसकेको छ । यी परियोजना समयै सम्पन्न भएमा सबै सामुदायिक विद्यालयमा चालू वर्षभित्रै ब्रोडब्यान्ड इन्टरनेट पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्