ह्वावे डिजिटल नेपाल कन्क्लेभ आयोजना हुने «

ह्वावे डिजिटल नेपाल कन्क्लेभ आयोजना हुने


आइसिटी फाउण्डेशन नेपालको आयोजनामा असार पहिलो साता दुई दिने ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२२ हुने भएको छ ।
कन्क्लेभमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट ६० जना भन्दा बढी वक्ता र ७ सय विशिष्ट व्यक्ति तथा विज्ञहरुको सहभागी हुने बताइएको छ । डिजिटल रुपान्तरणको लागि डिजिटल नेपाल कन्क्लेभको नारा सहित आयोजना हुने कार्यक्रममा विभिन्न १५ महत्वपूर्ण सेसनहरु रहेका छन् ।
कार्यक्रममा डिजिटल नेपालको एजेण्डा र अवधारणामा बृहत छलफल हुने बताइएको छ । सरकारले रुपान्तरणकारी परियोजनाको रुपमा अघि बढाएको डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने उपायबारे कन्क्लेभ केन्द्रित रहने आयोजकको भनाइ छ ।
कार्यक्रममा डिजिटल नेपालको अभियान, डिजिटल रुपान्तरणको प्रयास, नविनतम प्रविधिहरु र यसका अभ्यासहरुसँगजोडेर सान्र्दभिक बहसहरु सञ्चालन गरिने आयोजक आइसिटी फाउण्डेशन नेपालका अध्यक्ष राजन लम्सालले बताए । कन्क्लेभमा युवाहरुको इन्नोभेटिभ आइडियालाई पनि स्थान दिइनेछ भने बिद्यार्थीका डिजिटल नेपाल सम्वन्धि क्रिएशनलाई पनि प्रस्तुतिको लागि समय प्रदान गरिने आयोजकले जनाएको छ ।
विभिन्न देशमा रहेर प्रविधिको क्षेत्रमा काम र अनुसन्धान गरिरहेका नेपालीलाई पनि कार्यक्रममा समावेश गरिनेछ । सरकारी तथा निजी क्षेत्रका महत्वपूर्ण डिजिटल नेपालको इस्कोसिस्टममा काम भइरहेका प्रोजेक्टहरुलाई पनि प्रदर्शनीमा राखिने आयोजकले जानकारी दिएको छ ।
डिजिटल नेपाल कन्क्लेभको प्रिमियरको रुपमा आयोजकले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रमसमेत आयोजना गरिरहेको छ । कोभिड १९ को कारण भएको पहिलो लकडाउनदेखि सुरु भएको ‘डिजिटल संवाद’, यस वर्ष तेस्रो संस्करणको रुपमा सातै प्रदेशमा ‘डिजिटल प्रदेश कार्यक्रम’को रुपमा आयोजना भएको हो ।
गण्डकी, लुम्बिनी, मधेस र प्रदेश १ मा आयोजना भइसकेको यस कार्यक्रम जेठ पहिलो साता बाँकी रहेका ३ प्रदेशमा आयोजना हुनेछ । कार्यक्रमबाट प्राप्त रिपोर्ट तथा प्रदेशको डिजिटल अवस्था र योजनाको बारेमा पनि कन्क्लेभमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्