बढ्यो बजार भाउ «

बढ्यो बजार भाउ


चालू आर्थिक वर्षमा महँगी सरकारको नियन्त्रणभन्दा बाहिर गएको छ । सरकारले बजेटमा ७ प्रतिशतभित्रै राख्ने प्रक्षेपण गरेको महँगी पछिल्लो समय रुस–युक्रेनको युद्धलगायत कारणले बढ्न थालेको हो ।
०७८ चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको चैत मसान्तमा मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नवौं महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ । साथै, चैत मसान्तसममको औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको पनि केन्द्रीय बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकमा आउने मुद्रास्फीतिभन्दा बजारमा अनुभूत गरिने मुद्रास्फीति बढी रहने अनुभव भएका कारण वास्तविक मुद्रास्फीति झन् बढी रहेको उपभोक्ताको गुनासो छ ।
२०७७ चैत महिनाको तुलनामा २०७८ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत रहेको छ । साथै, गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मुद्रास्फीति क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत रहेको छ ।
चैत महिनामा हिमाली क्षेत्रमा सबैभन्दा बढी भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार चैत महिनामा काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ चैतमा यी क्षेत्रहरुमा क्रमशः ३.२४ प्रतिशत, २.९२ प्रतिशत, ३.३८ प्रतिशत र १.५४ प्रतिशत मुद्रास्फीति रहेको थियो । यसैगरी २०७८ चैत महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १४.४२ प्रतिशत रहेको पनि राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको चैत महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१४ प्रतिशत रहेको थियो ।
साथै, चैत महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १७.०७ प्रतिशत, १४.१३ प्रतिशत र ७.२२ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षको नवौं महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२२ प्रतिशत रहेको छ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीको मूल्यवृद्धि लगायत कारण देखाई सबै निर्माण कार्य बन्द गरेर आन्दोलनमा उत्रिएको छ ।
साथै, २०७८ चैत महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकांक ८.५२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको चैतमा उक्त सूचकांक १.८९ प्रतिशतले बढेको थियो । चैत महिनामा तलब सूचकांक र ज्यालादर सूचकांक क्रमशः ९.४४ प्रतिशत र ८.२७ प्रतिशतले बढेको छ ।
यसैगरी २०७८ चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ७.२८ प्रतिशत र सन् २०२२ मार्चमा भारतमा ६.९५ प्रतिशत रहेको छ । नेपालले भारतबाट वस्तुमात्र आयात गर्र्दैन, मूल्यवृद्धि पनि आयात गर्छ । जसका कारण भारतमा बढेको मूल्यवृद्धिको नकारात्मक असर नेपालमा पनि पर्दछ ।

प्रतिक्रिया दिनुहोस्