कारोबार र पशुपति बहुमुखी क्याम्पसबीच सम्झौता «

कारोबार र पशुपति बहुमुखी क्याम्पसबीच सम्झौता

पशुपति बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई कारोबार राष्ट्रिय आर्थिक दैनिकले इन्टर्नसिप गर्ने मौका दिने भएको छ । क्याम्पसमा अध्ययनरत व्यवस्थापन, पत्रकारिता तथा अर्थशास्त्र समूहका विद्यार्थीलाई वर्षको पटक पटक गरी विभिन्न विभाग तथा कार्यक्षेत्रमा इन्टर्नसिप गर्ने मौका दिइने भएको हो ।

सोसम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कारोबारका सम्पादक कुबेर चालिसे र क्याम्पसका प्रमुख प्राध्यापक प्रयागराज भट्टराई ‘वाशिष्ठ’ ले क्याम्पसका व्यवस्थापन समितिका सदस्य प्रा. डा. विद्यानाथ कोइरालाको उपस्थितिमा हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा क्याम्पसका सहायक प्रमुखद्वय चन्द्रप्रसाद पन्त र कल्याण दाहाल पनि उपस्थीत थिए ।
हस्ताक्षर कार्यक्रमपछि क्याम्पसका व्यवस्थापन समिति सदस्य प्रा. डा. विद्यानाथ कोइरालाले मिडिया तथा शैक्षिक संस्थाबीचको सहकार्यले सुखद् परिणाम ल्याउने भन्दै यस्ता कार्यको सुरुवात कारोबार राष्ट्रिय आर्थिक दैनिकले गरेकोमा धन्यवाद पनि दिए ।

यसैगरी, कारोबारका सम्पादक चालिसेले शैक्षिक संस्था तथा उद्योगबीच एकअर्कामा सहकार्य हुनुपर्ने भन्दै मिडिया उद्योगलाई पनि शैक्षिक संस्थाहरुसँग जोड्नुपर्ने बताए । यसबाट दुवैको दिर्घकालिन हित हुने भन्दै उनले एउटै सञ्जाल बनाएर अघि बढे समाज विकासमा योगदान दिन सकिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा क्याम्पस प्रमुख भट्टराईले कारोबारसँग भएको सम्झौताले विद्यार्थीलाई काम र दाम पाउने प्रकियाको सुरुवात हुने भन्दै आभार व्यक्त गरेका थिए । उनले क्याम्पसको ४२ वर्षको इतिहासमा यस्तो सम्झौता पहिलो पटक भएको भन्दै खुसीसमेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्