कर्णाली राजमार्ग स्तरोन्नति हुँदै «

कर्णाली राजमार्ग स्तरोन्नति हुँदै



जुम्ला-कर्णालीको आर्थिक समृद्धिको आधार तर मृत्युमार्गको उपनामले परिचित कर्णाली राजमार्ग स्तवृद्धिले गति लिएको छ । डबल लेन निर्माण, कालोपत्रे, ग्राभेललगायत राजमार्ग स्तरवृद्धिका काम धमाधम भइरहेका छन् ।
कालिकोट जुम्ला खण्डको अति अप्ठयारो पिली क्षेत्रमा सडक कालोपत्रे भएपछि ढुक्कले सवारी गुड्न थालेका छन् । सुर्खेतको बांगेसिमलदेखि जुम्लासम्मको २ सय ३२ किमि लामो कर्णाली राजमार्गको दैलेख खण्डमा भने अपेक्षित सुधार हुन सकेको छैन ।
तर जुम्ला सडक डिभिजनको कार्यक्षेत्र कालिकोटको दैखोलादेखि जुम्लातर्फको सडकमा भने उल्लेख्य सुधार भएको छ । सडक डिभिजन जुम्लाको कार्यक्षेत्र रहेको राजमार्गको १ सय ६७ किलोमिटर सडकमा कालोपत्रे, डबल लेन, नाला निर्माण, ग्राभेललगायतका काम भइरहेको छ । जसमा कालिकोटको पिली, विहानी खोला, बालीघाट, टाकुल्ला, खल्लाघाडलगायतका दर्जनौं स्थानमा कालोपत्रे भइरहेको छ । जोखिमयुक्त स्थानलाई प्राथमिकता दिएर राजमार्गको स्तरवृद्धि गरेपछि अहिले ढुक्कले यात्रा गर्ने अवस्था आएको चन्दननाथ–५ जुम्लाका स्थानीय धनराज सुनारले बताए ।
उनले भने, “कर्णाली राजमार्गको कालिकोट (जुम्ला खण्ड उल्लेख्य रूपमा सुधार भए पनि दैलेख कार्यक्षेत्रको सडकमा अझै सास्ती छ । कर्णाली राजमार्ग भरपर्दाे बनाउन तीनै तहका सरकार अझ जिम्मेवार हुन आवश्यक छ ।” सबैभन्दा जोखिमपूर्ण कालिकोटको पिली क्षेत्रमा कालोपत्रे हुँदा खुसी लागेको समेत सुनारले उल्लेख गरे ।

५६ किमि सडक स्तरवृद्धि हुँदै
सडक डिभिजन जुम्लाले आफ्नो कार्यक्षेत्रभित्र पर्ने कर्णाली राजमार्गको कालिकोट दैखोलादेखि जुम्लासम्मको १ सय ६७ किमि सडकमध्ये ५६ किमि सडक स्तरवृद्धि गरिरहेको छ । झण्डै १७ वटा ठेक्कामार्फत सडक स्तरवृद्धि भइरहेको छ । दैलेख खण्डभन्दा कालिकोट–जुम्ला खण्डमा सडक स्तरवृद्धि दु्रत गतिमा भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीले उल्लेख्य काम हुन सकेको छैन । तर पनि डबल लेन निर्माण, कालोपत्रे, ग्राभेल, नाला निर्माणलगायत सडक स्तरवृद्धिका काम भने भइरहेको छ ।
जसमा नाग्म जुम्ला खण्डको १.६ किमि, मान्म–कालिकोट खण्डको २.८५ किमि, सेरीघाट–मान्म २.८ किमि, बालिघाट–नाग्म ५.६ किमि, नाग्म–जुम्ला खण्डको १.८ र १..९ किमि सडक कालोपत्रेसहित स्तरवृद्धि भएको सडक डिभिजन जुम्लाका इन्जिनियर सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार चालू आवमा ५६ किमि सडक स्तरवृद्धि गर्ने लक्ष्य भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण कामले अपेक्षित गति लिएको छैन । सडक स्तरवृद्धिका लागि ठेक्का सम्झौता भएका १७ ठेक्कामध्ये नौवटा ठेक्काको काम उल्लेख्य रूपमा हुन सकेको छैन भने अन्य ठेक्काको काम सन्तोषजनक रहेको सडक डिभिजनको प्रतिवेदनमा उल्लेख छ ।
जसमा कालिकोट जुम्ला खण्डको दुई आव पहिले ठेक्का सम्झौता भएका २१.५ किमि र १२.५ किमि सडक पुनःमर्मतको काम हुन सकेको छैन । कार्यालयले दिएको निर्देशनलाई समेत निर्माण व्यवसायीले अटेरी गरेका छन् । असार मसान्तसम्म सडक स्तरवृद्धिको ८० प्रतिशत काम सकिने अनुमान छ ।

दैलेख खण्ड अझै धुलाम्य
कर्णाली राजमार्गअन्तर्गत दैलेख खण्ड अझै धुलाम्य छ । तल्लो डुंगेश्वरदेखि कालिकोटतर्फको झण्डै १० किलोमिटर सडक सुधार नहुँदा यात्रुले सास्ती खेप्नु परेको छ । अहिलेसम्म ग्राभेल नहुँदा धुलो धँुवाले यात्रुसँगै सडक छेउका बस्तीका स्थानीयसमेत प्रभावित भएका छन् ।
दैलेखको पाल्तडा, टुनिबगर, राकमकर्णाली, खिड्की ज्युलालगायतका सडक खण्डमा कालोपत्रेसँगै सडक स्तरवृद्धि भएको छ । तर तल्लो डुंगेश्वरदेखि पादुका खोलासम्म करिब ८ किमि सडक धुलाम्य हुँदा स्तरवृद्धिमा ध्यान दिन आवश्यक देखिन्छ । दैलेखका युवा श्रवण आचार्य भन्छन्, “बजेट अभाव हो कि, ठेकेदारले काम नगरेर हो । दैलेख खण्डको अधिकांश सडक खाल्डाखुल्डी हुँदा यात्रुले सास्ती खेप्नु परेको छ ।”
कर्णाली राजमार्गको पिली खण्डमा कालोपत्रे हुँदै ।

प्रतिक्रिया दिनुहोस्