वीरगन्जमा मतगणनास्थल तयार «

वीरगन्जमा मतगणनास्थल तयार

आज शुक्रबार हुने स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मतगणनास्थल तयार भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ लक्ष्मणुवा स्थित नृसिंह प्राविधिक विद्यालयमा मतगणना स्थल तयारी गरिएको हो ।
नृसिंह माध्यमिक विद्यालयको चार वटा कोठा मतगणनाको लागि तयार गरिएको छ । तीन वटा कोठा भने मतपेटिका राख्ने गरी तयार गरिएको छ । मतगणना स्थलको कोठा वरिपरी तारजालीले घेरेर बनाईएको छ । मतगणना गरिने कोठाहरुमा काठको पल्लामा जाली हालेर तोडफोड गर्न नसक्ने गरि बनाईएको वीरगन्ज महानगरपालिकाको नगर प्रहरी इन्चार्ज हरि भूषालले बताए ।
उनका अनुसार चारवटा कोठाको वरिपरी तारजालीले बेरेर त्यसको बाहिरी भागमा उम्मेदवारका प्रतिनिधिहरु बस्ने व्यावस्था गरिएको छ । मतगणना शुरु भएपछि बाहिरीभागमा बसेका उम्मेदवारका प्रतिनिधिहरुलाई मतगणना गरिएको मतपत्र देखाएर रुजु गरी सदर गर्ने गरी व्यावस्था मिलाईएको छ ।
निर्वाचन आयोगको पत्र अनुसार मतगणना स्थलको व्यावस्थापन वीरगन्ज महानगरपालिकाले गरेको हो । मतगणना स्थलमा ८ वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ । निर्वाचन आयोगले तोकेको मापदण्ड अनुसारको २ मेगापिक्सेलको ८ च्यानल एमभीआर भएको सीसीटीभी क्यामेरा जडान गरिएको वीरगन्ज महानगरपालिकाका सूचना प्रविधि विकास शाखाका प्रमुख इञ्जिनियर गौरव लामिछानेले जानकारी दिए । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर मतगणना स्थल सुरक्षित र बलियो बनाईएको मतगणना व्यावस्थापन स्थलमा खटिएका कर्मचारीहरुले बताएका छन् । मतगणना स्थलको निर्माण पूरा भए लगत्तै जिल्ला स्थित सुरक्षा संयन्त्रको जिम्मामा रहने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्