सन्दिपले आईपीएल खेल्ने, ३२ लाखमा दिल्ली डेयरडेभिल्सले किन्यो «

सन्दिपले आईपीएल खेल्ने, ३२ लाखमा दिल्ली डेयरडेभिल्सले किन्यो

नेपाली क्रिकेटर सन्दिप लामिछाने दिल्ली डेयरडेभिल्सबाट आईपीएल खेल्ने भएका छन् । आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर हुन् ।
आइतबार भएको अक्सनमा दिल्लीले १७ वर्षीय नेपाली युवा बलर सन्दिपलाई किनेको हो । न्यूनतम मूल्य २० लाख भारु तोकिएको अक्सनमा दिल्लीले भारू २० लाख (३२ लाख रूपैयाँ)मा नै उनलाई किनेको हो ।
तर सन्दिप दिल्ली डेयरडेभिल्सको टिममा परेपनि आईपीएल खेल्न पाउँछन् पाउँदैन पक्का भएको छैन । टिममा २५ खेलाडी छन् । गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्टदेखि पृथ्वी शाह समेत रहेको टिममा उनले फस्ट इलाभेनमा पर्न राम्रै मेहनत गर्नुपर्छ ।
सन्दिपको यो आवद्धताले नेपालका अरु खेलाडीका लागि आईपीएलको ढोका खोल्न सक्छ ।
सन्दिपले आईपीएल टिम दिल्ली डेरडेभिल्समा आवद्ध भएकोमा खुसी व्यक्त गरेका छन् । डिभिजन टूको तयारीका लागि दुबईमा रहेका सन्दिपले ट्वीट गर्दै दिल्लीमा आवद्ध हुन पाएको खुसी व्यक्त गरेका छन् ।
आफूलाई दिल्लीको खेलाडी हुँ भन्न पाउँदा खुशी लागेको भन्दै उनले भनेका छन्, ‘यात्रा अब सुरु हुन्छ !’ उनले आफ्नो लागि कामना गरिदिनेहरुलाई पनि धन्यवाद दिएका छन् ।
सन्दिपले राष्ट्रिय टोलीबाट लगातार खेल्दै आएपनि नेपालले टी-२० वा एकदिवसीय दुबै मान्यता पाएको छैन । नेपाल अहिले डिभिजन टूको तयारीमा छ ।
जब २०१६ को यू-१९ विश्वकपमा आयरल्याण्डविरुद्ध २७ रन खर्चिएर हृयाट्रिकसहित ५ विकेट लिएर सबैको नजरमा परेका सन्दिपले त्यसको तीन महिनापछि हङकङमा खेल्ने मौका पाएका थिए । त्यहाँबाट उनी माइकल क्लार्कसँग अष्ट्रेलियासम्म पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्