प्रदर्शनकारीले श्रीलंकामा सत्तारुढ दलका सांसदका घरमा आगो लगाए

सरकारविरोधी प्रदर्शनकारीहरुले श्रीलंकामा सत्तारुढ दलका सांसदका घरमा आगजनी गरेका छन्। स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएअनुसार शान्तिपूर्ण प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि प्रधानमन्त्री महिन्दा राजापाक्षेसमर्थकले आक्रमण गरेपछि हिंसा भड्किएकाे थियो। त्यसक्रममा प्रदर्शनकारीले सत्तारुढ दलका सांसद सनथ निशान्तसहित कैयांै नेताहरुका घरमा आगजनी गरेको समाचार समिति ‘न्युजवायर’ ले जनाएको छ।
सरकारविरोधी र सरकारपक्षबीच भएको झडपमा सत्तारुढ पार्टीका सांसद अमरकीर्थि अथुकोराला र उनका निजी अंगरक्षकको मृत्यु भएको केही घण्टापछि आगजनीको घटना भएको हो ।
सरकारविरुद्ध प्रदर्शन जारी रहँदा प्रधानमन्त्री महिन्दा राजपक्षेले पदबाट राजीनामा दिएका छन् । उनले राष्ट्रपति गोटाबाया राजपक्षेलाई राजीनामा पठाएको बीबीसीले उल्लेख गरेको छ। श्रीलंका सरकारले हाल संकटकाल लागू गरेको छ। स्थानीय मीडिया रिपोर्टहरुका अनुसार राष्ट्रपति भवनमा गोटाबायाको नेतृत्वमा भएको बैठकमा सहभागी महिन्दा राजपक्षेसँग राजीनामा दिन अनुरोध गरिएको थियो। जसलाई उनले स्वीकार गरेका थिए।