दोस्रो पुस्तालाई उद्यमी तथा व्यवसायी बनाउने योजनामा छौं «

दोस्रो पुस्तालाई उद्यमी तथा व्यवसायी बनाउने योजनामा छौं

आशमानी चौधरी अध्यक्ष, ग्रामीण महिला उत्थान केन्द्र, दाङ

महिलाहरू अधिकांश घरभित्र मात्रै सीमित हुने गरेको पाइन्छ । समाज, राष्ट्र परिवर्तनका लागि केही गर्नुपर्छ भनी बाहिर आएका महिलाहरू पनि उद्यम तथा व्यवसायमा कमै मात्रामा लाग्ने गरेका छन् । महिलाहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक रूपमा सशक्तीकरण गरी आत्मनिर्भर गराउनु नै यस संस्थाको मुख्य उद्देश्य रहेको छ । तसर्थ महिलाहरूलाई यस्तै समस्यासँग जुध्न सिकाउँदै महिलाहरूलाई उद्यमी तथा व्यवसायी बन्नका लागि अगाडि बढ्न ग्रामीण महिला उत्थान केन्द्र, दाङले सहयोग गर्दैै आएको छ । केन्द्रले विगत २८ वर्षदेखि जिल्ला तथा जिल्लाबाहिरका महिलाहरूलाई समेत आत्मनिर्भर तथा सशक्तीकरणका लागि कार्य गर्दै आएको छ । केन्द्रको पहलमा अहिलेसम्म करिब ३० हजार महिला उद्यमी तथा व्यवसायी बन्न सफल सफल भइसकेका छन् । महिलाहरूलाई आत्मनिर्भर र सशक्तीकरण गराउन के–कसरी कार्य गरिँदै आएको छ भन्ने विषयमा केन्द्रका अध्यक्ष आशमानी चौधरीसँग दाङस्थित कारोबारकर्मी अमरराज आचार्यले गरेको कुराकानीको सार :

ग्रामीण महिला उत्थान केन्द्र, दाङको स्थापना गर्नुको मुख्य उद्देश्य के हो ?
हरेक संघ–संस्थाहरू आफ्नो उद्देश्य लिएर स्थापना भएका हुन्छन् । हामीले पनि आत्मनिर्भर र सशक्त समाजको परिकल्पनाका साथ संस्थाको स्थापना गरेका हौं; अर्थात् संस्था स्थापना गर्नुको मुख्य उद्देश्य भनेकै महिलाहरूको आर्थिक, सामाजिक, शैक्षिक, सांकृतिकलगायतका विषयमा महिलाहरूलाई सशक्तीकरण गर्नु नै थियो । वि.सं. २०५० मा सोच बनाएर सुरुवात गरिएको संस्थाको विधिवत् रूपमा २०५१ साल मंसिर २१ गते दर्ता गरेर अगाडि बढाएका हौं । त्यो समयमा महिलाहरूलाई घरबाट बाहिर निस्कनका लागि निकै कठिन अवस्था थियो । घरभन्दा बाहिर ननिस्कने भएपछि समूह निर्माण गर्ने, संगठित हुने अवस्था पनि थिएन । घरभित्र मात्र सीमित रहेका महिलाहरूलाई संगठित गरेर आत्मनिर्भर र सशक्तीकरण गर्ने कार्य अहिले पनि संस्थाले गरिरहेको छ ।

किन आत्मनिर्भर सशक्तीकरणलाई नै प्राथमिकता दिनुभयो त ?
हामीले आत्मनिर्भर र सशक्तीकरणलाई प्राथमिकता दिनुको कारण जबसम्म मानिस आत्मनिर्भर बन्न सक्दैन तबसम्म ऊ अगाडि बढ्न सक्दैन् । मानिस सफल बन्नका लागि सकारात्मक सोच र सशक्तीकरण हुन आवश्यक छ । यी दुवै भएमा मात्र मानिस आफ्नो खुट्टामा आफै उभिन सक्छ । समाजको विकासमा समेत सहयोग पुग्छ । त्यसैले हामीले यसलाई प्राथमिकता दिएर अगाडि बढेका हौं । हामीले काम गर्दै जाँदा आत्मनिर्भर र सशक्तीकरणमा जोड किन भन्नेहरूका लागि एउटा उदाहरण दिन चाहन्छु । हाम्रो संस्थाले समुदायमा पुगेर महिला समूह गठन ग-यो, समूहमा बचत उठाउन सिकायो, साथै बचत गर्नका लागि आफूले नै केही उद्यम गर्नुपर्छ भनेर ठाउँ, अवस्थाको विश्लेषण गरी बाख्रापालन, कुखुरापालन, तरकारी खेती, गाईभैसी पाल्नका लागि पाल्ने तरिकादेखि कर्जाको सही सदुपयोग कसरी गर्ने जस्ता कामहरू समुदायमै पुगेर सिकायौं, समूह बनाएर थोरै बचतबाट सुरुवात गरेको हाम्रो समूह अहिले दाङ, सल्यान र प्युठानमा सहकारीको रूपमा परिणत भएका छन् । हामीले आत्मनिर्भर बन्नका लागि उद्यम गर्नुपर्छ, बचत गर्नुपर्छ भनेर सिकाएका हौं तर अहिले तीनवटा जिल्लामा रहेका १२ वटा सहकारीले आफ्नो खसी, तरकारी, दुग्ध तथा लोकल कुखुराको व्यवसाय सञ्चालन गरिरहेका छन् । हामीसँग काम गर्दै जाँदा यस्ता थुप्रै उदाहरण छन् । यस्तै कारणहरू हुन्, जसले गर्दा हामीले सबैभन्दा पहिला आत्मनिर्भर र सशक्तीकरणलाई नै प्राथमिकतामा राखेका हौं ।

सामाजिक कार्य गर्दा केकस्ता समस्या भोग्नुभयो ?
कुनै पनि काम गर्दा समस्या त हुन्छ नै, समस्यासँग डराएर होइन समस्याको समाधान गर्दै अगाडि बढेमा सफल भइन्छ भन्ने सोच हामीमा थियो । त्यसकारण पनि समस्यालाई समस्या नभनी हामीहरू निरन्तर अगाडि बढेका हौं । समाज रूपान्तरण गर्ने काम निकै चुनौतीपूर्ण हुन्छ, तर पनि समस्यालाई हामीले अवसरको रूपमा लिएर निरन्तर अगाडि बढि नै रह्यौं । सुरुमा समूह गठन गर्दा पाँच दिनमा तीनवटा मात्रै समूह गठन भएकोे थियो । त्यो दिन भर्खरैजस्तो लाग्छ । हामीले समूह गठन गर्न जाँदा महिलाहरू घरभित्र लुक्ने गर्नुहुन्थ्यो, निरन्तर उहाँहरूलाई जानकारी गराउँदै गएपछि मात्रै समूहमा बस्नुभएको थियो । तसर्थ त्यो समय समाजमा चेतनाको कमी थियो भने अझ पुरुषत्वको वर्चस्व रहेको हाम्रो जस्तो समाजमा महिलाहरूलाई कन्भिन्स गर्न पनि निकै गाह्रो हुन्थ्यो ।

महिलाहरूलाई उद्यमी तथा व्यवसायी बनाउन केके गर्दै आउनुभएको छ ?
हामीले महिलाहरूलाई समूह गठन गरेर उद्यमी तथा व्यवसायी बन्नका लागि वित्तीय साक्षरता अभियान तथा लघुउद्यम, व्यवसायसम्बन्धी विभिन्न किसिमका तालिमहरू सञ्चालन गर्दै आएका छौं । साथै, विषयगत विभिन्न किसिमका तालिमहरू पनि सञ्चालन गर्दै आएका छौं । सफल उद्यमी तथा व्यवसायीहरूबीच अनुभव आदानप्रदान गर्ने कार्यक्रमहरूको समेत आयोजना गर्दै आएका छौं, यस्ता कार्यक्रमहरूले गर्दा महिला दिदीबहिनीहरूलाई प्रेरणा मिल्ने गरेको छ । साथै, उत्कृष्ट उद्यमीहरूलाई सम्मान तथा पुरस्कृत गर्ने कामहरू पनि गर्दै आएका छौं । उद्यमी तथा व्यवसायी बन्न चाहनेहरूलाई बिनाधितो ऋणसमेत दिने गरेका छौं । यसले गर्दा रकम नहुनेहरूलाई पनि उद्यमी तथा व्यवसायी बन्नबाट रोकिनुपरेको छैन भने धेरै उद्यमी तथा व्यवसायी बन्न पनि सफल हुनुभएको छ । समूह जमानीका आधारमा ऋण दिने व्यवस्थाले गर्दा सदस्य दिदीबहिनीहरू समूहप्रति जिम्मेवार पनि हुनुहुन्छ ।

अहिलेसम्म कति उद्यमी तथा व्यवसायी बनाउन सफल हुनुभएको छ ?
हामीले गरेको प्रयासबाट जिल्ला तथा अन्य जिल्लाहरूमा गरेर करिब ३० हजार महिला उद्यमी तथा व्यवसायी बन्न सफल हुनुभएको छ । उहाँहरूले ठूला उद्यम तथा व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । हजार रुपैयाँ लगानीबाट आफ्नो व्यवसाय सुरु गर्नेहरू अहिले लाखौंको कारोबार गर्दै आफ्नो व्यवसायलाई विविधीकरणका साथ स्वरोजगार बन्न सफल हुनुभएको छ । व्यावसायिक कृषि क्षेत्रमा समेत काम गर्नेहरूको संख्यामा अहिले वृद्धि हुँदै गएको छ । उहाँहरूले आफ्नो उद्यम तथा व्यवसायलाई थप उचाइमा पु-याउनका लागि योजनासमेत बनाउन थाल्नुभएको छ ।

अबको योजना के छ ?
समयको परिवर्तनसँगै योजना परिवर्तन हुँदै जाने गर्छन् । हामीले पनि समयसापेक्ष आफ्ना योजनाहरूलाई अगाडि बढाइरहेका छौं । आगामी दिनमा अहिले उद्यमी तथा व्यवसायी बनेका पुराना पुस्ताहरू सँगसँगै नयाँ पुस्तालाई समेत यस क्षेत्रमा अगाडि बढाउने योजना बनाएका छौं, जसले गर्दा युवाहरूलाई रोजगारीका लागि भौंतारिनुभन्दा आफैंले केही गर्नुपर्छ भन्ने भावनाको विकास हुनेछ । उद्यमशीलताको विकासले नै समाज तथा देशको विकास गर्न समेत सहयोग पुग्नेछ । यसका लागि नयाँ पुस्तालाई वित्तीय साक्षरतासम्बन्धी शिक्षा तथा युवा लक्षित उद्यमशीलताका विभिन्न तालिमहरूसमेत प्रदान गरिने योजना रहेको छ ।

अन्त्यमा केही भन्नु छ कि ?
सर्वप्रथम त मलाई हाम्रो संस्थाले गरेको कार्यका बारेमा कुरा राख्ने अवसर दिनुभएकोमा धन्यवाद दिन चाहन्छु । महिला दिदीबहिनीहरू अहिले उद्यमी तथा व्यवसायी बनेको देख्दा खुसी लाग्छ । उहाँहरूको प्रगति देखेर आफूलाई आत्मसन्तुष्टि हुने गरेको छ । उहाँहरूको निरन्तर प्रगति हुँदै जाओस् भन्न चाहन्छु । अन्य महिला दिदीबहिनीहरूलाई पनि उद्यमशीलता तथा व्यवसायमा जोडिन आग्रह गर्छु । आफू आफ्नो खुट्टामा उभिनका लागि आफैंले नै गर्ने हो र गर्नुपर्छ । महिलाहरूलाई यस क्षेत्रमा आवश्यक पर्ने सहयोगका लागि मैले मेरो तर्फबाट हुन सक्ने सहयोग गर्न म सधैं नै तयार छु । अन्त्यमा समाज रूपान्तरण तथा परिवर्तनका लागि मैले आजसम्म सिकेको र जानेको कुरा तपाईंहरूलाई पनि भन्न चाहन्छु— ‘म विजेता हुँ, म नेतृत्व गर्न सक्छु, म जिम्मेवार मान्छे हुँ, म मेरो क्षमतामा विश्वास गर्छु, म मेरो लक्ष्य प्राप्त गर्न सक्षम छु, मेरो जन्म जित्नका लागि भएको हो, परिवर्तन र अवसरका लागि म सदैव तयार छु ।’ (एस आई क्यान) यी भनाइलाई तपाई –हामी सबैले सदैव आत्मसात् गरी कार्यान्वयनमा ल्याउन सक्यौं भने पक्कै पनि एउटा सफल नेतृत्व तथा व्यक्तित्व बन्न सकिनेछ । त्यसका लागि तपाईं हामी सबैले कोसिस गरौं ।

प्रतिक्रिया दिनुहोस्