अतिक्रमण हटाएपछि व्यवस्थित बन्यो नाग्म बजार «

अतिक्रमण हटाएपछि व्यवस्थित बन्यो नाग्म बजार

जुम्ला-तीन जिल्ला जोड्ने सीमावर्ती क्षेत्र नाग्म बजार व्यवस्थित, चिटिक्क एवं फराकिलो बनेको छ । सडक अतिक्रमण हटाएपछि कालिकोट, जुम्ला र मुगु जोड्ने सीमावर्ती क्षेत्र नाग्म बजार व्यवस्थित बनेको हो ।
साँघुरो सडक र सयौ सवारीको चापले नाग्म बजार दुर्घटनाको उच्च जोखिममा थियो । कर्णाली राजमार्गको सडक अतिक्रमण गरी व्यापारीले व्यक्तिगत प्रयोजनका लागि सडक मासेका थिए भने साँघुरो सडक र बढ्दो बजारीकरणले नाग्मको सौन्दर्यता पनि जोखिममा थियो ।
सडक डिभिजन जुम्लाले अतिक्रमण हटाएपछि अहिले नाग्म बजार कर्णाली राजमार्गमा रहेका दर्जनौ बजारमध्येकै व्यवस्थित, सुन्दर र फराकिलो बनेको छ । राजमार्गको मापदण्डअनुसार नाला छोडेर १४ मिटर चौडा सडक निर्माण भएको छ ।
सडक डिभिजन जुम्लाका इन्जिनियर राजु पौडेलले भने, “नाग्म बजारजस्तै राजमार्गको सबै क्षेत्रमा अतिक्रमण हटाई व्यवस्थित बजार र फराकिलो सडक बनाउने योजना छ । अतिक्रमण हटाएसँगै नाग्मा बजारमा दुई लेनको सडक निर्माण गरी कालोपत्रेसमेत भएको छ ।”
बजार क्षेत्रको २५० मिटर सडक कालोपत्रे गरिएको छ भने भ्याटसहित ७६ लाख ९५ हजार १ सय ५२ रुपैयाँ लगानीमा २५० मिटर कालोपत्रे, फुटपाथ, नाली निर्माण र सडक मार्किङसमेत गरिएको इन्जिनियर पौडेलले जानकारी दिए ।
व्यापारिक हिसाबले नाग्म बजार निकै व्यस्त र भीड हुने भएकोले समय सापेक्ष स्तरवृद्दिको काम स्वागतयोग्य रहेको नागरिक अगुवा राजबहादुर महतले बताए । उनका अनुसार नाग्म बजारको अतिक्रमण हटाउन सडक डिभिजन जुम्लाको महत्वपूर्ण योगदान रहेको छ ।
अतिक्रमण हटाउन छुट्टै बजेट अभाव
जुम्लामा पहिलो चरणको सडक अतिक्रमण हटाउने काम सकिएको सडक डिभिजन जुम्लाले जनाएको छ । पहिलो चरणमा कर्णाली राजमार्गको जुम्ला खण्डको तातोपानी र सदरमुकाम क्षेत्रमा अतिक्रमण हटाएको हो ।
जसअन्तर्गत सदरमुकाम क्षेत्रमा स्थानीयले अटेरी गरेपछि सडक डिभिजनले बल प्रयोग गरेर पक्की, कच्चि गरी २४ वटा संचरना भत्काइएको थियो । तर तातोपानी क्षेत्रमा अतिक्रमण हटाउन १५ दिने सूचना जारी गर्दा स्थानीयले आफ हटाएको सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताए । सडक अतिक्रमण गरी बनाइएका तातोपानीका करिब २८ वटा संरचना स्थानीय आफैले हटाएका छन् ।
प्रमुख श्रेष्ठले भने, “अतिक्रमण हटाउन छुट्टै बजेट नहुँदा समस्या भएको छ । धेरै ठाउँको अतिक्रमण हटाउन बाँकी छ । तर बजेट छैन । संरचना भत्काउँदा इन्धन खर्च, किताकाट गर्न नक्सा हेर्न नापीका कर्मचारीको खर्च व्यवस्थापन गर्न मुस्किल छ । कार्यालयको आन्तरिक खर्चले अतिक्रमण हटाउन सम्भव छैन ।” दोस्रो चरणको अतिक्रमण हटाउने कार्य पनि चाडै सुरु हुनेछ ।
अतिक्रमण हटाइएको क्षेत्रमा छेउमा स्टिलको क्रस ब्यारिएर राखिने छ भने एकतर्फी नाला तथा फुटपाथ निर्माण गरिने भएको छ । सडकलाई सुन्दर, फराकिलो बनाउन सक्ने सम्भावना भए पनि अतिक्रमण हटाउने बजेट नहुँदा समस्या छ । आन्तरिक खर्चले धान्ने अवस्था छैन । बजेट माग गरेका छौ । तातोपानी क्षेत्रलाई पनि नाग्म बजारजस्तै चिटिक्क बनाउने योजना छ ।

प्रतिक्रिया दिनुहोस्