ट्राफिक व्यवस्थापनमा स्थानीय सरकार «

ट्राफिक व्यवस्थापनमा स्थानीय सरकार

दैनिकजसो विभिन्न ठाउँमा दुुई पाङ्ग्रे वा चार पाङ्ग्रे सवारी साधनले किचेर मानिसहरू मरेको सुन्ने र देख्ने गरिएको छ । घटना प्रहरी समाचारमा आउँछ र जान्छ । निर्दोष मानिसको व्यर्थमै ज्यान गएको घटनामा राज्य र समाजको कुनै संवेदनशीलता देखिंदैन । नेपाल प्रहरीको तथ्यांकअनुुसार औसत दैनिक ५ जनाको सडक र सवारी दुर्घटनामा मृत्यु हुने गरेको छ । अधिकांशतः दुर्घटना र क्षतिको कारण सवारी चालकबाट हुने ट्राफिक नियम उल्लंघन हुन् । नियम उल्लंघनकर्ताबाट ज्यान जोगाउन अन्य चालक र पैदलयात्री आफैं सतर्क भएका कारण क्षतिको मात्रा कम भएको हो ।
दुर्घटना रोक्ने र दुुर्घटना भए पनि क्षति कम गर्ने सबैभन्दा भरपर्दो उपाय गति सीमाको पालना हो । सडक विभागले सडकको चौडाइ, सडक पेटी भए-नभएको अवस्था, मानव बस्ती रहे÷नरहेको, बजार स्कुल रहे÷नरहेको आधारमा १५ किमि देखि ६० किमि प्रतिघन्टा गति सीमा तोकेको छ । विकसित मुलुकमा सामान्यतया राजमार्गमा गति सीमा ११० किमि तोकिएको हुन्छ । विश्वमा अधिकतम गति अनुमति दिइएको ठाउँ बुल्गेरिया र पोल्यान्डका केही सडक हुन् । त्यहाँ गति सीमा १४० किमि छ । त्यस्तै, अमेरिकाको टेक्सासको एउटा ६४ किमि लामो सडकमा १३७ किमि गति सीमा दिइएको छ ।
विकसित देशमा पनि सबै सडकमा उच्च गति सीमाको सुविधा हुँदैन । बजार र बस्तीमा गति कम राखिएको हुन्छ । सबै सडकमा सडक पेटीको व्यवस्था हुँदैन । सहरी क्षेत्रमा सडक पेटी हुन्छ भने ग्रामीण क्षेत्रमा सडक पेटी हुँदैनन् । सडकलाई सुरक्षित र सबैले समान अधिकार उपयोग गर्न सक्ने बनाइएका हुन्छन् । यसका लागि पूर्वाधार, गति सीमा र ट्राफिक नियमको समुचित प्रयोग गरिन्छ ।
नेपालमा एउटै लेनमा साइकल, मोटरसाइकल, ट्याक्टर, कार, बस गुड्ने हुँदा उच्च गति सीमा कायम गर्न सक्ने अवस्था छैन । कोटेश्वर सूूर्य विनायक तीन÷तीन लेनको एकतर्फी सडक र सडक पेटी छुट्दै छ । त्यहाँ ६० किमिको गति सीमा तोकिएको छ । तर दुुई तर्फी गरेर दुुई लेन मात्र भएका सडकमा समेत ६० को सीमा नाघेर व्यस्त समयमा सवारी हाँकेको जही“तही“ देखिन्छ । उनीहरूबाट डराएर अरूले बाटो खाली गरिदिन्छन् । नत्र उनीहरूका कारण अहिलेभन्दा कयौं गुणा बढी दुर्घटना हुन्थे ।
स्कुल पढ्ने ससाना विद्यार्थीहरूलाई सडक नियमबारे राम्रो ज्ञान छ तर उनीहरू सडकमा एक्लै यात्रा गर्न सक्दैनन् । चालकहरू जेब्रा क्रसिङमा गाडी रोक्दैनन् । गाडीहरूले चर्को हर्न बजाउँदा सानाी नानीहरू तर्सिन्छन् । सडकमा गाडी तीव्र गतिमा आउने हुँदा खाली सडकबाट पनि बाटो काट्न सक्दैनन् । खाली बाटो काट्दा काट्दै निकै परको गाडी आइपुुग्छ तर ब्रेक लगाउँदैन । ज्येष्ठ नागरिक, अशक्तहरूका लागि पनि सडक त्यस्तै प्रतिकूल रहेको छ । बस्ती बीचका साना सडक, ग्रामीण सडक, टोलका सडकहरूमा पहिलो प्राथमिकता पैदलयात्रीको हो । तर सबै सडकमा चर्को हर्न बजाएर बाटो खाली गराउँदै कुदाउनेको राज देखिन्छ ।
गति सीमा व्यावहारिक र वैज्ञानिक नभए सच्याउनुपर्दछ तर भएको सीमा कडाइका साथ कार्यान्वयन गर्नुपर्दछ । गति सीमा उल्लंघनले दुर्घटना भई धनजनको क्षति भएको मात्र होइन, मानव अधिकारको गम्भीर उल्लंघन गरेको छ । नियम पालना गरेर सवारी चलाउनेहरू अन्यायमा परेका छन् । बालबालिका, ज्येष्ठ नागरिक, अशक्त र अपांग अरूको सहारा नलिई सडक छेउबाट हिंड्न पाएका छैनन् । उनीहरूलाई सहारा दिनुपर्दा अर्को सक्रिय उमेर समूहको व्यक्तिको समय त्यत्तिकै बर्बाद भइरहेको छ ।
विकासको नाममा देशभर समथर स्थानमा सडक सञ्जाल बिछ्याइएको छ । तीव्र गतिमा गाडी गुुडाइएका कारण ती सडक धुलाम्य भएर वरिपरि निवासी, बटुवा, अन्य सवारी साधनभित्रका यात्री पीडित बन्ने गरेका छन् । भित्री सडक, गाउँटोलमा अभिभावकले बच्चाबच्ची निर्धक्क छोड्न सक्दैनन् । त्यस्ता सडक छेउछाउ पनि केटाकेटी खेल्न र हिंडडुल गर्न नसक्ने अवस्था भएपछि अभिभावकले अनावश्यकमा समय खर्च गर्नुपरेको छ । तीव्र गतिमा कुद्नेहरूले बाटो खाली गराउन चर्को र लामो हर्न बजाउने हुँदा भित्री बस्तीसम्म ध्वनि प्रदूषण व्याप्त छ ।
निजी कार र मोटरसाइकलको संख्या टोल टोलमा बढेको छ । घर निर्माण गर्ने क्रम देशभरि नै बढेको हुनाले टोलटोलमा नदीजन्य निर्माण सामग्री ढुवानी गर्ने ट्रिपर र ट्रक तीव्र गतिमा कुद्ने गर्दछन् । सडकको क्षमताभन्दा बढी भार बोक्ने र तीव्र गतिमा कुदाउने हुँदा सडक भत्कने र खाल्डाखुल्डी पर्ने गरेका छन् । टाढैबाट ट्रिपर आएको देखेपछि बाटो छोडेर भाग्नुपर्ने तथा साना सवारी साधनहरू साइड लगाएर रोकिनुपर्ने अवस्था छ ।
दुुई पाङ्ग्रेदेखि चार पाङ्गे्रसम्म दादागिरी देखाएर चलाउनेहरूलाई कारबाही गर्नैपर्दछ । यसबाट सडक सुरक्षित, समाज सभ्य, ध्वनि र वायु प्रदूषण नियन्त्रण हुन्छ । ट्राफिक प्रहरीले मात्र कारबाही गरेर गति सीमा पालना गराउन सकिंदैन । यसमा ७५३ स्थानीय तहले पहल कदमी लिनुपर्दछ । चेतनाको अभावमा पनि गति सीमा उल्लंघन भइरहेको हुन्छ । उदाहरणको लागि कुनै टोलमा बालबालिकालाई मोटरसाइकलले झन्डै ठक्कर दिएको घटनामा यस्तो भनाइ सुनिन्छ : “बाइकले ब्रेक लगाएर बचायो, कसको बच्चा हो यसरी सडकमा छोड्ने ? कति गैरजिम्मेवार अभिभावक हो ?”
सवारी साधन गुड्न मिल्ने सडक बनेपछि त्यहाँ सवारी साधनले पहिलो प्राथमिकता पाउँछ भन्ने गलत बुुझाई धेरै मानिसमा व्याप्त छ । टोल बस्तीका एक लेनका सडकमा पहिलो प्राथमिकता पैदलयात्रीको हो, त्यहाँ सवारी रोकेर बालबालिका, ज्येष्ठ नागरिक, अशक्तलाई पास हुन दिनुपर्दछ । सवारी साधन र पैदलयात्रीका लागि लेन नछुट्याएका सडक साझा हुन्, दुवैको उत्तिकै अधिकार हुन्छ । छिटो पुुग्न सडकमा मात्र कम समय खर्चिने होइन, अन्य उपायबाट समयको बचत गर्नुपर्दछ । यस्ता विषयमा स्थानीय तहहरूले सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्दछ । सबै सडकमा गति सीमाको सूचना बोर्ड राख्नुपर्दछ ।
अटेर गर्नेलाई निर्ममतापूर्वक स्थानीय सरकारले नै कारबाही गर्नुपर्दछ । सडकको गुणस्तर बढाउने कार्य पनि गर्दै जानुपर्दछ । तर अहिलेलाई सडकको गुणस्तर जस्तो छ, त्यही अनुकूल गति सीमा कायम गरेर लागु गराउनुपर्दछ । टोल टोलबाटै नियम पालनाको अभियान सञ्चालन गर्ने हो भने कार्यान्वयन पनि प्रभावकारी हुन्छ । नियमको पालना दिगो पनि हुन्छ । स्थानीय तहले राम्रो कामको सुरुवात यसै अभियानमा गरून् र आप्mनो समाजलाई सुरक्षित, अनुशासित, सभ्य, बालमैत्री र ज्येष्ठ नागरिक मैत्री बनाऊन् भन्ने अपेक्षा गरौं ।

प्रतिक्रिया दिनुहोस्