प्रदेशका भीआइपीको सुरक्षामा ५ हजार ३ सय प्रहरी

प्रदेश सरकार र प्रादेशिक संसद मातहतका विशिष्ठ व्यक्तिको सुरक्षामा नेपाल प्रहरीका ५ हजार ३ सय जनशक्ति खटिने भएका छन् ।
नेपाल प्रहरीले गृह मन्त्रालयमा बुझाएको ‘प्रादेशिक भीआइपी सुरक्षा निर्देशिका’को मस्यौदा अनुसार ७ वटा प्रदेशका लगि हरेक प्रदेशमा एसपीको कमान्ड रहने गरी ५ हजार ३ सय अधिकृत तथा जवान खटाउनु पर्ने उल्लेख छ ।
यो जनशक्ति प्रहरी प्रधान कार्यालय सुरक्षा निर्देशनालय अन्तर्गत खटिएका जनशक्ति बाहेक हो ।
प्रस्तावित निर्देशिका अनुसार प्रदेश प्रमुख (गभर्नर), मूख्यमन्त्री, सभामुख, उच्च अदालतका मूख्य न्यायधीश, प्रदेशमन्त्री, सांसद, प्रदेशका प्रमुख सचिव, सचिव तथा प्रदेश खतरा मूल्यांकन समितिले सिफारिस गरेका व्यक्तिलाई प्रहरीका अंगरक्षक सहित निवास, कार्यालय, समारोहस्थल, आवागमन स्थल, भ्रमणमार्ग र स्कर्टिङमा सुरक्षाकर्मी खटाउनु पर्ने उल्लेख छ ।
प्रदेशका भीआइपी सुरक्षामा खटिने जनशक्ति प्रदेश प्रहरी मुख्यालय अन्तर्गत सुरक्षा महाशाखा गठन गरेर जनशक्ति व्यवस्थापन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।