युनियन, गुराँस र प्राइमबीच सहमति «

युनियन, गुराँस र प्राइमबीच सहमति


बिमा समितिले चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पु-याउन निर्देशन दिएपछि प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्सबीच मर्जरको सम्झौता भएको छ । तीन बिमा कम्पनीबीच बिहीबार एकआपसमा गाभिने सहमति भएको हो ।
तीनै कम्पनीका अध्यक्षहरुले सहमतिपत्रमा हस्ताक्षर गरेर कम्पनीको पुँजीगत आधारलाई मजबुत र सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै बीमित, लगानीकर्ता लगायत सरोकारवालाहरुको दीर्घकालीन हित संरक्षण गर्नुका साथै तीनै कम्पनीको वित्तीय, मानव संशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि गर्दै सेवाग्राहीलाई आधुनिक प्रविधिजन्य बिमा सेवा सुविधा प्रदान गर्न सक्ने अवस्था सिर्जना गर्ने उद्देश्य लिएको जनाएका छन् ।
मुलुकमा जीवन बिमालाई सुशासित, सुरक्षित, स्वस्थ्य, कुशल तथा सक्षम एवं प्रभावकारी बनाउन सहयोगी भूमिका निर्वाह गर्ने र मुलुकको समग्र जीवन बिमा प्रणालीको सम्वद्र्धन गरी त्यसप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्दै बिमितको हित संरक्षण गर्ने उद्देश्य रहेको उनीहरुको भनाइ छ ।
सम्झौतामा मर्जरपछि बन्ने संस्थाको नाम नयाँ हुने भन्दै कम्पनीहरुले स्वाप रेसियो पनि नटुंगिएको जनाएका छन् । मर्जर समितिले नै सो विषयको टुंगो लगाउने जिम्मा दिएका तीनवटै बिमा कम्पनी गाभिएपछि १ः१ अनुपातमा गाभिए भने कुल चुक्ता पुँजी ७ अर्ब १ करोड ३८ लाख ६६ हजार हुनेछ ।
कम्पनीहरुको चालू आर्थिक वर्षको वित्तीय विवरण अनुसार प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ७७ करोड, युनियन लाइफको २ अर्ब १५ करोड र गुराँस लाइफको २ अर्ब ८ करोड छ ।
बिमा समितिले १० चैतमा बिमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि योजना ल्याएपछि बिमा कम्पनीहरू मर्जर तथा प्राप्तिको दबाबमा छन् । कम्पनीहरूले समितिसमक्ष पुँजी वृद्धिको योजना पेश गर्दै मर्जरमा जाने जनाएका छन् । समितिले २०७९ चैत मसान्तभित्रमा निर्जीवन बिमा कम्पनीलाई साढे २ अर्ब र जीवन बिमा कम्पनीलाई ५ अर्ब चुक्ता पुँजी पु-याउन निर्देशन दिएको थियो । बिमा समितिले पनि सकेसम्म मर्जरबाट चुक्ता पुँजी वृद्धि होस् भन्ने चाहना राखेको छ । मर्जरमा गएर बिमा कम्पनीहरु घट्दा अर्थतन्त्रलाई राम्रै हुन्छ भने समितिको सोचाइ छ । हाल २० वटा निर्जीवन र १९ वटा जीवन बिमा कम्पनी छन् ।
गत साता निर्जीवन बीमा कम्पनीहरु एभरेष्ट र हिमालयनले मर्जर सम्झौता गरेका थिए। उक्त मर्जर सम्झौताको ठिक एक सातापछि जीवन बीमामा पनि मर्जरको पहिलो गर्ने गरी तीन जीवन बीमा कम्पनीहरु प्राइम, युनियन र गुराँस लाइफ पनि एक आपसमा गाभिएर कारोबार थाल्ने सहमति बनेको हो।

जलविद्युत कम्पनी पनि मर्जरमा
जलविद्युत कम्पनीहरुले पनि एकापसमा गाभिने तयारी गरेका छन् । जलविद्युत कम्पनीको नियमन गर्ने विद्युत नियमन आयोगले दुई जलविद्युत कम्पनीलाई एकापसमा गाभिनका लागि स्वीकृति प्रदान गरेको छ ।
एउटै लगानीकर्ता रहेका रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीबीच गाभिने सम्झौता भएको छ । ती कम्पनी गाभिएपछि कुल चुक्ता पुँजी १ अर्ब १४ करोड ५५ लाख ५८ हजार कायम हुनेछ । आयोगको यही २६ वैशाखमा बसेको १५६ औँ बैठकले दुई जलविद्युत कम्पनी गाभिनका लागि सहमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्