नेपाल टेलिकमको नाफा ४४ करोडले घट्यो «

नेपाल टेलिकमको नाफा ४४ करोडले घट्यो

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा नेपाल टेलिकमको नाफा ४४ करोड ९१ लाख २५ हजारले घटेको छ ।
कोभिड –१९ महामारीको प्रभाव र अनलाइन प्रविधिको बढ्दो प्रयोग लगायत कारणले नाफामा कमी आएको कम्पनीले जनाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधि (२०७७ चैत मसान्तसम्म) मा कम्पनीले कुल ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यो वर्षको सोही अवधिमा भने ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँ नाफा आर्जन भएको कम्पनीले जनाएकोे छ ।
कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक (२०७८ चैतसम्म) को वित्तीय प्रतिवेदनमा कम्पनीको कुल आम्दानीमा पनि कमी आएको देखिन्छ । प्रतिवेदनअनुसार टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १० अर्ब ५४ करोड ७५ लाख ४१ हजार रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवको यही अवधिमा ११ अर्ब ९ करोड ७८ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले यस पटक ५५ करोड ३ लाख ७ हजार रुपैयाँ आम्दानी गुमाएको छ ।
कोरोना महामारीले गर्दा कम्पनीको सेवा उपभोगमा कमी आएकाले आय घटेको टेलिकमले जनाएको छ । योसँगै, ओभर द टप (ओटीटी) को बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय रोमिङलगायत अन्तरआबद्धता सेवाको प्रयोगमा कमी आएकाले नाफामा कमि आएको कम्पनीले उल्लेख गरेको छ । डोमेस्टिक अन्तरआबद्वता शुल्कमा कमी आउनु, मर्मतसम्भार खर्चमा भएको वृद्धि, स्थिर सम्पत्तिको ह्रासकट्टी रकममा भएको वृद्धि जस्ता कारणले व्ययभार बढ्न गई नाफामा असर परेको टेलिकमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्