सहुलियतपूर्ण कर्जा थप प्रभावकारी बनाऊ : राष्ट्र बैंक «

सहुलियतपूर्ण कर्जा थप प्रभावकारी बनाऊ : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी कार्यविधिको प्रभावकारी कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले बैंक वित्तीय संस्थालाई शाखा कार्यालय मार्फत पनि सहजीकरण गरेर सहुलियतपूर्ण कर्जा प्रवाह गर्न भनेको हो ।
कार्यविधि अनुसार बैंक वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा ऋणिबाट आधार दरमा २ प्रतिशत थपेर लिन पाउँछन् । तर, कर्जाको प्रक्रियागत अन्य शुल्कहरू भने लिन नपाउने व्यवस्था कार्यविधिले गरेको छ । बैंकहरूले सहुलियत कर्जा प्रवाह गर्दा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा ५ करोड रूपैयाँसम्म दिन सक्ने व्यवस्था गरेको छ । सरकारले बिना धितोकर्जाका ऋणीलाई ५ प्रतिशत ब्याज अनुदान दिनेछ । तर, सरकारले महिला उद्यमशीलता कर्जामा भने ६ प्रतिशत ब्याज अनुदान दिन्छ ।
शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा, भूकम्प पीडितहरूको निजी घर निर्माण र व्यावसायिक कृषि तथा पशुपञ्छी पालनमा सहुलियत दरमा बैंकबाट ऋण उपलब्ध गराउने व्यवस्था कार्यविधिमा छ । सरकारको योजनालाई बैंक तथा वित्तीय संस्थाले बारम्बार अटेरी गरेपछि राष्ट्र बैंकले सोमबार सूचना जारी गरेर सचेत गराएको छ । ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रमबाट फाइदा लिन नसकेको गुनासो पछि गत माघ १६ गते पनि केन्द्रीय बैंकले कर्जा प्रवाह सहज बनाउन मातहतका निकायमा निर्देशन गरेको थियो ।
कार्यविधि अनुसार व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा ५ करोड रूपैयाँसम्म, शिक्षित युवाले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रूपैयाँसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जामा १० लाख रूपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था छ । यसैगरी महिला उद्यमशील कर्जा १५ लाख रूपैयाँसम्म, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रूपैयाँसम्म, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५ लाख रूपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्