नीति तथा कार्यक्रममा समेट्नुपर्ने कृषि
अर्थमन्त्रीज्यू, यो सरकार नेपाली जनताको त्याग, बलिदान र संघर्षको उपलब्धिबाट बनेको सरकार हो । यो सरकार जनताको सेवा, सुरक्षा, समृद्धि र सुखका लागि जनताले बनाएको सरकार हो । यो सरकार जनताले झन्डै लोकतन्त्र र सुशासन खोसिनबाट जोगिएर बनेको सरकार हो । त्यसैले यो सरकारप्रति जनताको धेरै आशा र भरोसा छ । अहिले सरकार आगामी आव २०७९/८० को नीति तथा कार्यक्रम तर्जुमाका लागि व्यस्त छ । अर्थमन्त्रीज्यू, आगामी आव २०७९/८० को नीति तथा कार्यक्रममा यी विषयवस्तुहरू समेटिए कि समेटिएनन्, तपाईं आफैले ध्यान दिनुहोला ।
नीति र कार्यक्रम फ्रेमवर्क : स्थानीय स्तरमा कृषि प्रवद्र्धनका लागि ऐन, नीति, निर्देशिकाहरू तयार पार्ने, कृषिमा निजी क्षेत्रको लगानी बढाउन निजी क्षेत्रमैत्री नीति बनाउने, निजी क्षेत्रको भूमिका अभिवृद्धि गर्न र साझेदारी गर्न सार्वजनिक–निजी–साझेदारी संयन्त्र बनाउने तथा संयन्त्रमार्फत कृषि उत्पादनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारमा अवरोधहरू हटाउन र प्रमुख उत्पादन क्षेत्रहरू जोड्न पहल गर्ने विषयहरू समेटिए कि समेटिएनन्, तपाईंको संयन्त्रको ध्यानाकर्षण गराउनुहोला ।
राम्रो कृषि अभ्यासको साथमा गिरावट र बाँझो जमिनको उपयोग : उर्वराशक्ति नष्ट भएको र बाँझो जमिनको उपयोग गर्न ‘ल्यान्ड बैंक प्रणाली’ स्थापना गर्ने, माटोको उर्वराशक्ति सुधार गर्न र माटोमा जैविक पदार्थ बढाउँदै लैजान, जग्गालाई पुनर्जीवित गर्न र कृषियोग्य बनाउन कार्यक्रम लागू गर्ने, मल उत्पादन गर्न, फोहरको पुनःप्रयोग गर्न फोहर संकलकहरू, पुनःप्रयोगका लागि समूहहरू र निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, जैविक मल उत्पादन गर्नका लागि सहयोग प्रदान गर्ने र सुरक्षित र राम्रो कृषि अभ्यास तथा कीटनाशक प्रयोग गर्दा व्यक्तिगत सुरक्षात्मक उपकरणहरूको प्रयोगका बारेमा चेतना जगाउने तथा किसानहरूलाई सुरक्षित र दिगो कृषि अभ्यास अपनाउन प्रोत्साहन गर्न एक प्रमाणीकरण निकायको स्थापना गर्ने कुराहरू समेटिए कि समेटिएनन्, तपाईंको संयन्त्रको ध्यानाकर्षण गराउनुहोला ।
पानीको सदुपयोग : सिँचाइ सुविधाका लागि कार्यक्रम बनाउने, पानीको उचित उपयोगलाई प्रोत्साहित गर्ने तथा कम पानी चाहिने खालका बालीहरूको खेती गर्न प्रोत्साहित गर्ने कुराहरू समेटिए कि समेटिएनन्, तपाइको संयन्त्रलाई यो विषयमा समेत ध्यानाकर्षण गराउनुहोला ।
उत्पादन कार्यहरू : ‘एक क्षेत्र एक बाली’ (पकेट क्षेत्र) खेती प्रणाली लागू गर्ने, विषादीरहित खाद्य उत्पादन र उत्पादनमा आधारित अनुदान प्रणाली स्थापित गर्ने, जैविक र इको–लेबल प्रमाणित आफ्नै ब्रान्ड उत्पादन विकास गर्ने, उत्पादन लागत घटाउन कृषि यन्त्रको प्रयोग बढाउने कार्यक्रम बनाउने । जस्तै— कस्टम हाइरिङ सेवा, कृषि यन्त्रमा अनुदान आदि विषयहरू समेटिए कि समेटिएनन्, तपाईंको संयन्त्रको ध्यानाकर्षण गराउनुहोला । त्यस्तै कीटनाशक अवशेष विश्लेषण प्रयोगशाला स्थापना र सेवा प्रदान गर्ने, बजार माग र आपूर्ति अवस्थाको विश्लेषण गर्ने र किसानलाई माग अनुसार उत्पादन गर्न सहयोग गर्ने, किसानलाई उन्नत गुणस्तरीय उत्पादन र बाली भित्र्याउने तरिकाबारे सीपमूलक तालिम प्रदान गर्ने, प्रशोधन, ग्रेडिङ र प्याकेजिङ सुविधाहरूमा निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्ने, स्रोत केन्द्र स्थापना गर्न र यी केन्द्रहरूमार्फत कृषकहरूलाई सहयोग पु-याउन निजी क्षेत्रलाई प्रोत्साहन गर्ने विषयहरू समेटिए कि समेटिएनन्, तपाइको संयन्त्रको ध्यानाकर्षण गराउनुहोला ।
बाली भित्र्याएपश्चात् (पोस्ट हार्भेस्ट) क्षति न्यूनीकरण : बाली भित्र्याएपश्चात हुने क्षतिलाई न्यूनीकरण गर्न प्रविधि र यातायात अभ्यासमा सुधार गर्न किसानहरूलाई तालिम, उचित प्याकेजिङमा सहयोग, भण्डारण घर निर्माण, भण्डारण डिब्बा आदिमा सहयोग गर्ने एवं दैनिक खानामा आयातित उत्पादनको सट्टा स्थानीय उत्पादनलाई प्रयोग गर्न प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू समेटिए कि समेटिएनन्, यो विषयमा समेत तपाईंको संयन्त्रको ध्यानाकर्षण गराउनु होला ।
बजारीकरणका कार्यहरू : उत्पादन समूह र सहकारी संस्थाहरूको उत्पादन संकलन र बजारीकरण गर्न निजी क्षेत्रलाई लगानी गर्न सहयोग गर्ने, मूल्य प्रवाह र बजारलाई सुनिश्चित गर्दै उत्पादन प्रवाहका लागि आउटलेट स्थापना गर्ने, साना र मध्यम खालका कृषि व्यवसाय स्थापना गर्न सहयोग गर्ने, संकलन केन्द्रहरू, कोल्ड स्टोरेज, गोदाम तथा बजारहरू स्थापना गर्ने, उत्पादनहरूका लागि थोक खरिद केन्द्रहरू स्थापना गर्ने, लेबलिङ, मूल्य निर्धारण, प्याकेजिङ र उत्पादनको प्रवद्र्धन गर्ने कृषि व्यवसायलाई प्रोत्साहित गर्ने, स्थानीय उत्पादनको खपत बढाउन प्रचारप्रसार तथा जागरुकता अभियान र प्रशिक्षण कार्यक्रम गर्ने, व्यापार मेला र प्रदर्शनीहरू आयोजना गर्ने, कृषि बजार सूचना प्रणाली स्थापित गर्ने, प्रमाणीकरण र गुणस्तर जाँच प्रणाली स्थापित गर्ने, सामग्री निर्माण गर्न स्थानीय उद्योगहरूलाई प्रोत्साहित गर्ने तथा बिशेष कार्यक्रम– हाटबजार, कृषि प्रदर्शनी, स्थानीय उत्पादनको प्रयोग, सपिङ जाँदा आफ्नै झोलाको प्रयोग, शाकाहारी भोजन, पुनःप्रयोग, कुनै कुरा खेर नफाल्ने आदिजस्ता अभियान सञ्चालन गर्ने कुराहरू समेटिए कि समेटिएनन्, तपाईंको संयन्त्रको ध्यानाकर्षण गराउनुहोला ।
कृषिमा यान्त्रीकरण : प्रविधि, मेसिनरी र उपकरणहरूको प्रयोगलाई सहज बनाउन निजी क्षेत्रलाई कृषि यन्त्रमा लगानी गर्न प्रोत्साहन गर्ने, कृषि यन्त्र भाडामा दिने व्यवसाय सुरु गर्नेलाई सहज कर्जा र अनुदान दिने, मेशिनहरूको सञ्चालन र मर्मत सम्भारका लागि तालिम, डिजिटल समूहका लागि प्राथमिक समूह र सहकारीलाई प्राविधिक सहयोग प्रदान गर्ने, कृषि समूह र सहकारीहरूलाई डिजिटल सेवामार्फत लेनदेनको व्यवस्था गर्ने, लैङ्गिकमैत्री मेसिनरी र उपकरणलाई ध्यानमा राखी कस्टम हायरिङ सेन्टरहरू सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, उपकरण र मेसिनरी पसलहरू स्थापना गर्न सहयोग प्रदान गर्ने, सोसल मिडियामार्फत स्थानीय उत्पादनहरूको प्रचार गर्ने, नयाँ प्रविधि र नयाँ विशेषज्ञतामा आधारित रहेर उत्पादन तथा सेवाहरू बजारमा ल्याउन कृषि समूह र सहकारीहरूको क्षमता अभिवृद्धि गर्ने आदि विषयहरू पनि समेटिए कि समेटिएनन्, तपाईंको संयन्त्रको ध्यानाकर्षण गराउनुहोला ।
कोभिड–१९ को परिस्थितिको सामना गर्नका लागि सिफारिस : रोजगार सूचना केन्द्र स्थापना गर्ने, डिजिटल टेक्नोलोजी/पोर्टलमार्फत रोजगारीका अवसरहरूसम्बन्धी जानकारी प्रसार गर्ने, छोटो अवधिक सीपमूलक तालिम कार्यक्रमहरू आयोजना (उदाहरणका लागि कोभिड–१९ को कारणले रोजगारी गुमाएका युवाहरूलाई कृषि मेसिनरी मर्मतसम्बन्धी तालिम) आयोजना गर्ने, विदेशबाट घर फर्केका युवाहरूको सीपलाई प्रवद्र्धन गरी सीपमा आधारित प्रशिक्षणबाट स्वरोजगारका अवसरहरू सिर्जना गर्ने, कृषि उत्पादन र कृषि व्यवसायीको व्यापार बढाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कृषि कम्पनीहरूसँग सहकार्य गर्ने, स्थानीय कोटा प्रणालीमार्फत विदेशबाट आयात गरिएको कृषि उपजको नियमन र व्यवस्थापन गर्ने, स्थानीय उत्पादनहरूको मार्केटिङको सुविधा पु-याउने, कृषि व्यवसायीहरूका लागि आवश्यक कच्चा पदार्थ र उत्पादनहरूलाई ढुवानी गर्नका लागि सहज वातावरण बनाउने, कृषि उद्यमहरूको उत्पादन र सञ्चालनका लागि सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन बैंकहरूसँग सहकार्य गर्ने, कृषि क्षेत्रमा पुनर्कर्जाको सुविधा पु-याउने र कृषि ऋणको ब्याजमा अनुदानको व्यवस्था गर्ने, किसानहरूले लिएको ऋणको भुक्तानी अवधि बढाउने, स्थानीय कृषि व्यवसायलाई बिजुली महसुल र सेवा शुल्क कम गर्ने, पकेट क्षेत्रहरू पहिचान गरी एक क्षेत्र एक बाली/पशुधन कार्यक्रम लागू गर्ने, किसानहरूको मनोबल बढाउनका लागि कार्यक्रमहरू (जस्तै : सम्मान, बिमा, प्रदर्शनी भ्रमण र बालबालिकाहरूलाई छात्रवृत्ति आदि) सञ्चालन गर्ने, स्थानीय उत्पादनलाई राहत प्याकेजका रूपमा वितरण गर्ने र सजिलो पहुँचको लागि स्थानीय बालीहरूको भण्डारण सञ्चालन गर्ने, अनलाइन अर्डर र होम डेलिभरी प्रणालीहरूका लागि व्यवस्था गर्ने । सहरी क्षेत्रमा प्रत्येक घरको छानामा कौसीखेति प्रवद्र्धन गर्ने कार्यक्रमहरू पनि समेटिए कि समेटिएनन्, तपाईंको संयन्त्रको ध्यानाकर्षण गराउनुहोला ।
कृषि गोदाम प्रणाली : गोदाम घर बनिसकेपछि किसानहरूले आफ्नो उत्पादन धितो (बन्धक) राखेर आवश्यक ऋण प्राप्त गर्ने सुविधा, आवश्यक ऋणहरूको नियम एवं सर्तहरू, ब्याजदर, धितो राख्ने अवधि, राशि आदिको निर्धारण, गोदाम घरको बिमा, त्यहाँ राखिने कृषि उपजको बिमा, त्यसको जिम्मेवारीबारे स्पष्ट व्यवस्था गर्ने कार्यक्रमहरू समेटिए कि समेटिएनन्, तपाईंको संयन्त्रको ध्यानाकर्षण गराउनुहोला ।
अनुबन्ध खेती : कृषिमा श्रम र सीप हुनेहरू, कृषि पेसामा आश्रितहरू, ठूलो रूपमा खेतीमा संग्लग्न हुन चाहनेहरूका लागि कृषि भूमिको पहुँच नपुग्नु र पहुँच पुग्नेहरूले पनि अनुबन्ध खेती अर्थात् सम्झौताका आधारमा खेतीपाती गर्न ऐन–कानुनको अभावमा र करार भङ्ग रोक्नका लागि उपायहरूसम्बन्धी ऐन/कानुन/नियमहरू बनाउने कार्यक्रमहरू पनि समेटिए कि समेटिएनन्, तपाईंको संयन्त्रको ध्यानाकर्षण गराउनु होला ।
सामग्री अनुदान, कृषि प्रसार सेवा : उत्पादनसँग जोडेर अनुदान उपलब्ध गराउने प्रणालीको विकास गर्ने हालको अनुदानको नीतिलाई परिमार्जन गरेर साँच्चै खाँचोमा परेका किसान र कृषि व्यवसायमा पुग्ने गरी नीति बनाउने, कृषि प्रसार सेवालाई व्यवसायसँग जोड्ने, सेवाहरूको व्यावसायिक प्रदायकहरूमार्फत खाँचोमा परेका किसानहरूलाई अनुदान र सेवाहरू प्रदान गर्ने प्रणालीको विकास गर्ने र नगद अनुदानलाई निरुत्साहित गर्दै भौचर प्रणाली सञ्चालनमा ल्याउने कार्यक्रमहरूसमेत समेटिए कि समेटिएनन्, तपाईंको संयन्त्रको ध्यानाकर्षण गराउनुहोला ।
कृषिक्षेत्रमा विदेशी लगानी प्रवद्र्धन गर्ने : विदेशी लगानीकर्ताले स्वदेशमा लगानीकर्ताबाट सेयर बजारमा प्रवाह गर्नुपर्ने नियम बनाएर विशिष्टीकृत क्षेत्रमा विदेशी लगानी प्रवद्र्धन गर्ने तथा विदेशी लगानीकर्तालाई कुन क्षेत्रमा लगानी गर्न दिने र कति नाफा फिर्ता लैजान चाहन्छन् त्यसमा नीति नियमहरू बनाउने कुराहरू समेटिए कि समेटिएनन्, तपाइको संयन्त्रको ध्यानाकर्षण गराउनुहोला ।
नेपाल–भारत व्यवसाय : नेपालको भारतसँगको व्यापारमा धेरै ठूलो अन्तर छ अर्थात् व्यापार घाटामा छ । नेपालको आयात–निर्यातको वास्तविक तथ्याङ्क पनि राम्रोसँग राखिएको छैन र त्यो एक ठाउँमा फेला पर्दैन र फेला परेका तथ्याङ्कहरूमा पनि एकरूपता छैन । व्यापारमा विश्लेषण र व्यापारसम्बन्धी पूर्वानुमान पनि गरिएको छैन । भारतले जहिले पनि नेपालको हितविपरीत हुने गरी आफ्नो नीतिमा फेरबदल गरिरहेको हुन्छ । व्यापारिक नीतिको यो प्रस्थान बिन्दुले नेपाल–भारत व्यापारमा असर पारिरहेको छ । व्यापारमा यस्तो प्रतिकूल प्रभाव कम गर्नका लागि नेपाल–भारत नीतिमा समायोजन गर्ने, तथ्याङ्क अद्यावधिक गर्ने, व्यापारको प्रवृत्तिको विश्लेषण गर्ने, भारतीयहरूले अपनाएको नीतिगत परिवर्तनहरूको अनुगमन गर्ने र यसअनुरूप नीतिगत पैरवी गर्न आवश्यक छ । नेपाल–भारत ट्रेड वाच गर्नका लागि आवश्यक संयन्त्र र प्रणालीहरूको विकास गर्नु जरुरी छ । यो विषयमा ठोस कार्यक्रमहरू पनि समेटिए कि समेटिएनन्, तपाइको संयन्त्रको ध्यानाकर्षण गराउनुहोला ।
यसका साथै सरकारले समग्रमा ध्यान दिनैपर्ने कुराहरूमा वडास्तरको विकास योजना बनाउने, बस्तीस्तरको योजनालाई साझा योजनाको रूपमा विकास गर्ने, अरूका विचारहरूलाई सम्मान गर्ने परिपाटी बसाल्दै आफ्ना विचारहरूको कार्यरूप दिने, नेपाल नयाँ होस् वा पुरानो सबैको साझा हो भन्ने बेहोरा अन्तरमनमा राख्ने, बस्तीस्तरसम्म आफ्नो प्रतिनिधित्व तयार पार्ने, टकरावको स्थितिलाई सामञ्जस्यमा परिणत गर्न पहल गर्ने, मेरो गोरुका बाह्रै टक्का भन्न छाड्ने तथा एकताको भावना र मर्मअनुरूप त्याग गर्ने भावना र संस्कारको विकास गर्ने कुरामा उदाहरण बन्नुहुनेछ ।
(कृषि बजार प्रणालीका जानकार लेखक कृषि तथा वन विज्ञान विश्वविद्यालयको एडजङ्ट प्रोफेसरका रूपमा समेत आबद्ध छन् ।)