स्थानीय तहमा नेतृत्व खोज्दै धादिङका चेपाङ «

स्थानीय तहमा नेतृत्व खोज्दै धादिङका चेपाङ



धादिङ-यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धादिङमा सातजना चेपाङले वडाध्यक्षको उम्मेदवारी दिएका छन् । सीमान्तृत चेपाङ समुदायले विभिन्न राजनीतिक दलबाट वडाध्यक्षमा एक महिलासहित सातजना चेपाङले उम्मेदवारी दिएका हुन् । वडाध्यक्ष उम्मेदवार भन्छन्, ‘सबैलाई हे-यौं, अब आफ्नो लागि आफैंलाई हेरौं । समग्र वडाको विकास, सामाजिक रूपान्तरण अनि चेपाङ समुदायको विकास र उत्थानका लागि हाम्रो उम्मेदवारी हो ।’
शोभा चेपाङले गजुरी गाउँपालिका–३ को वडाध्यक्षमा उम्मेदवारी दिएकी छन् । एकीकृत समाजवादीबाट वडाध्यक्ष उठेकी शोभा भन्छिन्, “पृथ्वी राजमार्गबाट करिब आधि घण्टा दूरीमा रहेको ३ नम्बर वडामा गास, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा तथा रोजगारी जस्ता सबै चिजको कमी छ । आत्मनिर्भर बनाउन आयस्रोत चाहिन्छ । वडाबासीको मुख्य आयस्रोत कृषि हो । तर विचौलियाका कारण हामी मारमा छौं । आधुनिक कृषि प्रणालीबाट वडाबासीको जीवन फेर्न सक्छु । त्यसैले, वडाध्यक्षमा मेरो उम्मेदवारी हो,” उनले भनिन् ।
बेनीघाट रोराङ गाउँपालिको वडा नम्बर ९ मा पनि नेपाली कांग्रेसबाट राजेन्द्र चेपाङ वडाध्यक्षको उम्मेदवार छन् । ४२ प्रतिशत चेपाङ रहेको नौ नम्बर वडामा चेपाङ समुदायलाई अहिलेसम्म भोट बैंकको रूपमामात्र प्रयोग गरे । तर नेतृत्वमा नपु¥याएको उनले बताए । उनले भने, “अबको नेतृत्व हाम्रो हुनेछ । पाँच वर्षे रणनीति बनाएर समग्र वडाको विकास र चेपाङ समुदायको सर्वाङ्गीण विकास गर्न मैलै उम्मेदवारी दिएको हुँ,” उनले भने ।
त्यस्तै, नेपाली कांग्रेसका विकास चेपाङले बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० को वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । वडाका धेरै ठाउँमा बिजुली बत्ती र सडक सञ्जाल पुगेको छैन । विकास भन्छन्, “विकास हुन सडक सञ्जाल र बिजुली बत्ती चाहिने रहेछ । तर हाम्रो वडामा आधारभूत आवश्यकताको सहज पहँुच पहिलो आवश्यकता हो । यो उद्देश्य पूरा गर्न मेरो उम्मेदवारी हो,” उनले भने ।
सामाजिक रूपान्तरण आजको आवश्यकता हो । उनले भने, “लामो समय भोट बैंक बन्यौं । तर अबको आर्थिक क्रान्तिका लागि हामीले नेतृत्व खोजेका हौं । वडामा चेपाङ, दलितलगायत विपन्न परिवारको बसोबास छ । वडाबासीको कमजोर आर्थिक अवस्था सुधार्ने छौं । मैले जितें भने पाँच वर्षकै तलब भत्ता कोषमार्फत विपन्न मजदुर परिवारको स्वास्थ्य क्षेत्रमा लगाउने छु,” उनले भने ।

गजुरी ४ र बेनीघाट ८ को अध्यक्षमा चेपाङकै भिडन्त
बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ८ मा चेपाङकै भिडन्त हुने भएको छ । ६० प्रतिशत चेपाङ जातिको बसोबास रहेको यस वडामा नेकपा एमालेबाट आकाश चेपाङ र नेपाली कांग्रेसबाट भीमबहादुर चेपाङले उम्मेदवारी दर्ता गराएका छन् ।
आकाश चेपाङ आफूले सञ्चारकर्मी, धादिङ तारा, सांगीतिक क्षेत्र र समाजसेवा हँुदै वडाबासीको समस्या तथा सवाललाई नजिकबाट नियालेको बताउँछन् । वडाबासीकै चाहना र मागअनुसार वडाध्यक्षको उम्मदेवारी दिएको हो । उनले भने, “मलाई हाम्रो पार्टीले विश्वास गरेर टिकट दिएको छ । वडाबासी प्रायःलाई खान लाउनै समस्या छ । हामीले हाम्रो समस्या हामी बुझ्छौं । त्यसैले नेतृत्व तहमा पुग्न र वडामा सामाजिक रूपान्तरण र वडाको विकासका लागि मैले उम्मदेवारी दिएको हुँ ।” वडाको केही ठाउँमा बिजुली बत्ती, सडक सञ्जाल पुगेको छैन । स्वास्थ्य र शैक्षिक क्षेत्रमा पनि उस्तै समस्या छ । सपनाहरू ठूला र धेरै छन् । तर सानैबाट थाल्नुछ, भोको पेट भर्न पाएमात्रै समृद्धिको कुरा सुहाउने उनले बताए ।
नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका भीमबहादुर चेपाङ भने गठबन्धनका कारण माओवादीलाई सहयोग गर्नुपर्ने केन्द्रको निर्देशन रहेको बताउँछन् । तर उनी आफ्नो उम्मेदवारीमा अडिग छन् । सीमान्तकृत समुदायले टिकट पाउनै कठिन छ । पाएकालाई पनि फिर्ता गराउने खेलमा दलहरू देखिन्छन् । आफू नेपाली कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार बनेर माओवादी केन्द्रका उम्मेदवार राजकुमार श्रेष्ठलाई सहयोग गर्न नसकिने उनको भनाइ छ ।
गजुरी गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट सुरेन्द्र प्रजा र एकीकृत समाजवादीबाट हर्कबहादुर चेपाङले उम्मेदवारी दिएका छन् । सुरेन्द्र प्रजा एक कार्यकाल वडाध्यक्ष भइसकेका हुन् । वडाध्यक्षको दरिलो उम्मेदवारको दाबी गर्दै उनले भने, “२०७४ सालको स्थानीय तहको निर्वाचनबाट विजयी भइसकेपछि धेरै काम गरें । कतिपय योजना पूरा गर्नु छ । चेपाङ र तामाङ समुदायको ९८ प्रतिशत बसोबास रहेको यस वडामा आधारभूत आवश्यकता र अन्य विकासका बाँकी रहेका योजना पूरा गर्न आफूले उम्मेदवारी दिएको उनले बताए ।’
सडक सञ्जाल, स्वास्थ्य, खानेपानी जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने वडाध्यक्ष उम्मेदवार हर्कबहादुर चेपाङले बताए । हामी पछाडी पारिएका समुदायमा पर्छाैं । तर नेतृत्व लिएर वडालाई विकासको बाटोमा डो¥याउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्