सगरमाथा आरोहणको आकर्षण र योगदान «

सगरमाथा आरोहणको आकर्षण र योगदान

विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण संसारका सबै आरोहीहरूको सपना हो । उत्तरी तथा दक्षिणी गोलाद्र्धपछि तेस्रो गोलाद्र्ध मानिने विश्वको सर्वोच्च शिखर सगरमाथा संसारका आरोहीहरूको सपनामात्र नभएर एउटा चुनौती हो । त्यसैले हरेक वर्ष नेपालमा आउने आरोहीहरूको पहिलो रोजाइ सगरमाथा हुने गर्छ । सबै आरोहीका सपना पूरा हुँदैनन् । तर, केही यस्ता आरोही पनि छन्, जसले लगातार सगरमाथालाई नै चुनौती दिइरहन्छन् । यस्तै आरोही हुन् , कामीरिता शेर्पा । उनी एकपछि अर्को गर्दै आफ्नै विश्व कीर्तिमान तोड्दै गइरहेका छुन् । एकपटक सगरमाथाको चुचुरो चुम्न पाउनु गर्वको विषय हो । तर, उनी बारम्बार सगरमाथाको चुचुरो चुम्छन् र संसारलाई असम्भव केही पनि छैन भन्ने सन्देश दिइ नै रहन्छन् । यस पटकको सिजनको सुरुमा नै कामीरिता शेर्पासहितको ११ जनाको टोलीले सगरमाथामा रोप फिक्सिङ (डोरी टाँग्ने) गरी बाटो बनाउँदै शनिबार पहिलो आरोहण गरेको थियो । आरोही शेर्पासहितको ११ जना शेर्पाको टोली सगरमाथाको चुचुरोमा पुग्दा कामीरिताले २६ औं पटक सगरमाथाको सफल आरोहण गरेका हुन् । यसअघि पनि कामीरिता शेर्पाले २०७८ वैशाख २४ गते २५ औं पटक सफल आरोहण गरेर सबैभन्दा बढी पटक सगरमाथा आरोहणको कीर्तिमान राखेका थिए । तर, शनिबार उनले आफ्नो पूर्व कीर्तिमान तोड्दै २६ औं पटक सगरमाथाको चुचुरो चुमे । यसरी पटक–पटक कीर्तिमान राख्दै उनले नेपाल तथा नेपालीका लागि गर्वका साथसाथै एउटा सन्देश पनि दिएका छन् । दर्बिलो इच्छाशक्ति तथा खतरासँग खेल्न सक्ने आँटका कारण उनले संसारमा असम्भव भन्ने केही छैन भन्ने सन्देश दिँदै गर्दा नेपालमा भने उनको योगदानको चर्चा त्यति सुनिएन । केहीले सगरमाथा आरोहण उनको पेसा हो भन्लान् तर पेसागत रूपमा नै पनि कति नेपालीले आफ्नो पेसाको सगरमाथा चुमेका छन्, त्यो महत्वपुर्ण र्कुरा हो । नेपालमा कुनै पनि पेसामा पेसागत निष्ठा भएका औंलामा गन्न सक्ने मात्र भेटिन्छन् । त्यसैले पनि कामीरिता शेर्पा पेसागत निष्ठाका पनि एउटा प्रतीक हुन् । भर्खर सुरु भएको सिजनको सुरुमा नै उनले कीर्तिमान राखेर विश्वलाई नै चकित पारिदिएका छन् । त्यसैले सरकारले उनको यो योगदानको कदर गर्नु आवश्यक छ ।
कोरोना कहरपछि उत्साहजनक रूपमा बढेको पर्वतारोहण पर्यटनका कारण नेपालको अर्थतन्त्रमा गति ल्याउने अनुमान गरिएको छ । करिब दुई वर्ष निष्क्रिय रहेका पर्यटन व्यवसायी तथा श्रमिकहरू पनि यसबाट उत्साहित छन् । किनकि चालू सिजनमा सगरमाथा आरोहणका लागि अनुमति लिएका आरोहीहरू आरोहण अभ्यास पूरा गरेर सगरमाथाको शिखर चुम्न अनुकूल मौसमको पर्खाइमा छन् । सबै आरोही टोली बेसक्याम्पमा अनुकूल मौसमको पर्खाइमा रहेका कारण आगामी साता सगरमाथा आरोहीहरूले शिखर चुम्ने आकलन गर्न सकिन्छ । किनकि आरोहण अनुमति लिएका आरोही टोली सबै बेसक्याम्प पुगिसकेको छन् । त्यसैले धेरैजसो आरोहण टोलीले वैशाख २८ देखि जेठ ४ गतेसम्ममा आरोहण गर्ने अनुमान छ । यसरी अनुकूल मौसमको पर्खाइमा रहेका करिब ३ सय आरोही सगरमाथाको बेसक्याम्पमा रहेका छन् । सगरमाथा बेसक्याम्पमा आरोहण टोली, आरोहण दलका सहयोगी सबै गरेर करिब १५ सयको हाराहारीमा भेला हुनु पनि चालू सिजनमा उत्साहजनक नै हो । आइतबारसम्ममा ५८ देशका ७३ महिला र २ सय ४४ पुरुष गरी ३ सय १७ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन्, जसमा सबैभन्दा धेरै अमेरिकी नागरिक ६५, त्यसपछि बेलायती ३४, भारतीय २३, नेपाली २१, फ्रन्सेली १३, क्यानेडियन १७ जना छन् । यसरी सगरमाथा आरोहण बढ्दा सरकारालाई पनि राजस्व आम्दानी बढ्छ। किनकि सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ भने नेपालीले प्रतिव्यक्ति ७५ हजार नेपाली रुपैयाँ रोयल्टी तिर्नुपर्छ । त्यसैले चालू आर्थिक वर्षमा रोयल्टी आय पनि बढ्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्