पर्यटन क्षेत्रमा बढ्दो उत्साह र सम्भावना «

पर्यटन क्षेत्रमा बढ्दो उत्साह र सम्भावना

नेपालको हकमा पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जनको दीर्घकालीन र भरपर्दो स्रोत हुने सम्भावना रहे पनि सरकारले त्यसतर्फको विकासमा यथेष्ट ध्यान दिएको छैन ।


विदेशी मुद्रा सञ्चिति घटिरहँदा नेपालमा यतिबेला आर्थिक चिन्ता जनजनमा पुगेको छ । खासगरी देश खाद्यान्नदेखि तमाम कुरामा परनिर्भर भइरहँदा र भएको विदेशी मुद्राले ६–७ महिनामात्रै आयात धान्ने अवस्थाले आम चिन्ता जगाएको हो । विदेशी मुद्रा सञ्चितिको अवस्था घटेर रसातलमा पुगेपछि हालै छिमेकी मुलुक श्रीलंका संकटमा प-यो । अहिले श्रीलंका गम्भीर संकटको सामना गरिरहेको छ । भोकसँग जुधिरहेको छ, दैनिक आवश्यकता र निर्वाहका लागि लडिरहेको छ ।
नेपालको अवस्था श्रीलंकाको जस्तो खराब नभए पनि विदेशी मुद्रा सञ्चितिको घट्दो अवस्थाले गम्भीर चिन्ता जगाएको छ । सरकारले आर्थिक संकट टार्न आयात घटाउने, रेमिट्यान्स बढाउनेसहितका अन्य विविध अल्पकालीन विकल्पहरू अघि सारेको छ । खासगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि र उच्च आयातले विदेशी मुद्राको स्टकलाई घटाइरहेको अवस्थामा सातामा दुई दिन बिदा दिनेसम्मको निर्णय हुँदै छ ।
नेपालको अहिलेको विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत रेमिट्यान्स बनिरहेको छ । त्यो पनि केही महिनायता बढ्दो हुन्डी कारोबार, क्रिप्टो करेन्सीमा अघोषित लगानी आदिले घटिरहेको छ । रेमिट्यान्स केही बढे पनि वा घटे पनि सबैको एकमत के छ भन्दा त्यो राष्ट्रका लागि भरपर्दो स्रोत होइन । तर पनि अहिलेलाई नेपालको आर्थिक रथ त्यसैले हाँकिरहेको छ । रेमिट्यान्सबाहेक विदेशी मुद्रा आर्जनको स्रोत निर्यात व्यापार हो । तर, नेपालको निर्यात व्यापार आयातको तुलनामा असाध्यै लाजमर्दो छ । त्यसले विदेशी मुद्रा सञ्चितिको अवस्थामा कत्ति पनि योगदान दिन सकेको छैन । खासगरी औद्योगिक उत्पादन, कृषि उत्पादन दुवैको अवस्था निम्छरो भएका कारण पनि निर्यात बढ्न नसकेको हो । बिना औद्योगीकरण र बिना उत्पादन निर्यात बढ्ने तथा बढाउने सम्भावना नै हुन्न । त्यसैगरी विदेशी मुद्रा आर्जनको अर्को महत्वपूर्ण स्रोत वा क्षेत्र पर्यटन हो । तर, पर्यटन क्षेत्र पनि विगत दुई वर्षयता ससारभर नै थलिएको अवस्था छ । नेपालको हकमा पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जनको दीर्घकालीन र भरपर्दो स्रोत हुने सम्भावना रहे पनि सरकारले त्यसतर्फको विकासमा यथेष्ट ध्यान दिएको छैन । फलस्वरूप भयंकर सम्भावनाका बाबजुत नेपालमा पर्यटन आगमन बढ्न सकेको छैन । भित्रिएका पर्यटकहरू पनि पर्यटन गन्तव्यहरूको विस्तारको कमी, पर्यटन पूर्वाधारहरूजस्तो यथेष्ट होटल, लज तथा रिसोर्टहरूको कमी, पर्यटन सडक अभाव, आवश्यक पर्यटन जनशक्तिको अभाव, सुरक्षा अभाव आदिले उनीहरूका बसाइ लम्बिएका छैनन् । यत्रो सम्भावनाको पर्यटन क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ३–४ प्रतिशतभन्दा बढी योगदान दिन सकेको छैन ।
तर सरकारले, राजनीतिक दलहरूले नेपाललाई समृद्ध बनाउन सक्ने क्षेत्र पर्यटन नै हो भनेर बुझ्न जरुरी छ । कृषिले नेपालको कृषिजन्य वस्तुको आत्मनिर्भरता ग्यारेन्टी गर्न सक्ला । जलविद्युत्को पनि निर्यात गरेर नेपालले केही विदेशी मुद्रा आर्जन गर्ने ठाउँ छ । तर, त्यसलाई देखाएर नेपालले ठूलो सपना बुन्नु बेकार हुन्छ । किनकि संसारले यतिबेला उर्जाका अनेक आयामका विकल्पहरूमा प्रगति गरिरहेको छ । फेरि नेपालले ऊर्जाको व्यापार गर्ने भनेको छिमेकी भारत, बंगलादेश, पाकिस्तान आदि देशमा मात्रै हुन् । अन्यत्र त्यो सम्भावना कमै छ । चीन आफैंमा ऊर्जामा आत्मनिर्भर मुलुक हो । त्यसकारण दीर्घकालीन हिसाबले हेर्ने हो भने नेपालको समृद्धिको मात्रै होइन, विदेशी मुद्रा आर्जनकै बलियो स्रोत बन्ने सम्भावना पर्यटनले मात्रै राख्छ । पर्यटन क्षेत्र रेमिट्यान्सजस्तो हुँदैन । किनकि आजको दिनमा जति पनि नेपाली युवायुवतीहरू विदेशमा श्रम गरिरहेका छन् । उमेर ढल्केर बुढ्यौलीतिर लागिरहँदा उनीहरूले पनि त्यसरी काम गर्न सक्दैनन् । र, त्यो स्रोत क्रमशः फिक्का हुन्छ । त्यसकारण नेपालले पर्यटन पूर्वाधारमा लगानी बढाउन जरुरी छ । पर्यटकीय गन्तव्यहरूको विस्तार गर्न जरुरी छ । नयाँ–नयाँ पर्यटकीय गन्तव्यको खोजी, त्यसको संरक्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै त्यसको प्रचारबाट मात्रै हामीले पर्यटन आम्दानी बढाउन सक्छौं । त्यसका लागि पर्यटकमैत्री जनशक्ति विस्तार, होटल–रेस्टुराँ तथा रिसोर्टहरूको विस्तार, पर्यटकीय सडक पूर्वाधारहरूको विस्तार, पर्यटन सुरक्षा, हवाई सुविधामा जोड दिन जरुरी छ । आजको सूचना सञ्चारको युगमा इन्टरनेटको माध्यमबाट हामीले हाम्रा पर्यटकीय गन्तव्यहरूलाई विश्वमाझ सजिलै चिनाउन सक्छौं । पर्यटकहरूलाई विश्वस्त तुल्याउन संसारका लब्धप्रतिष्ठित सञ्चारमाध्यमहरूमा विज्ञापन गरेर, प्रचारमा उनीहरूको साथ मागेर पनि पर्यटन प्रचार गर्न सकिन्छ । तर, पर्यटन क्षेत्रको विकास एवं विस्तारका लागि निरन्तरको अभियान चलाउन भने जरुरी देखिन्छ ।
नेपाल संसारकै एक सुन्दर प्राकृतिक देश हो । त्यो हामीले भनेका होइनौं, अन्तर्राष्ट्रिय स्तरका धेरै प्रतिष्ठित सस्ंथाहरूले नेपाल पर्यटकीय हिसाबले ५–६ नम्बरभित्रै पर्ने गन्तव्यको रूपमा देखाउँदै आएका छन् । तर पनि हामीले पर्यटकलाई बोलाउनै सकेका छैनौं । आतिथ्यता गराउनै सकेका छैनौं । जस्तो कि अहिलेका पर्यटनमन्त्री प्रेम आलेले पर्यटन गतिविधि बढाउन भारतमात्रै नभएर संसारभर ख्याति कमाएका भारतीय अभिनेता सलमान खानसहितका कलाकारहरूलाई नेपाल बोलाएका छन् । वास्तवमा त्यस्ता कार्यक्रमले पर्यटन क्षेत्र ब्युँझाउन, अन्तर्राष्ट्रिय मुलुकहरूको नेपालप्रति ध्यान खिच्न सहयोग नै गर्छ । पर्यटन क्षेत्रका लागि यस्ता कार्यक्रम प्रभावकारी हुन्छन् नै । कतिपयले सलमानले नेपाल आएबापत यति रकम लान्छन्, उति लान्छन् भनेर कुतर्क गर्छन् । लाने र ल्याउने भनेको भइरहन्छ । तर, त्यसको प्रभाव कत्तिको सकारात्मक पर्छ, त्यो पनि हेर्न जरुरी हुन्छ । पर्यटन हाम्रा लागि व्यापार हो । व्यापारमा व्यापारीले लिने पनि गर्छ, दिने पनि त गर्छ । त्यसकारण संकीर्ण हिसाबले सोच्न हुँदैन । पर्यटन गतिविधिहरू निरन्तर बढाउन सक्दा मात्रै पर्यटन आय बढ्ने हो ।
कोभिड कहरबाट विस्तारै लयमा फर्कंदै गर्दा अहिले पर्यटन क्षेत्र चलायमान बन्दै गइरहेका छन् । बन्द भएका होटलहरू खुलेका छन् । अलमलिएका पर्यटन जनशक्तिहरू फेरि काममा फर्किएका छन् । यस्तै बेला सरकारले पनि पर्यटन गतिविधि बढाउन जरुरी छ । कोभिडका कारण आहाल बसेको यस क्षेत्रलाई जुरुक्क उठाउन जरुरी छ । सन् २०२२ को सुरुवातदेखि नै नेपालमा पर्यटनले आशा जगाउन थालेको हो । पछिल्लो तथ्यांकअनुसार सन् २०२२ को मार्च महिनामा हवाई मार्ग भएर ४२ हजारमा भन्दा बढी पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ । सन् २०२२ को जनवरीदेखि मार्च महिनासम्म ७८ हजार ७ सय ४७ जना विदेशी पर्यटक भित्रिएका छन् । यसबीच २५ हिमाल आरोहणका ७३ देशका ८ सय ७६ जना आरोहीले अनुमति लिएका छन् । पछिल्लो समय दैनिक १५ सयदेखि २ हजारसम्म पर्यटक नेपाल आइरहेको बोर्डले जनाएको छ । यो एउटा कोरोना कहर कम हुँदै गएसँगै पर्यटन बढ्न थालेको सुखद संकेत हो । पर्यटन बढ्न थालेसँगै निराश पर्यटन उद्यमीहरू खुसी हुन थालेका छन् ।
वास्तवमा आँखाले हेरेर नभ्याउने भीमकाय महाभारत पर्वतहरू नेपालमै छन् । तराईका समथर उर्वर जमिनहरू छन् । विश्वमै दुर्लभ मानिने ७ सय ५० भन्दा बढी प्रजातिका पन्छीहरू यही नेपालमा पाइन्छन् । दुर्लभ बाघ, भालु, चितुवा, हरिण, मृग, गैंडाहरू हेर्न नेपालमै आउनुपर्छ । वर्षैभरि अविच्छिन्न बगिरहने नदीहरूले जताततै जुलुस निकालिरहेका छन् । सयौं भाषा, सयौं भेष र संस्कृति यहीँ छन् । फरक–फरक जलवायु यहीँ छ । अर्थात् नेपालमा अथाह पर्यटकीय सम्भावनाका स्रोत छन् ।
नेपालले अरू सब छोडेर पर्यटन क्षेत्रलाई मात्रै विश्वमाझ प्रवद्र्धन गर्ने हो भने, आवश्यक पर्यटकीय पूर्वाधार विकास गर्दै लग्ने हो भने समृद्धिको ढोका सहजै खुल्नेछ । विदेशी मुद्राको दुःख हरदम हुनेछैन ।
पर्यटन क्षेत्रकै लागि विश्वमा हाल ४ सय बिलियन डलरभन्दा बढी लगानी भइसकेको अवस्था छ । त्यसमा आधा खर्च चीन र अमेरिकाले गरेको बताइन्छ । लगानी उच्च भएकै कारण चीनमा बर्सेनि १० करोडभन्दा बढी मानिसले पर्यटक भएर भ्रमण गर्न थालिसकेका छन् । चीनमा बढ्दै गएको पर्यटकीय व्यापारलाई राजनीतिक स्थायित्व र शान्ति, स–व्यवस्थालाई पनि जोडेर हेरिएको पाइन्छ । त्यस्तै भारतमा करोडभन्दा बढी मानिसले पर्यटन क्षेत्रमा रोजगारी पाइरहेको अवस्था छ । राजनीतिक स्थायित्वकै कारण भारतमा पर्यटक आगमन बढेको बताइन्छ । उसका पर्यटन क्षेत्रमा रोजगारी दिलाउने महत्वाकंछी लक्ष्य छन् । त्यस्तै फ्रान्स पर्यटकीय दृष्टिले पहिलो गन्तव्य स्थल नभए पनि सबैभन्दा बढी पर्यटक भित्र्याउन राष्ट्रमा पर्छ । पर्यटनमैत्री वातावरण उसको प्राथमिकतामा पर्ने गर्छ । अमेरिका, इटाली, युकेलगायतका मुलुकहरू पर्यटक आगमनमा दोस्रो, तेस्रो र चौथो मुलुकमा पर्दै आएका छन् । पर्यटक आगमनको यस खालको तथ्यांकले प्रकृति मात्रै पनि सबै थोक होइन, पर्यटनमैत्री वातावरणको खाँचो छ भन्ने दर्साउँछ । यसर्थ नेपालमा खाँचो भनेको दीर्घकालीन पर्यटन नीति र पर्यटनमैत्री वातावरणको हो ।

प्रतिक्रिया दिनुहोस्