प्रमुख गन्तव्य बन्दै मणिचूड «

प्रमुख गन्तव्य बन्दै मणिचूड


नेपाल भूपरिवेष्टित मुलुक, विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको देश, जहाँ उच्च हिमश्रृंखला, पहाडी भू–भाग र तराईका समथर फाँटले भरिपूर्ण भएको मुलुक भए तापनि भूबनोट अत्यन्तै कठिन रहेको छ । भूपरिवेष्टित मुलुक भएर नै होला, विकास निर्माणमा ज्यादै कठिन पर्ने गर्छ । नेपाल सांस्कृतिक सम्पदाले भरिपूर्ण भएको देश, विभिन्न संस्कृति, रीतिरिवाज, चालचलन, भाषाभाषीको विविधतामा एकता भएको मुलुक, चार जात छत्तीस वर्णको साझा फुलबारीमा सबै जना अटाउन सक्ने साझा चौतारी भएको मुलुक । यस्तो पवित्र भूमि अन्य मुलुकमा पाउन मुस्किल छ । हाम्रो मुलुक एउटा स्वर्गको टुक्राको आभास हुन्छ । एउटै देश तर फरक–फरक परिवेश हिमाल, पहाड, तराईमा अटाइएको हामी नेपाली ।
कोभिड महामारीमा घरभित्रै गुम्सिन बाध्य भएका महानगरवासी घुम्नलाई मौका खोजिरहेका छन् । फलस्वरूप रमणीय स्थानमा पारिवारिक रूपमा घुम्न निस्किँदा आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको स्पष्ट हुन्छ । सार्वजनिक बिदाका दिन सहरबाट नजिकको दूरीमा रहेको स्थानमा घुम्न जाने, पिकनिक मनाउने, अवलोकन भ्रमण, पारिवारिक जमघटको बन्दोबस्तले केही पर्यटकीय स्थानमा आन्तरिक पर्यटकको खचाखच उपस्थिति देख्न सकिन्छ । नयाँ वर्ष लागेसँगै घुम्न जाने एउटा परम्परा नै बनिसकेको छ । यो पर्यटन प्रवद्र्धनका लागि सुखद पक्ष हो ।
नेपाल पर्यटकीय सम्भावना भएको मुलुक हो । यहाँका प्राकृतिक छटाका सौन्दर्यले जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ । यहाँको हरेक प्राकृतिक सम्पदा आफैंमा पर्यटकीय स्थलहरू हुन् । आन्तरिक तथा बाह्य पर्यटकका लागि घुम्नका निमित्त यहाँ उपयुक्त गन्तव्यहरू रहेका छन् । कतिपय परिचित छन् भने कतिपय त्यस्ता स्थानहरू छन् जसले पर्यटकीय सम्भावना बोकेर पनि गुमनामझैंको अवस्थामा रहेका छन् । तिनैमध्ये हो— मणिचूड, जुन प्रचारको पर्खाइमा बसेको छ ।
राजधानी सहरबाट छोटो दूरीमा रहेको तर प्रचारको अभावमा उचित गन्तव्य बन्न नसकेका त्यस्ता स्थानहरूको सम्भाव्यता अध्ययन गरी प्रमुख गतव्य बनाउनुपर्ने आजको आवश्यकता छ । काठमाडौंबाट करिब २२ किलोमिटरको दूरीमा अवस्थित मणिचूड जोरपाटी–साँखु सडक खण्डलगायतका मार्गबाट पुग्न सकिन्छ । उक्त सडकखण्डअन्तर्गत ब्रह्मखेलबाट केही पिच, केही पक्की, केही कच्ची साँघुरो उकालो सडकको यात्रापश्चात् गतव्यमा पुग्न सकिन्छ । मानव बस्ती नभएकाले खानेकुराको व्यवस्था स्वयंले गर्नुपर्ने हुन्छ ।
शिवपुरी राष्ट्रिय निकुञ्जअन्तर्गतको नेपाली सेनाको संरक्षणमा रहेको क्षेत्रभित्र पर्ने मणिचूड पुग्दा स्वर्गीय आनन्द महसुस हुन्छ । जंगलको बीच भागमा अवस्थित मणिचूड स्वच्छ अनि हरियाली वातावरणले मनै फुरुङ्ग बनाउँछ । बौद्ध अनि हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्रसमेत रहेको मणिचूडमा मणिचूड दहको सौन्दर्यले आकर्षित गर्छ । रंगीचंगी ध्वजापताकाले सजिएको मणिचूड क्षेत्रमा हाइकिङ तथा साइक्लिङ गर्नेको प्रमुख गन्तव्य बन्न सक्छ । तथापि उक्त स्थानको थप प्रचार गर्न सक्ने हो भने आन्तरिक मात्र नभई बाह्य पर्यटकलाई समेत त्यो क्षेत्रमा पु-याउन टेवा पुग्छ । एकपटक मणिचूड पुग्ने पर्यटकले आफ्नो समय व्यतीत गरेको पत्तै पाउँदैन, त्यसैले एकपटक मणिचूड घुम्न जान प्रोत्साहन गर्छु ।

प्रतिक्रिया दिनुहोस्