बैंकिङ कसुरका दोषीलाई अदालतमा पेश
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई झण्डै ३७ लाख रुपैयाँ जरिवाना तोकिएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बैंकिङ कसुरमा काठमाडौं महानगरपालिका– ८ का ५० वर्षीय रामसुन्दर डङ्गोललाई पक्राउ गरेको हो । उनले वि. सं २०७७ मा कैलाश विकास बैंकमा रहेको बैंक खाताबाट रकम भुक्तान हुने भनी चेक दिएका थिए ।
उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको उनीविरुद्ध मुद्दा परेको थियो । बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा उच्च अदालत पाटनको ४ वैशाखको फैसलाले डंगोललाई ७ दिन कैद र ३६ लाख ७५ हजार रुपैयाँ जरिवाना हुने ठहर गरेकोको थियो ।
फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा सोमबार काठमाडौंको पिंगलास्थानबाट पक्राउ गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक कलम थापाले जानकारी दिए ।