झन् खस्किए अर्थतन्त्रका सूचक «

झन् खस्किए अर्थतन्त्रका सूचक

शोधनान्तर स्थितिमा घाटा, विदेशी मुद्रा सञ्चितिमा दबाब कायमै, घट्यो रेमिट्यान्स आय, महँगी बढ्यो

सरकारले विभिन्न प्रयास गरे पनि अर्थतन्त्रका सूचकहरू झन् खस्किएका छन् । सरकारको कोसिसका बाबजुद चालू आर्थिक वर्षको नौ महिनामा आइपुग्दा अर्थतन्त्रका अधिकांश सूचकहरू सन्तोषजनक नभएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको छ । नेपालमा आउने भन्दा नेपालबाट बाहिर जाने रकम धेरै भएका कारण शोधनान्तर स्थिति ऐतिहासिक रुपमा घाटामा गएको छ । अघिल्लो आर्थिक वर्षको चैत मसान्तमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको थियो ।
साथै, चैत मसान्तमा चालू खाता ५ खर्ब १२ अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको नवौं महिनामा चालू खाता २ खर्ब १० अर्ब ५१ करोड रुपैयाँले घाटामा रहेको थियो । हाल विदेशी मुद्रा सञ्चिति घट्दो क्रममै रहेका तथा मूल्यवृद्धि तथा बढिरहेका कारण पनि अर्थतन्त्र चिन्ताजनक नै रहेको देखिन्छ । आयात कम गर्न राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा कडाइ गरेको थियो भने सरकारले १० वस्तुको आयात रोकेको थियो । तर, पनि आयातमा कमी आउन सकेको छैन । आर्थिक वर्ष २०७८-०७९ को नौ महिनामा कुल वस्तु आयात ३२ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार आयात ३२ प्रतिशतले बढेर १४ खर्ब ६६ अर्ब ६६ करोड रूपैयाँ पुगेको छ भने कुल वस्तु निर्यात ६९.४ प्रतिशतले वृद्धि भई १ खर्ब ६० अर्ब ५७ करोड रूपैयाँ पुगेको छ । जसका कारण चालू आवको नौ महिनामा कुल वस्तु व्यापार घाटा २८.५ प्रतिशतले वृद्धि भई १३ खर्ब ६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

विदेशी मुद्रा सञ्चितिमा दबाब कायमै
सरकारले आयात प्रतिबन्ध गर्दा पनि विदेशी मुद्रा सञ्चितिमा दबाब कायमै रहेको छ । चालू आर्थिक वर्षको फागुन महिनाको तुलनामा चैत महिनामा विदेशी मुद्राको सञ्चिति ३ अर्ब ८ करोड रुपैयाँले घटेको राष्ट्र बैंक ले जनाएको छ ।
फागुन मसान्तसम्म कुल विदेशी मुद्राको सञ्चिति ११ खर्ब ७१ अर्ब रुपैयाँ रहेकोमा चैत मसान्तसम्म आइपुग्दा ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा विदेशि मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षको ९ महिनामा १६.५ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।
अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ चैत मसान्तमा १८.२ प्रतिशतले कमी आई ९ अर्ब ६१ करोड कायम भएको पनि राष्ट्र बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ चैत मसान्तमा १७.९ प्रतिशतले कमी आई १० खर्ब २१ अर्ब ४५ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ चैत मसान्तमा ५.१ प्रतिशतले कमी आई १ खर्ब ४६ अर्ब ४८ करोड कायम भएको भन्दै राष्ट्र बैंकले २०७८ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको पनि जनाएको छ । आर्थिक वर्ष २०७८-०७९ को नवौं महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ।

घट्यो रेमिट्यान्स आय
चालू आर्थिक वर्षको चैत महिनामा रेमिट्यान्स आय ०.६ प्रतिशतले घटेको छ । तर, श्रम स्वीकृति लिनेको संख्यामा भने उल्लेख्य रुपमा वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०७८-०७९ को ९ महिना (साउनदेखि चैतसम्म)को अवधिमा रेमिट्यान्स आय ०.६ प्रतिशतले घटेको हो ।
राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्ममा रेमिट्यान्स आय १६.५ प्रतिशतले बढेको थियो । चालू आवको चैत मसान्तसम्म ७ खर्ब २४ अर्ब ७४ करोड रेमिट्यान्स आय भएको राष्ट्र बैंकले जनायो । चैत महिनामा मात्रै ९३ अर्ब बराबर रेमिट्यान्स भित्रिएको छ ।
तर चैत मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या भने उल्लेख्य रुपमा बढेको छ । केन्द्रीय बैंकका अनुसार नौ महिनाको अवधिमा २ लाख ५६ हजार ३१ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्ममा श्रम स्वीकृति लिनेको संख्या ७४.९ प्रतिशतले घटेको थियो ।
यस्तै, पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि १९९.९ प्रतिशतले बढेर २ लाख ६ हजार ६२९ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

ब्याजदर बढ्यो
बैंकमा लगानीयोग्य रकम नभएकै कारण बैंकहरू अहिले ब्याज बढाउन बाध्य भएका छन् । जसका कारण नौ महिनामा वाणिज्य बैंकहरूले निक्षेपको ब्याज ४८ प्रतिशतले बढाएका छन् । २०७८ चैतमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ७.११ प्रतिशत रहेकोमा २०७७ चैतमा र कर्जाको भारित औसत ब्याजदर १०.७८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरू क्रमशः ४.७९ प्रतिशत र ८.६१ प्रतिशत रहेका थिए ।
निक्षेपको ब्याज बढेसँगै बैंकहरूको कर्जाको ब्याज पनि २५.२० प्रतिशतले बढेको देखिन्छ । चालू आवको चैतसम्म कुल १०.७८ प्रतिशत रहेको बैंकहरूको ब्याज गत आर्थिक वर्षको चैतमा ८.६१ प्रतिशत थियो । बैंकहरूको आधार दर पनि ३२.८९ प्रतिशतले बढेको छ । वाणिज्य बैंकहरूको औसत आधार दर २०७७ चैतमा ६.९० प्रतिशत रहेकोमा २०७८ चैतमा ९.१७ प्रतिशत कायम भएको छ । तर, बैंकहरूले अधिकांश कर्जा घरजग्गामा प्रवाह गरेको केन्द्रीय बैंकले जनाएको छ । बैंकहरूले घरजग्गा क्षेत्रमा ६६.९ प्रतिशत लगानी गरेका राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
२०७८ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६६.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७७ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.९ प्रतिशत र १२.३ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्