मेलम्ची जुनसुकै बेला बन्द हुन सक्ने «

मेलम्ची जुनसुकै बेला बन्द हुन सक्ने

मेलम्ची खानेपानी आयोजना जुनसुकै बेला बन्द हुने सम्भावना बढेको छ । प्रि–मनसुनकै समयमा भारी वर्षा हुने पूर्वानुमानसँगै बाढी आउन सक्ने सम्भावना बढेकाले आयोजनामा हुने सम्भावित क्षतिलाई जोगाउन आयोजना बन्द गर्नुपर्ने देखिएको हो ।
यही बुधबारदेखि शुक्रबारसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । लगत्तै जेठ पहिलो साता पनि वर्षा हुने मौसम्विदको भनाइ छ । वर्षाले बाढीको सम्भवाना देखिएमा जुनसुकै बेला मेलम्ची बन्द हुने खानेपानी मन्त्रालयको भनाइ छ । गत चैत अन्तिम सातादेखि मेलम्ची खानेपानी आयोजनाको मूल सुरुङबाट उपत्यकामा मेलम्ची आयोजनाको खानेपानी पथान्तरणको प्रक्रिया सुरु गरिएको थियो । उपत्यकाबासीको धारामा फेरि मेलम्ची खानेपानी वितरण सुरु गरिएको महिना दिन नपुग्दै सम्भावित क्षतिलाई जोगाउन जुनसुकै बेलामा पनि मेलम्ची खानेपानी आयोजना बन्द गरिने कुराले उपभोक्तामा भने निराशा छाएको छ ।
मेलम्ची खानेपानी २०७७ साल चैत दोस्रो हप्तादेखि काठमाडौं उपत्यकामा वितरण सुरु भएको भएको थियो । तर २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढीपहिरोका कारण आयोजनाको संरचनामा क्षति पुगेपछि खानेपानी वितरण बन्द भएको थियो ।
खानेपानी मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकालले बाढी आउने सम्भावना बढ्नेबित्तिकै मेलम्चीको पानी बन्द गरिने बताए । “प्रिमनसुनमा पनि भारी वर्षा भइरह्यो भने बाढी आउन सक्ने सम्भावना बढ्न सक्छ,” उनले भने, “बाढी आउने सम्भावना देखियो भने आयोजनामा हुने क्षति जोगाउन टनेल जुनसुकै बेलामा पनि बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।”
हाल अस्थायी बाँधबाट मात्रै मेलम्चीको खानेपानी उपभोक्ताको धारामा पठाइएको भन्दै उनले आगामी आर्थिक वर्षदेखि स्थायी बाँध निर्माणको प्रक्रिया अगाडि बढ्ने बताए । “अहिलेको अवस्थामा वर्षातको समयमा मेलम्ची बन्द हुन्छ, अथवा प्रिमनसुनमा पनि बाढीको सम्भावना भयो भने आयोजना बन्द गरिने छ,” ढकालले थपे, “स्थायी टनेलबाट मेलम्ची आउन थालेपछि भने बाढी आउँदा बन्द गर्नुपर्छ कि पर्दैन भन्ने विषयमा यकिन छैन, अध्ययन भइरहेको छ ।”
विपत् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले प्रिमनसुनमा पनि बाढी आउन सक्ने भए पनि तत्कालका लागि बाढीको खतरा नभएको बताए । “बंगालको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था समुन्द्री आँधी ‘आसानी’को रुपमा विकसित भएको छ । निकै तीव्र गतिमा चलेको आँधीको असर भारतको उडिसा लगायत तटीय क्षेत्रमा बढी देखिने पूर्वानुमान गरिएको छ,” उनले भने, “नेपालमा यसको असर वैशाख २८ देखि देखिन सक्ने सम्भावना छ । वैशाख ३० सम्म नै पानी पर्नेछ । नयाँ प्रणालीले पूर्वी नेपालमा पानी पार्ने सम्भावना बढाउन सहयोग गर्छ तर अहिले नै बाढीको सम्भावना छैन ।”
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले वर्षाको समयमा मेलम्चीको सुरुङ बन्द गर्नुपर्ने हुन सक्ने भन्दै त्यसको विकल्पका रुपमा बागमती नदीको पानी वितरण गर्ने प्रक्रिया अगाडि बढाउने बताए । “वर्षाको समयमा मेलम्चीको सुरुङ बन्द गरी संरचना बनावट गर्नुपर्ने भएकोले सुन्दरीजल क्षेत्रबाट बागमतीको थप पानी प्रशोधन गरेर खानेपानी वितरण गर्ने काम अगाडि बढाइनेछ,” उनले भने, “विकल्पको रुपमा काठमाडांै उपत्यकामा थप खानेपानी आपूर्ति गर्न सिस्नेरी खोला र ठोस्ने खोलाको सम्भाव्यता अध्ययन समेत सुरु गरिएको छ ।” काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार खानेपानी निरीक्षण सम्पन्न भइसकेका ४१० किमिका नयाँ वितरण लाइन र साविकको पुरानो पाइपलाइन दुवै सञ्जालबाट पानी वितरण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्