Logo

जुम्लामा डाक्टरी पढ्न थप १० सिट निर्धारण


जुम्ला-चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि १० वटा सिट थपेको छ आयोगले आगामी शैक्षिक सत्रका लागि स्नातक तहको पठनपाठन सञ्चालन गर्न विश्वविद्यालय, प्रतिष्ठान र मेडिकल कलेजको थप सिट निर्धारण गरेसंँगै कर्णाली प्रतिष्ठानमा डाक्टरी पढाइका लागि १० वटा सिट थप गरिएको हो ।
गत वर्ष २६ मंसिर २०७८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच एमबीबीएस लगायत बी–फर्ममा, बीएनएस, बीएमएस, बीपीएचलगायतका शैक्षिक कार्यक्रमको औपचारिक शुभारम्भ गरेकी थिइन् । गत वर्ष एमबीबीएस अध्यापनका लागि २० सिटको अनुमति पाएको कर्णाली प्रतिष्ठानले यो वर्ष थप १० सिटसहित प्रतिष्ठानले ३० जना विद्यार्थीलाई जुम्लामै डाक्टरी पढाउने प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले बताए ।
उनले भने, “अघिल्लो वर्षमा २० सिटको एमबीबीएसमा देशभबाटै विद्यार्थी भर्ना लिने आयोगको निर्णयले कर्णालीका विद्यार्थी समेटिन सकेनन् । कर्णालीका लागि निश्चित कोटा छुटाउनु पर्ने माग यथावत नै थियो । अहिले थप भएको १० सिटमा कर्णालीका छोराछोरीले डाक्टर पढ्न पाउने अपेक्षा छ ।”
फ्याकल्टी संख्या (प्राध्यापक), पूर्वाधार, अस्पतालको सेवा, बिरामीको चापलगायत मापदण्डका आधारमा सिट निर्धारण गरिने व्यवस्थाअनुसार जुम्लामा एमबीबीएसको १० सिट थपिएको उपकुलपति रावलको भनाइ छ ।
कर्णाली प्रतिष्ठान स्थापनाले कर्णालीका बिरामीलाई महँंगो खर्चमा जहाज चार्टर्ड गरेर सुर्खेत, नेपालगन्ज, काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गरेको छ । तर चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि कर्णाली प्रतिष्ठानलाई ३० सिटको अनुमति दिँदा कर्णालीमै डाक्टरी पढाइको बाटो खुलेको हो ।
हाल प्रतिष्ठानले संचालन गरेको शैक्षिक कार्यक्रममा बी फर्ममा २० कोटा निर्धारण भएकोमा ११ जना, बीएनएसतर्फ १६ जना, बीएमएसतर्फ ८ र बीपीएचतर्फ ६ जना विद्यार्थी भर्ना भई अध्ययन गरिरहेका छन् भने, एमबीबीएसका लागि थप गरिएको १० कोटाका विद्यार्थीको भर्ना प्रक्रिया सुरु गरिने छ ।

प्रतिक्रिया दिनुहोस्