Logo

वीरगन्जमा दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा

वीरगन्ज-स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि शुरु हुनुअघि मुख्य प्रतिस्पर्धामा रहेका राजनीतिक दलहरुप्रति आरोप प्रत्यारोप शुरु भएको छ । मधेस प्रदेशको एक मात्रै महानगरपालिका वीरगन्जमा नेकपा एमाले र लोसपाको गठबन्धन तथा पाँचदलीय गठबन्धनबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।
उनीहरु एकअर्काप्रति आरोप प्रत्यारोपमा उत्रिएका छन् । वीरगन्ज महानगरपालिकाको निवर्तमान नगर प्रमुख विजय कुमार सरावगी एमालेमा प्रवेश गरेर पुनः मेयरमा दोहोरिएका छन् । यसअघिको निर्वाचनमा सरावगीसँगै प्रतिस्पर्धामा तेश्रो नम्बरमा रहेका राजेशमान सिंह यसपटक जसपाबाट नगर प्रमुखको उम्मेदवार बनेका छन् । उनलाई पाँचदलीय गठबन्धनको समर्थन छ । भने, सरावगी नेकपा एमाले र लोकतान्त्रीक समाजवादी पार्टीको गठबन्धनले साथ दिएको छ ।
निर्वाचनमा स्वस्थ प्रतिस्पर्धामा निर्वाचनमा भाग लिनुभन्दा आचार संहिताको व्यापक उल्लंघन गर्दै चुनावी प्रचार प्रसारमा लागेका नेता कार्यकर्ताहरुबीच बेला बेलामा तनाव उत्पन्न भएको छ । पर्साको बहुदरामाई नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखका उम्मेदवार नितेत्द्र साहले पैसा बाँड्न गएको भन्दै नेकपा एमालेका कार्यकर्ताहरुले प्रतिवाद गरेका थिए । नेकपा एमालेका नगर प्रमुखका उम्मेदवार शिव पटेलले बहादुरामाई नगरपालिकामा पैसाले मतदाता किनेर मत प्रभावित गर्न खोजको आरोप लगाएका छन् । उनले पत्रकार सम्मेलन नै गरेर चारदिनसम्म व्यापक निगरानी गर्न निर्वाचन आयोग तथा मतदाताहरुलाई पनि आग्रह गरेका छन् ।
सोमबार राति वीरगन्ज महानगरपालिकाका नेकपा एमालेका तर्फबाट नगर प्रमुखका उम्मेदवार विजय कुमार सरावगी वडा नम्बर १६ मा मतदाताको घरमा पुग्दा जसपाका नेता कार्यकर्ताहरुले पैसा बाड्न आएको भन्दै विजय कुमार सरावगीलाई दुव्र्यवहार गरेका थिए । नगवाका स्थानीय कांग्रेस नेता विनोद चौरसियाको घरमा सोमबार राति पुगेका एमालेका नगर प्रमुखका उम्मेदवार विजय कुमार सरावगीलाई जसपाका नेता कार्यकर्ताहरुले चौरसियाको घरमै घेरा हालेका थिए । जसपाका कार्यकर्ताहरुले सरावगीलाई घरमा बस्न दिएको भन्दै चौरसियाको समेत विरोध गरेका थिए । सरावगीलाई सुरक्षाकर्मीको सहयोगमा मंगलबार बिहान साढे तीन बजे उद्दार गरेर उनको घर पु¥याएको पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए ।
सरावगीमाथि भएको दुव्र्यवाहरको नेकपा एमालेले आपत्ति जनाएको छ । पार्टीले विज्ञप्ति नै निकालेर मतदाताको घरमा जाँदा आक्रमण गर्न खोज्नेलाई कारवाही गर्न माग समेत गरेको छ । यता पाँचदलीय गठबन्धनले भने सरावगीले पैसा लिएर मतदाताहरुलाई प्रभावमा पार्न खोजेको भन्दै त्यसको विरोध गरेका छन् ।
पाँचदलीय गठबन्धनले लगाएको आरोपमा भने कुनै सत्यता नभएको सरावगी पक्षको दावी छ । सरावगीको उद्दारका लागि गएको प्रहरीले उनी बसेको घरमा खानतलासी गर्दा केहीपनि फेला नपारेको पर्साका प्रहरी उपरीक्षक बस्नेतले बताए । घटनाको जानकारी पाएपछि प्रहरी मध्यराति साढे १२ बजे घटनास्थलमा पुगेको र भीडलाई संयमित बनाएर झण्डै अढाइ घण्टापछि मात्रै सरावगीलाई त्यहाँबाट निकालेर सुरक्षित साथ घर पठाएको बस्नेतले बताए ।
निर्वाचनको बेलामा संयमता अपनाउनुपर्ने भएकोले पनि कुनै अप्रिय घटना नहोस भनेर सुरक्षाकर्मीहरुले भीडलाई साम्य पारेर सरावगीलाई सुरक्षित साथ निवाससम्म पु-याएको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटरका प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले बताए । पाँचदलीय गठबन्धन र एमाले लोसपा गठबन्धनले वीरगन्ज महानगरपालिकालाई राजनीतिक प्रतिष्ठाको विषय बनाएका छन् ।
वीरगन्ज महानगरपालिकामा एमालेबाट विजय कुमार सरावगी मेयरमा र उपमेयरमा लोसपाका पुरुषोत्तमलाल झा उम्मेदवार छन् भने पाँचदलीय गठबन्धनबाट जसपाका राजेशमान सिंह मेयरमा र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम उम्मेदवार रहेका छन् । राप्रपाबाट पत्रकार गिरीश गिरी मेयरमा र उपमेयरमा विना जयसवाल उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्