लाइसेन्सको आवेदन आगामी साता खुल्ने «

लाइसेन्सको आवेदन आगामी साता खुल्ने


यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा दिन पाउने गरी तयारी गरेको छ । विभागले जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला गरी १५ दिनमा नै सेवाग्राहीले कार्यालयमा सम्पर्क गर्न सक्ने व्यवस्था गर्न लागेको हो ।
योसँगै यसअघि २ वर्षसम्म लाइसेन्सको परीक्षा दिन प्रतीक्षा सूचीमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ भने यसअघिका लाइसेन्सका लागि परीक्षा दिन बाँकी रहेकाको परीक्षा लिइसक्ने विभागमा महानिर्देशक नमराज घिमिरेले बताए । आगामी दिनमा विभागले प्रणालीबाट नै मुलकभरको सेवा कार्यालयमा आवेदन लिन सक्नेछन् । आवेदकले आवेदन दिँदा कुनै पनि सेवा कार्यालयमा सम्पर्क मिति १५ दिनभन्दा बढीको नहुने र सो समयभन्दा बढी लाग्ने देखिएमा आवेदन नलिने गरी सिस्टम विकास गर्न लागेको विभागका महानिर्देक घिमिरेले बताए । यसले गर्दा हाल देखिएको लामो समय प्रतीक्षा सूचीमा बस्नुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ रहेको छ । “अब हामीले विकास गर्ने सिस्टममा आवेदकले मुलकभरका सबै सेवा कार्यालयमा आवेदन दिन सक्नेछन् । आवेदन दिएको १५ दिनमा कुन कार्यालयमा भिजिट गर्नुपर्ने हो, त्यसको मितिसमेत सो आवेदनको समयमा नै सुनिश्चीत हुने छ । सेवाग्राहीले आफ्नो सम्पूर्ण विवरण भरेर दर्ता गरी यूजर आईडी बनाएर नेपाली नागरिकता अपलोड गरी आवेदन दिन सक्ने छन्,” उनले भने, “अबको दिनमा आवेदन दिँदा सरकारलाई तिर्नुपर्ने राजस्व पनि अनलाइन अग्रिम भुक्तानी गर्नु पर्नेछ । साथै नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टरको सिफारिसमा मेडिकल पास भएका आवेदनकर्ताले अनलाइन दर्ता गरेर प्राप्त पिडिएफ दिएर १५ दिनभित्र आवेदन दिएको यातायात सेवा कार्यालयमा बायोमेट्रिक्सको लागि सम्पर्क राख्न सक्ने छन् ।”
विभागले पछिल्लो समय सिस्टममा आवेदकको संख्या धेरै कार्यालयमा आउने सेवाग्राहीको संख्या एकदमै कम भएकाले लाइसेन्स लिन चाहने सेवाग्राहीको लागि मात्र यस्तो सिस्टम विकास गर्न लागिएको महानिर्देशक घिमिरेले बताए । यदि आवेदकले आवेदन दिएको १५ दिनमा परीक्षा गर्न नसक्ने अवस्थामा वा अग्रिम प्याक छ भने आवेदकको आवेदन अस्वीकृत हुने छ । यसको लागि आवेदकले अर्काे सेवा कार्यालयमा आवेदन दिन सक्ने छन् वा अर्काे दिन कुर्नु पर्नेछ । नयाँ प्रणालीको विकाससँगै स्मार्ट सवारी लाइसेन्सको नियमित र वितरण सहज हुने विभागले जनाएको छ । विभागले १ चैतदेखि देशभरका यातायात कार्यालयका लागि अनलाइन आवेदन बन्द गरेको थियो ।
अनलाइन आवेदन भर्न सक्ने र अब अनलाइनबाट सेवा प्रवाह चुस्तदुरुस्त बनाउने विभागले दाबी गरेको छ । आवेदन प्रणालीमा देशभरका जुनसुकै यातायात कार्यालयमा १५ दिनभित्र उपलब्ध रिक्त सिट आवेदकले हेर्न पाउने र आफ्नो पायक पर्ने कार्यालयमा आवेदन दिएर तुरुन्तै अनलाइनबाट शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था गर्ने तयारी छ । विभागले हाल मुलुकभरको २४ वटा सेवा कार्यालयबाट दैनिक १५ हजारले सेवा लिन पाउने गरी सिस्टम विकास गर्न लागेको जनाएको छ । आवेदन दिने तर ट्रायल परीक्षामा सहभागी हुन आउनेको संख्या एकदमै कम भएपछि विभागले १५ दिनमा कार्यालयमा सम्पर्क मितिको व्यवस्था गर्न लागेको हो । विभागका अनुसार परीक्षाको समयमा आवेदन पूर्ण रुपमा बन्द गरेर परीक्षा हुनेछ । “परीक्षाको लागि आवेदन दिने र होल्ड गर्ने तर परीक्षामा भने नआउने गरेको पाइएको छ,” महानिर्देशक घिमिरेले भने, “आवश्यक भएकाले लाइसेन्सको लागि पालो नपाउने तर आवश्यक नभएकाले भने होल्ड गर्ने परिपाटी हटेर जाने छ । यसले गर्दा अति आवश्यक भएकाले मात्र अवसर प्राप्त गर्नेछन् ।”

प्रतिक्रिया दिनुहोस्