पर्यटन प्रवद्र्धन र पूर्वाधार विकासमा अग्रसर सिंजा «

पर्यटन प्रवद्र्धन र पूर्वाधार विकासमा अग्रसर सिंजा

प्रदेश : कर्णाली
जिल्ला : जुम्ला

अध्यक्ष : देवलसिंह रावल
उपाध्यक्ष : जन्मकन्या खत्री
प्रमुख प्रशासकीय अधिकृत : टेकबहादुर शाही

बजेट : ३३ करोड
वडा संख्या : ६

नेपालको संविधान, २०७२ को धारा २९५ दफा (३) बमोजिम संघीयतापछि निर्माण भएका ७ सय ५३ वटा स्थानीय तहमध्ये जुम्लाको सिंजा गाउँपालिका एक हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार सिंजा गाउँपालिकाले आफ्नो पाँचवर्षे कार्यकालमा विभिन्न कार्यसम्पादन गरेको छ । दैनिक कार्यसम्पादनलाई सहज बनाउन अनुकूलनका आधारमा थुप्रै ऐनकानुन कार्यविधि निर्माणसमेत गरेको छ ।
यस गाउँपालिकाको पूर्वमा हिमा गाउँपालिका, पश्चिममा कनकासुन्दरी गाउँपालिका, उत्तरमा मुगु जिल्ला र दक्षिणमा तातोपानी गाउँपालिका अवस्थित रहेका छन् । गाउँपालिका केन्द्र सिंजाको नराकोट तोकिएको छ ।
बितेको पाँच वर्ष सिंजा गाउँपालिकाले कृषि, पर्यटन तथा सडक पूर्वाधारको उल्लेखनीय विकास गरेको छ । सिंजाका ६ वटै वडामा ग्राभेलसहितका सडक पुगिसकेको छ ।
गाउँगाउँमा ग्रामीण सडकले छोएको छ । नेपाली खस भाषा साहित्यको उद्गम स्थल सिंजा २२ औं राज्यमध्ये शक्तिशाली राज्य थियो । सिंजाको ऐतिहासिक विरासत कायम राख्नका लागि गाउँपालिकाले संघ, प्रदेश सरकारको समन्वयमा पर्यटकीय पूर्वाधार निर्माणलाई समेत जोड दिएको छ । सिंजा सभ्यताको अध्ययन अनुसन्धान तथा पर्यटक भित्र्याई आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यले खस संग्रहालय निर्माण थालिएको छ ।
सिंजामा धार्मिक, सांस्कृतिक, ऐतिहासिक पर्यटकीय सम्भावना प्रचुर रहेका छन् । धार्मिक रूपमा बुँदबुँदी केदारनाथ तीर्थस्थल, मठमन्दिरको रूपमा देउलीमा, ऐतिहासिक पञ्चदेवललगायतका पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गरिएको सिंजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले बताए ।
उनले भने, “भौगोलिक विकटता र नागरिकका आवश्यकता मध्यनजर गरी पालिकाका ६ वटै वडामा सडक पु-याइएको छ भने कृषि व्यवसायमा अनुदान, पर्यटकीय पूर्वाधार विकास, खानेपानी, सिँचाइलगायतका क्षेत्रमा उल्लेखीय काम गरेका छौं । यद्यपि अपेक्षाकृत गर्न सकिएको छैन ।”
पालिका मुख्य सबै सडक ग्राभेल गरिएको छ भने पूर्वाधार विकास कार्यालयको समन्वयमा नाग्म–गमगडी सडक हुँदै सिंजा गाउँपालिका जोड्ने पक्की पुलसमेत निर्माण गरिएको अध्यक्ष रावलको भनाइ छ ।
सिंजा गाउँपालिका विकट बस्तीलाई निकटसँग जोड्न, गाउँको उत्पादनलाई बजारमा पु-याउन, पर्यटन प्रवद्र्धन गर्न, स्वास्थ्य शिक्षा सहज सुलभ गर्न, प्रशासनिक सेवा प्रभावकारी बनाउन गाउँगाउँमा सडक पु-याउन सिंजाले सुरुवाती वर्षदेखि नै पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।
दर्जनौं विद्यालय भवन निर्माण, ६ वटै वडामा सडक निर्माण, वडा भवन निर्माण, स्वास्थ्यचौकी निर्माण, ग्रामीण सडक निर्माण, खानेपानी सिँचाइलगायत थुप्रै पूर्वाधार विकासको काम उल्लेखनीय रूपमा गरेको छ ।
कृषि, पर्यटन र जडीबुटी क्षेत्रमा भएका अथाह सम्भावनालाई अवसरमा बदल्न हिमाले सुरुवातदेखि नै पूर्वाधार विकासमा जोड दिँदै आएको छ ।
पूर्वाधार विकासबिना सम्भावनाहरू अवसरमा रूपान्तरण नहुने र पूर्वाधारबिना कृषि, पर्यटनबाट आर्थिक समृद्धि पनि असम्भव भएकाले सुरुदेखि नै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रको पूर्वाधार विकासमै जोड दिएको अध्यक्ष रावलले जानकारी दिए ।
पाँच वर्षमा विद्यालय भवनमात्रै डेढ दर्जनभन्दा बढी निर्माण भएका छन् । स्थानीय सरकार आउनुपहिले पूर्वाधार विकासमा शून्य रहेको सिंजामा अहिले गाउँगाउँमा सडक, खानेपानी, सिँचाइ, विद्यालय भवन, बर्थिङ सेन्टर, स्वास्थ्यचौकी भवन, पर्यटकीय पदमार्ग, घोडेटो बाटो निर्माणलगायतका पूर्वाधार निर्माण भएका छन् ।
सिंजा गाउँपालिकाले आव २०७८/७९ का लागि ३२ करोड २९ लाख बजेट विनियोजन गरेको थियो । स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, पूर्वाधार, खानेपानी, सिँचाइलगायतको विकासका लागि ३२ करोड बढीको बजेट विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रमा सबै स्वास्थ्यचौकीमा ल्याब स्थापना गर्ने बर्थिङ सेन्टर नभएका स्वास्थ्य संस्थाहरूमा बर्थिङ सेन्टर स्थापना गर्ने, सिंजा आँखा उपचार केन्द्रलाई व्यवस्थापन गर्ने र स्वास्थ्यका लागि अध्यक्ष कोष स्थापना गर्नेलगायतका कामहरू भएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले जानकारी दिए ।
उपाध्यक्ष जन्मकन्या खत्रीले संघीयताको जग बसाल्न पहिलो कार्यकालका जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको बताइन् । नयाँ आउने जनप्रतिनिधिका लागि ऐन कानुन निर्माण तथा गाउँगाउँमा विकासको सुरुवात गरी मार्गप्रशस्त गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्