इन्धनको मूल्य एकैपटक १० रुपैयाँ बढ्यो «

इन्धनको मूल्य एकैपटक १० रुपैयाँ बढ्यो


स्थानीय तहको चुनावको भोलिपल्ट सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको छ ।
आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको निगमले जानकारी दिएको छ । बढेको मूल्यअनुसार पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागू हुनेगरी मूल्य बढाउने निर्णय गरेको आयल निगमले जनायो । अघिल्लो महिनादेखि नै भारतीय आयल निगमबाट भाउ बढेर आएको भए तापनि स्थानीय तह चुनावको मुखमा इन्धनको भाउ बढाउँदा चुनावमा असर गर्ने भएका कारण सरकारले चुनाव सकिने बित्तिकै भाउ बढाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै जाँदा खरिद मूल्य नै उच्च भएपछि यसअनुसार मूल्य बढाएको निमगले जनाएको छ । महँगो इन्धनको खपत कम गर्न एक महिना अगाडि नै निगमले सरकारलाई आइतबारसमेत सार्वजनिक बिदा दिन सिफारिस गरेको थियो । जसअनुसार सरकारले १ जेठदेखि सातामा शनिबारबाहेक थप आइतबार पनि बिदा दिएको छ ।
तर, चुनावमा इन्धनको खपत पनि बढ्दै गएका कारण टाट पल्टिएको निगमले भाउ बढाउन सरकारलाई दबाब दिएको थियो । सरकारले पनि अन्ततः स्थानीय चुनाव सकिएको भोलिपल्टै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेल तीनवटै इन्धनमा एकैचोटी १०/१० रुपैयाँले मूल्य बढाउँदा बजारमा महँगी बढ्नेतर्फ भने सरकार सचेत रहेको छैन । एकैचोटि एक लिटरमा १० रुपैयाँले मूल्य बढाउँदा यसको नकारात्मक असर कसरी कम गर्ने सरकारसँग कुनै योजना पनि छैन ।
इन्धनमा बढेको मूल्य शनिबार मध्यरातीदेखि लागू हुने निगमले जनाएको छ ।
तर, इन्धनको मूल्यवृद्धि तथा आपूर्तिजन्य समस्याका कारण चालू आर्थिक वर्षमा महँगी सरकारको नियन्त्रणभन्दा बाहिर गएको छ । सरकारले बजेटमा ७ प्रतिशतभित्रै राख्ने प्रक्षेपण गरेको महँगी पछिल्लो समय रुस–युक्रेनको युद्धलगायत कारणले बढ्न थालेको हो । २०७८ चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । इन्धनको मूलय बढेपछि वैशाखमा फेरि मुद्रास्फीति बढ्छ । अघिल्लो वर्षको चैत मसान्तमा मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नवौं महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ । साथै, चैत मसान्तसममको औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको पनि केन्द्रीय बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकमा आउने मुद्रास्फीतिभन्दा बजारमा अनुभूत गरिने मुद्रास्फीति बढी रहने अनुभव भएका कारण वास्तविक मुद्रास्फीति झन् बढी रहेको उपभोक्ताको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्