पर्यटकको रोजाइमा म्याग्दीको दुरुलेक «

पर्यटकको रोजाइमा म्याग्दीको दुरुलेक


म्याग्दी
-नयाँ वर्ष सुरु भएसँगै म्याग्दीको मालिका गाउँपालिका– २ रुमस्थित पर्यटकिीयस्थल दुरुलेकमा आन्तरिक पर्यटकको भिड हुने गर्छ । समुन्द्री सतहदेखि ३ हजार ४८४ मिटर उचाइमा अवस्थित दुरुलेकमा हिमशृङ्खला र ग्रामीण भूगोलको अवलोकनका लागि नयाँ वर्षमा म्याग्दी र बागलुङका आन्तरिक पर्यटक पुग्ने गर्छन् ।
प्राकृतिक, जैविक, ऐतिहासिक र धार्मिकस्थलको रुपमा महत्वपूर्ण रहेपनि प्रचार–प्रसार र पूर्वाधारको अभावले यसबाट ग्रामीण बस्तीको आयस्रोतको माध्यम बन्न सकेको छैन । म्याग्दीको मालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका– ५ सिपको सिमानामा रहेको दुरुलेकमा लालीगुरासँको घनाजंगल, दर्जनौ हिमालको दृष्य र म्याग्दी र बागलुङलगायतका जिल्लाको ग्रामीण बस्ती डाडाँकाडासँग रमाउन नयाँ वर्षमा पर्यटक आउने गरेको मालिका गाउँपालिका–२ का वडाअध्यक्ष नरबहादुर पुनले बताए । “धौलागिरि, अन्नपूर्ण, निलगिरिलगायतका हिमालहरु एउटै रेञ्जमा नजिकबाट देख्न सकिन्छ’’ उनले भने ।
म्याग्दीसँगै बागलुङको ढोरपाटन नगरपालिका, तमानखोला, बडिगाड र तमानखोला गाउँपालिकाबाट बढी पर्यटन दरुलेकको भण्डी डिलमा पर्यटक आउँछन् । दुरुलेकदेखि झण्डी डिलसम्म पुग्ने पदमार्ग र चौतारी निर्माणले पर्यटकलाई सहज भएको छ ।
दुरुलेकबाट देखिने हिमालहरु, विभिन्न प्रजातीका लालीगुराँस, मठमन्दिर र परम्परागत गोठहरु अवलोकन गर्न आएको आन्तरिक पर्यटक नविन विकले बताए । पर्यटकका लागिमठ्ठा चढाउने भिरले पनि थप आकर्षण गरेको छ ।
चैत वैशाख महिनामा दुरुलेकस्थित घनाजंगलमा लालीगुराँस फूल्ने र वन्यजन्तुसँगै रमाउन, फोटो र भिडियो बनाउन विशेषगरी युवायुवती बढी आउने गरेको स्थानीय चोकने पुन मगरले बताए । “गुराँसे जंगलले राताम्मे वन र मनोरम हिमशृङ्खलाले पर्यटकलाई लोभ्याउने गरेको छ” उनले भने, “पुर्खाहरुले गाईभैंसी, भेडाबाख्रालगायतको गोठैगोठहरु राख्ने परम्परगत चलन थियो, लगभग ४ देखि ६ घण्टाको समयमा पुग्न सकिने दुरुलेकमा पर्यटक लामो बसाई गराउनका लागि सुविधासम्पन्न होटल र खाजाघर र आरामस्थल बन्न नसक्दा बिहान आउने र बेलुका फर्कनुपर्ने बाध्यता रहेको छ ।
ताराखोला गाउँपालिकाका ५ सिपका तिलप्रसाद आचार्यले डडेलेख शिवालय मन्दिर र खानेपानी सुविधा निर्माण गरेपछि छोरा जन्मिएको जनविश्वास रहेको छ । दुरुलेकमा भाकल गरेर जन्मिएका तिलप्रसाद आचार्यका छोरा नविन आचार्य पर्यटक आएको समयमा शिवालय मन्दिरमा पुजारी बनेर सेवा दिँदै आएका छन् ।
गाउँपालिकाको सिफारिस र गण्डकी प्रदेश सरकारबाट प्राप्त २५ लाख रुपैयाँ बजेटबाट पदमार्ग र थप १० लाख बजेटबाट घर निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष खरमाया विटालुले बताइन् । यस क्षेत्रको पर्यटकको बसाई लम्ब्याउन पर्यटन पूर्वाधार निर्माणमा मालिका गाउँपालिकाले अग्रसरता देखाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्