मतदान गर्न गाउँ फर्किनेको संख्या बढ्दै «

मतदान गर्न गाउँ फर्किनेको संख्या बढ्दै

सुर्खेत-चर्चा परिचर्चा गर्दागर्दै स्थानीय तहको निर्वाचन मिति वैशाख ३० नजिकै आइपुगेको छ । अब मतदान गर्ने दिन आउन दुई एक दिनमात्र बाँकी छ । मतदान गर्ने दिन नजिकिँदै गर्दा सहरलाई अस्थायी थलो बनाएकाको गाउँ फर्कने लहर नै लागेको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट बाहिरिने यात्रुको पनि निकै चाप छ । सुर्खेतमै व्यवसाय, अध्ययन तथा कामको सिलसिलामा बस्नेहरू केही दिनलाई कामको चाँजोपाँजो मिलाएर आफ्नो स्थायी ठेगानामा फर्किरहेका छन् । अन्य प्रदेश तथा भारतबाट आउनेहरू पनि सुर्खेत भएर प्रदेशका अन्य जिल्ला फर्किनुपर्ने हुँदा हिजो आज वीरेन्द्रनगरको सिटी बसपार्कमा यात्रुहरूको निकै भीडभाड हुने गरेको छ ।
बुधबार बिहानै जहान परिवारसहित बस पार्कम भेटिए जुम्ला सिँजाका नन्द किशोर तिवारी । उनी विगत २० वर्षदेखि अधिकांश समय भारतको अलमुडामा बस्दै आएका छन् । उनी २०७४ को चुनावताका पनि भारतमै थिए । मत दिएर के नै हुन्छ र भन्ने सोचले मत हाल्न आएनन् । तर यस पटक मत हाल्ने उत्सुकता जाग्यो । जहान परिवार बटुलेर घर फर्किएका तिवारी मंगलबार रुपैडिया हुँदै सुर्खेत आइपुगेका थिए । “गाउँबाट फोन गरेर सबैले चुनाव आयो आउनुप¥यो भन्न थाले,” बसको टिकट हातमा लिएर बस छुट्ने समयको प्रतीक्षामा रहेका तिवारीले भने, “भोट हाल्यो भने केही विकास हुन्छ कि केही राम्रो हुन्छ कि भनेर केटाकेटी लिएर आयाको हुँ ।”
स्थानीय तह निर्वाचनमा घर परिवार, नाता–गोता र छरछिमेकबाट उम्मेदवार उठ्ने हुनाले पनि बाहिर बसेकालाई घर आउन करकाप नै गर्ने गरेका छन् । कतिपय उम्मेदवारले घर फर्किने टिकटको पनि प्रबन्ध गरिदिएका छन् । चौकुने गाउँपालिका सुर्खेतकी जर्मा विक पनि बुधबार बिहान बसपार्कमै भेटिइन् । गाउँबाट उम्मेदवारले पठाइदिने गाडीको पर्खाइमा थिइन् जर्मा । उनका गाउँका उम्मेदवारले घर फर्किनेहरूका लागि दैनिक एउटा जीपको निःशुल्क व्यवस्था गरिदिएका रहेछन् । उपचारका क्रममा सदरमुकाम आएकी जर्मा केही दिन अझै बस्नुपर्ने थियो । मत दिन गएर फर्किन उनलाई कम्तिमा पनि दुई हजार भाडा लाग्छ । तर थप उपचारका लागि मत दिएर फर्किने विचारमा उनी छन् । उम्मेदवारहरूले नै आउने जाने व्यवस्था गरिदिने भनेपछि उनलाई झन सजिलो भएको छ । “केही न केही नेताले सुविस्ता दिए भने खानेपानी, पढाइ लेखाइ,” उनले भनिन्, “जो राम्रो नेता भयो उसैलाई हालौँला भन्ने इच्छाअनुसार जान लाग्या छु ।”
यसपालिमात्रै बालिक मताधिकार प्राप्त गरेका युवाहरू पहिलो पटक मत हाल्न उत्साहका साथ घर फर्किंदैछन् । कालिकोट शुभकालिकाका शिवराज अधिकारी अध्ययनका सिलसिलामा काठमाडौंमा बस्छन् । उनको मत हाल्ने उमेर यस वर्षमात्रै पुगेको हो । झण्डै १८ घण्टा नाइट बस चढेर मंगलबार वीरेन्द्रनगर आइपुगेका अधिकारी पनि बुधबार बिहान घर फर्किने तयारीमा थिए । पहिलो पटक मतदान गर्न पाउँदा मत दिने उत्सुकताले उनलाई लामो यात्राको थकान महसुस छैन । सचेत युवाले मत दिएर शिक्षित, योग्य एवं सक्षम जनप्रतिनिधि चुनिनुपर्छ भन्ने उनको धारणा छ । त्यसैले आफूले पाएको अधिकार प्रयोग गरी मत हाल्न युवाहरू अनिवार्य आउनुपर्ने उनको भनाइ छ ।
अहिले घर फर्किनेहरू बढेपछि यातायात व्यवसायीको पनि मुहारमा कान्ति छाएको छ । क्षमताले भ्याएसम्म यात्रु पाएका छन् । भरिभराउ यात्रु पाएपछि सोचे अनुरुप कमाई पनि भएको छ । मध्यपश्चिम यातायात समितिमा कार्यरत गणेशकुमार विसी दुई÷तीनदेखि यात्रुहरूको अत्यधिक चाप रहेको बताउँछन् । नियमितभन्दा थप गाडीहरु सञ्चालन गरिएको उनले बताए ।
मत हाल्न गाउँ फर्किने लहर चलेसँंगै सहर बजार भने सुनसान बन्दै गएका छन् । मानिस तथा सवारीले खचाखच देखिने वीरेन्द्रनगरमा ह्वात्तै चाप घटेको छ । सडकमा कम सवारी गुडिरहेका छन् भने मानिसहरूको ओहोरदोहोर पनि कम भएको छ ।

प्रतिक्रिया दिनुहोस्