सगरमाथाको अनेक नाम र कमाइ «

सगरमाथाको अनेक नाम र कमाइ

हो, निश्चय नै सगरमाथा हिमालले गत वर्षको जति आम्दानी गर्न सकेन । किनभने गत वर्षको वसन्त याममा कोरोना महामारीको बीचमै पनि विश्वको अग्लो हिमशिखर सगरमाथा अर्थात् चोमोलुङ्माबाट मात्रै नेपाल सरकारले विभिन्न देशका पर्वतारोहीहरूलाई अनुमति दिएबापत लिने गरेको सलामी दस्तुर ६६ करोड नेपाली रुपैयाँ पुगेको थियो । त्यसबाहेक नेपालका अन्य हिमालहरू आरोहण गर्न आएका विदेशी तथा स्वदेशी पर्वतारोहीहरूलाई अनुमति दिएबापत लिने गरेको सलामी दस्तुरबाट लगभग ७१ करोड नेपाली रुपैयाँबराबरको आम्दानी गरेको थियो ।
यसरी हेर्दा नेपालमा यो वर्षको वसन्त याममा चाहिँ सगरमाथा हिमाल आरोेहण गर्न आएका विदेशी पर्वतारोही तथा नेपाली पर्वतारोहीबाट नेपाल सरकारले ३९ करोड ५५ लाख नेपाली रुपैयाँबराबरको कमाइ गरेको छ । जुन कमाइ सगरमाथा हिमाल चढ्न चाहने पर्वतारोहीलाई अनुमतिपत्र जारी गरेबापत आम्दानी गरेको हो । हुन पनि यस पटक विभिन्न देशका ३ सय १६ जना पर्वतारोहीलाई सगरमाथा हिमाल आरोहण गर्नका लागि नेपाल सरकारले अनुमति दिएको छ । त्यसमध्ये ७३ जना महिला र २ सय ४३ जना पुरुष पर्वतारोही रहेका छन् । हुन त गत वर्ष नेपालको पर्वतारोहणकै इतिहासमा सगरमाथा अर्थात् चोमोलुङ्मा चढ्न विभिन्न देशका ३ सय ८२ जना पर्वतारोहीले सगरमाथा चढ्नका लागि अनुमति लिएका थिए । तर, औसत हेर्दा सो वर्ष एकदमै थोरै पर्वतारोहीले मात्रै सगरमाथा सफलतापूर्वक चढ्न सकेका थिए । स्मरणीय छ, गत वर्ष विश्वका विभिन्न देशका ४३ वटा आरोहण दलका ४ सय ८ जना आरोहीले सगरमाथा अर्थात् चोमोलुङ्मा चढ्ने प्रयास गरेका थिए । हुन त यस वर्ष ३ सय १६ जना पर्वतारोहीले सगरमाथा अर्थात् चोमोलुङ्मा चढ्ने प्रयास गर्दै छन् । साथै यो वर्षको सिजन भर्खर लाग्दै गरेकाले सबै पर्वतारोहीको प्रयास सफल होस् भन्ने कामना गरौं ।
अब लागौं सगरमाथा आरोहणको इतिहास र सगरमाथाको उचाइबारे केही चर्चा गर्नेतर्फा । ऊ बेला सगरमाथाको नाम ‘सगरमाथा’ अवथा ‘एभरेस्ट’ राखिनुअघि सगरमाथाका नामहरू अनेक अड्कल गरिएका थिए । जस्तै ‘देवढुंगो’, ‘भैरवनाथ’, ‘गौरीशंकर’, ‘चरी लमेनी’, ‘मितीगुती’, ‘चापोलुङमा’, ‘थर्ड–पोल’, ‘द गडेस मदर अफ द अर्थ’, ‘मदर गडेस अफ द स्काई’, ‘झोमोलुङमा’, ‘धरतीकी देवी’, ‘चोमो काङ्कार’, ‘चोमो लुुङ्मो’, ‘पिक एक्स भी, ‘१५ औं चुली’ लगायत डेढ दर्जनभन्दा बढी नामहरू अड्कल गरिएका थिए । तर, पछि गौरीशंकर, मेलुङत्सेलगायत अन्य हिमालहरू अलग्गै हुन् भन्ने पत्ता लागेपछि सगरमाथाको नाम ‘गौरीशंकर’ होइन भन्ने पक्का भयो । त्यसो त अझैँ पनि पर्वतारोहण क्षेत्रमा लागेका विभिन्न देशका पर्वतारोहीहरू र सगरमाथालगायत विश्वका विभिन्न हिमालबारे किताब लेख्ने, फिल्म बनाउने, डकुमेन्ट्री बनाउने, स्वदेशी तथा विदेशी लेखक, खोज तथा अनुसन्धानकर्ताहरू (धेरैजसो विदेशी लेखक) ले ‘चोमोलुङ्मा’ भनी लेखेको/बोलेको देखिन्छ । तर, धेरै पछि अर्थात् सन् १८५६ मा मात्रै बेलायती नागरिक जर्ज एभरेस्टको सम्मानमा ‘चोमोलुङ्मा’ को नयाँ नाम ‘माउन्ट एभरेस्ट’ राखिएको हो । स्मरणीय छ, त्यो बेला सर जर्ज एभरेस्ट आफ्नो सेवा अवधि सकेर बेलायतको इङ्ल्यान्डमा ‘रिटायर लाइफ’ बिताइरहेका थिए भने उनले सन् १८२३–१८४३ सम्म भारतको नाप–नक्सा विभाग (हेड अफ सर्भे) प्रमुख भएर काम गरेका थिए ।


(नोट : माथिका विभिन्न नाममध्ये केही नाम ‘टु द थर्ड पोल’ नामक पुस्तकबाट लिइएको हो । त्यस्तै ‘चोमोलुङ्मा’ को नयाँ नेपाली नाम ‘सगरमाथा’ चाहिँ ‘सगर’ आकाश र ‘माथा’ शिर टाउका भन्ने अर्थमा इतिहासकार बाबुराम आचार्यले राखेका हुन् भने कसैकसैले सगरमाथाको नयाँ नाम ‘नौ–बन्ध’/‘नौ–बन्धन’, ‘राधानाथ सिक्दर’/‘राधानाथ सिकन्धर’ राख्नुपर्ने भन्ने पनि आफ्नो भनाइ राख्ने गरेका छन् ।)

प्रतिक्रिया दिनुहोस्