‘अमेरिकामा पर्यटक घट्नुमा ट्रम्प दोषी’ «

‘अमेरिकामा पर्यटक घट्नुमा ट्रम्प दोषी’

अमेरिकामा पर्यटक घट्नुमा राष्ट्रपति ट्रम्प दोषी भएको आरोप पर्यटन उद्योगले लगाएको छ । अमेरिकामा पर्यटकको संख्यामा लगातार गिरावट आएको छ ।
गत वर्षको सुरु ७ महिनाको अवधिमा अमेरिकामा अन्तर्राष्ट्रिय पर्यटकको संख्यामा ४ प्रतिशतको गिरावट आएको यूएस नेसनल ट्राभल एन्ड टुरिजम अफिसले जनाएको छ ।
अमेरिकामा विश्वका सबै क्षेत्रबाट पर्यटकको संख्यामा गिरावट आएको छ । अफ्रिका र मध्यपूर्वबाट आउने पर्यटकको संख्यामा सर्वाधिक गिरावट आएको छ ।
विश्वमा पर्यटकको संख्यामा वृद्धि भएको समयमा पनि अमेरिकामा भने ओरालो लागेको छ ।
केहीले यसलाई ‘ट्रम्प स्लम’ भनेका छन् । ट्रम्पको अमेरिका पहिलो नारा र गैरआप्रवासी टिप्पणीका साथै कडा भिसा नीति तथा अन्य प्रतिबन्धका कारण पर्यटकको संख्यामा कमी आएको हो ।
“जब मानिसले भ्रमण गर्छन्, उनीहरूले रमाइलो भावनात्मक अनुभवको खोजी गर्छन्,” वल्र्ड ट्राभल एन्ड टुरिजम काउन्सिलका पूर्वअध्यक्ष वल्फिङटनले बताए ।
वर्षौंदेखिको बढ्दो प्रवृत्तिपछि अमेरिकामा २०१५ मा अन्तर्राष्ट्रिय भ्रमण ७ करोड ७५ लाखका साथ उचाइमा पुगेको थियो ।
२०१६ मा पर्यटकको संख्यामा २ प्रतिशतले गिरावट आएको थियो । यो गिरावटमा २०१७ को सुरु सात महिनामा थप वृद्धि भएको नेसनल ट्राभल एन्ड टुरिजमको तथ्यांकले देखाएको छ ।
यो गिरावटमा एकरूपता भने देखिएको छैन । विदेशी पर्यटकको ठूलो स्रोतका रूपमा रहँदै आएको क्यानडाबाट भ्रमण गर्नेको संख्यामा जुलाईसम्मको ७ महिनाको अवधिमा ४.६ प्रतिशतले वृद्धि भएको थियो ।
तर, पर्यटकको अर्को प्रमुख स्रोत रहँदै आएको मेक्सिको बेलायतबाट आउने पर्यटकको संख्यामा भने गिरावट आएको छ । पर्यटकको संख्याका आधारमा पाचौ ठूलो रहँदै आएको चीनबाट आउने पर्यटकको संख्यामा पनि गिरावट आएको छ । जापानी पर्यटकको संख्यामा भने लगभग यथावत् अवस्था कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्