३५ हजार जनप्रतिनिधि चयन गर्न आज मतदान «

३५ हजार जनप्रतिनिधि चयन गर्न आज मतदान


आज (शुक्रबार) देशभरका ७५३ वटै स्थानीय तहमा जनप्रतिनिधि छान्न निर्वाचन हुँदैछ । मुलुक संघीयतामा गइसकेपछि दोस्रो पटक हुन लागेको स्थानीय तह सदस्य निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।
यसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य मतदाता छन् । निर्वाचन आयोगका अनुसार ७५३ स्थानीय तहका विभिन्न पदका लागि १ लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । यसमध्ये ८९ हजार ३१३ पुरुष र ५५ हजार ६९८ महिला उम्मेदवार छन् । कुल उम्मेदवारमध्ये ३ सय ९० जना निर्विरोध निर्वाचित भइसकेका छन् ।
आयोगले स्थानीय तह निर्वाचनका लागि १० हजार ७५६ मतदान स्थल निर्धारण गरेका छ । देशभर २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । स्थानीय तह निर्वाचनबाट ७५३ पालिकामध्ये २९३ मा नगर प्रमुख र ४६० मा गाउँपालिका अध्यक्ष निर्वाचित हुने छन् । सोही संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष चयन हुने छन् । यस्तै निर्वाचनबाट ६ हजार ७४३ वडाध्यक्ष, ६ हजार ७४३ महिला सदस्य, ६ हजार ७४३ दलित महिला सदस्य र १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुनेछन् ।
निर्वाचनका लागि सरकारले १ लाख ९ हजार ८८ कर्मचारी खटाएको छ । आयोगले निर्वाचनमा ६५ हजार ८६५ स्वयंसेवक पनि खटिने जनाएको छ । निर्वाचनको पर्यवेक्षण ५ हजार पर्यवेक्षकले गर्ने भएका छन् । आयोगका अनुसार स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता भएका ७९ दलमध्ये ६५ दलहरुले उम्मेदवारी मनोनयन गराएका छन् ।
आयोगका अनुसार प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४, मधेस प्रदेशमा ३३ लाख ३१ हजार १७०, बागमती प्रदेशमा ३४ लाख १२ हजार ८६९, गण्डकी प्रदेशमा १७ लाख ८९ हजार ४११, लुम्बिनी प्रदेशमा ३२ लाख १९ हजार ४५७, कर्णाली प्रदेशमा १० लाख १ हजार २८२ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता छन् ।

निर्वाचन हुने तह ७५३
महानगरपालिका ६
उपमहानगरपालिका ११
नगरपालिका २७६
गाउँपालिका ४६०
कुल मतदाता १ करोड ७७ लाख ३३ हजार ७२३
महिला मतदाता ७७ लाख ४१ हजार ५३०
पुरुष मतदाता ८९ लाख ९२ हजार १०
अन्य मतदाता १८३
उम्मेदवार १ लाख ४५ हजार ११
महिला ५५ हजार ६९८ पुरुष ८९ हजार ३१३
निर्वाचित हुने जनप्रतिनिधि ३५ हजार २२१

प्रतिक्रिया दिनुहोस्