अवैध हतियारको आडमा अपराध बढ्दो

काठमाडौं उपत्यकामा गोलीप्रहार र अवैध हातहतियारको प्रयोग बढेको छ । पछिल्लो २ साताको अवधिमा भएका घटना र विभिन्न व्यक्ति तथा समूहबाट बरामद हातहतियारको शृङ्खलाले आपराधिक समूहको सक्रियता बढेको छ ।
असोज २३ गते निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अज्ञात समूहले गोली हानी हत्या ग¥यो । हत्या भएको २ साता बित्नलाग्दा पनि हत्यारा कानुनी दायराभन्दा बाहिर छ ।
गौचनको हत्या भएकै दिन अपरान्ह महानगरीय प्रहरी परिसर काठमाडौंले २ थान लोडेड पेस्तोलसहित ३ जनालाई पक्राउ ग¥यो । गौचनको हत्या हुनु १ दिन अघि काठमाडौंबाटै २ भारतीय सुटर लोडेड पेस्तोल सहित पक्राउ परे । दुवै घटनामा संलग्न व्यक्ति कुनै व्यक्तिलाई निसाना बनाएर हतियारसहित परिचालन भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूको निष्कर्ष छ ।
हतियारको अवैध कारोबार र गौचन हत्यासम्बन्धी घटना सेलाउन नपाउँदै आइतबार लाप्राक–४ गोरखा घर भई टे«किङ गाइडको रूपमा कार्यरत रानीबन बस्ने २८ वर्षीय कल्याण गुरुङमाथि अपरिचित व्यक्तिले म्हैपीमा गोली प्रहार गरी फरार भएको छ । घटनामा संलग्न भएको आशंकामा ५ जनालाई नियन्त्रणमा लिइएको छ ।
काठमाडौँ महानगरपालिका–१६ म्हेपी बातीपोखरीस्थित मिड प्वाइन्ट स्नुकर हाउस अगाडि सडकमा बा ५७ प ६९५७ नम्बरको स्कुटरमा रहेका गुरुङलाई आइतबार बिहान नम्बर नखुलेको ट्याक्सीमा आएका अपरिचित २ जनाले गोली हानेका हुन् ।
गोली प्रहार गर्ने व्यक्ति महिला र पुरुष भए पनि उनीहरू पक्राउ परेका छैनन् । दायाँखुट्टा र पिडुँलामा गोली लागेका गुरुङको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । पछिल्लो केही वर्षयता अवैध हातहतियारको प्रयोग र गोली कान्डका घटनामा कमी आएकोमा पछिल्ला २ सातामा उपत्यकाको शान्तिसुरक्षामा गम्भीर चुनौती दिनेगरी आपराधिक व्यक्ति सक्रिय भएको प्रहरी अधिकारी स्वीकार्छन् ।
महानगरीय प्रहरी प्रवक्ता एसएसपी पूर्णचन्द्र जोशी पछिल्लो २ साता यताका पेस्तोल र गोलीकान्डका घटना प्रहरीका लागि चुनौतीपूर्ण भएको बताउँछन् । “दिनदहाडै पेस्तोल बोक्ने र प्रहार गर्ने समूहका गतिविधि बढ्नु हाम्रा लागि ज्यादै चुनौतीका विषय हुन्,” एसएसपी जोशी भन्छन्, “खुल्ला बोर्डर, राजनीतिको आवरणमा गुन्डागर्दी, सम्पत्ति आर्जन गर्ने आधार र रिसइबी साँध्नलाई अवैध हातहतियारको प्रयोग बढेको स्पष्ट हुन्छ ।”
सुरक्षा मामिलाका जानकारहरू उच्च प्रहरी अधिकारीहरूको सरुवा–बढुवामा देखिएको भागबन्डा र अपराधमा संलग्नलाई राजनीतिक दलले संरक्षण दिँदा नै राजधानी जस्तो संवेदनशील ठाउँमा सुरक्षा चुनौती थपिएको बताउँछन् ।